६ वैशाख २०८१ बिहीबार
राजनीति

कांग्रेस सांसदले बोलेको कुरा शान्ता चौधरीले हटाउ भनेपछि...

काठमाडौं– प्रतिनिधिसभाको मंगलबारको बैठकमा सत्ता र प्रतिपक्ष सांसदबीच जुहारीको अवस्था सिर्जना भएको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकी सचेतक शान्ता चौधरीले नियमापत्ति नजनाई सिधै हटाउ भन्ने निर्देशनात्मक शब्द प्रयोग गरेपछि प्रतिपक्षी सांसद विरोधमा उत्रिए। प्रतिपक्षी सांसदले बोलेको अभिव्यक्ति चित्त नबुझेपछि चौधरीले यस्तो पनि बोल्ने भन्दै हटाउ, रेकर्डबाट हटाउ भनेकी थिइन्।

यस्तो छ जुहारी

कांग्रेस सांसद देवेन्द्रराज कँडेल

२०३८ सालमा पोखरामा नमिता–सुनिता हत्या काण्ड भएको थियो, दरवार र श्रीपेचको आडमा त्यो घटना लुकाइयो। विना श्रीपेचका सिंहदरबारका जनप्रतिनिधिको आडमा कञ्चनपुर घटना भएको महसुस गरेको छु।

गृहमन्त्रीले निर्मला घटना प्रकरण यसभन्दा अगाडि पनि थिए, आज पनि छन्, भोलि पनि केही समयसम्म रहिरहन्छन् भन्न मिल्छ? यो अभिव्यक्ति गृहमन्त्रीले सार्वजनिक रुपमा फिर्ता लिनुपर्छ।

यस्ता घटना पञ्चायत कालमा दरबारको आडमा भयो भने, अहिले जुन किसिमको घटनाहरु घटेको छ, निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष भइसक्दा पनि अपराधी पत्ता लागेका छैनन्।

कँडेलले बोलिनसक्दै माइकको आवाज काटियो। उता नेकपाकी सचेतक शान्ता चौधरी कँडेलको अभिव्यक्तिमा असहमति राख्न उठेर बोल्न खोजिरहेकी थिइन। सभामुखले चौधरीलाई बोल्न दिए।

शान्ता चौधरी

माननीयज्यूले जसरी बोल्नुभयो, सिंहदरबारबाट घटाइएको घटना, त्यस्तो पनि भन्न मिल्छ? यहाँ बोल्ने, नबाल्ने कुरा पनि बोल्न मिल्छ त्यतिको मान्छेले? हटाउ, रेकर्डबाट हटाउनुपर्छ।

शान्ता चौधरी बोल्दा बोल्दै कांग्रेसका अर्का सांसद मिनबहादुर विश्वकर्मा उठिसकेका थिए। उनलाई पनि सभामुखले समय दिए।

जवाफमा मिन बहादुर विश्वकर्मा बोल्छन्ः

संसदमा एक माननीय सदस्यले बोलिराखेको बेला... माइक काटिन्छ। सभामुखले भन्छन्, नियमापत्ति हो। (शान्ताले नियमापत्ति जनाएको भन्छन् सभामुख)

विश्वकर्मा फेरि बोल्छन्, नियमापत्ति भन्नुभएको छैन, जवाफ दिनुभएको छ। एक सदस्यले बोलेकोमा अर्को सदस्यले जवाफ दिएर जुहारी गराउन मिल्दैन।

सभामुख भन्छन्, ‘माननीय सदस्यले बोलेको विषयमा मेरो ध्यानाकर्षण भएको छ। यसलाई के गर्ने भन्ने म निर्णय गर्छु।’ 

 

 

 

प्रकाशित: २८ श्रावण २०७६ ०९:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App