७ वैशाख २०८१ शुक्रबार
राजनीति

संसदमा राजेन्द्र महतोको प्रश्न, ‘मेरो नागरिकता खारेज भएको हो?’

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले ठेगाना नखुलाई आफ्नो नामको नागरिकता खारेज भएको भन्ने निर्णयप्रति आपत्ति जनाएका छन्।

साउन १६ गतेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजेन्द्र महतोसहित ८ जनाको नागरिकता खारेज गरिएको निर्णय सुनाएका थिए। तर, खारेज गरिएका नागरिकताधनीको ठेगाना नखुलाएपछि समाचारहरुमा राजपाका सांसद राजेन्द्र महतोको नागरिकता खारेज भएको भन्ने आएपछि सोमबार बसेको प्रतिनिधिसभा बैठकमा महतोले आपत्ति जनाएका हुन्। 

उनले आफ्नो नागरिकता खारेज गरेको हो भनी सरकारलाई प्रश्न समेत गरे। ‘राजेन्द्र महतोसहित ८ जनाको नागरिकता खारेज भएको निर्णय सुने’, उनले भने, ‘कुन राजेन्द्र महतो हो? सम्वेदनशील र राष्ट्रियतासँग जोडिएको विषयमा सरकारका प्रवक्ताले नाम ठेगाना केही नदिने, राजपा सांसद भनेर व्यापक प्रचार हुने। भ्रम फैलाएर राजेन्द्र महतो राष्ट्रियतामाथि प्रश्न उठाउने, यो के गरेको? सरकारको नियमै प्रश्न छ।’

सरकारले भ्रम छरेर आफ्नो मानहानी गरेको उनको आरोप छ। ‘यो भएन, भोलि कृष्णबहादुर महरा, पुष्पकमल दाहाललाई जोडेर यस्तो गरियो भने के हुन्छ?’ उनले प्रश्न गरे। 

महतोले सभामुख र नेकपा अध्यक्षलाई जोडेपछि नेकपाका नेता खगराज अधिकारीले उठेर आपत्ति जनाएका थिए। 

महतोले सञ्चारमाध्यमले पनि मानहानी हुनेगरी प्रचार गरेकोमा आपत्ति जनाउँदै भने, ‘सरकारको पनि प्रष्ट अभिव्यक्ति आउनुपर्छ। मेरो मानहानी भएको छ, सरकारले माफी माग्नुपर्छ।’

प्रकाशित: २० श्रावण २०७६ ०८:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App