coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘बहुराष्ट्रिय सैन्य अभ्यासमा संलग्नता गलत’

काठमाडौ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं सांसद भीम रावलले देशभित्र वा बाहिर हुने संयुक्त बहुराष्ट्रिय सैन्य अभ्यासमा नेपाल संलग्न हुन नहुने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा मंगलबार रावलले शक्ति राष्ट्रसँग कुनै पनि प्रकारको सामरिक गठजोडमा संलग्न हुन नेपालको संविधानले नदिने बताए।  उनले नेपाल दुईपक्षीय सैन्य अभ्यासमा समेत संलग्न हुन नहुने बताए।  हाल नेपाली सेनाले अमेरिका, बेलायत, चीन, भारत क्यानडा, बेल्जियम, डेनमार्क, पाकिस्तान, बंगलादेश, श्रीलंका सिंगापुर, माल्दिप्स र फिलिपिन्सलगायत मुलुकसँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ।

  यस्ता अभ्यास विशेष गरी विपद् व्यवस्थापनसँग सम्बन्धित छन्।  नेपालले चीन, भारत र अमेरिकासँग दुई पक्षीय सैन्य अभ्याससमेत गर्दै आएको छ।  रावलले प्राकृतिक विपद् सामना गर्ने उद्देश्यमा मात्र सीमित सैनिकबीच तालिम र अनुभव आदानप्रदान गर्न सकिने भए पनि ठूलो संख्यामा सेनालाई संलग्न गराएर दुईपक्षीय वा बहुपक्षीय सैन्य अभ्यासमा अब नेपालले संलग्नता जनाउन नहुने बताए।

रावलले नेपाली युवालाई विदेशी सेनामा भर्ती गर्ने विषयको पनि विरोध गरे।  ‘नेपालको सार्वभौमसत्तामा आँच पु¥याउने, निरकुंश राणा शासनले थोपरेको गलत सम्झौताबाट देशलाई मुक्त गर्नुपर्छ,’ उनले भने।  उनले भूतपूर्व गोर्खाका माग पनि सम्बोधन गर्नुपर्ने बताए।  रावलले विगतका अलोकतान्त्रिक र निरंकुश सरकारले थोपरेका अपमान सन्धिबाट मुलुक र जनताको रक्षा गर्न कूटनीतिक हिसाबले समस्याको समाधान गर्न सरकारसँग माग गरे। 

अहिले त्यसका लागि उपयुक्त वातावरण रहेको उनको तर्क थियो।  रावलले राष्ट्रिय परिचयपत्र, गाडीका नम्बर प्लेट कर र भन्सार महसुल संकलन जस्ता सम्वेदनशील तथ्यांक विदेशी सर्भरमा राख्न नहुनेमा जोड दिए।  त्यस्ता तथ्यांक सरकारकै मातहतमा हुनुपर्ने उनको तर्क थियो।

प्रकाशित: २९ श्रावण २०७६ ०१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App