काठमाडाैँ - प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज सिङ्गापुर जान लागेका छन्। प्रम ओली आज राति सिङ्गापुर जान लागेकाे उनका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए।
प्रेस सल्लाहकार अर्यालका अनुसार प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण हुनेछ। प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण गराइ रहेका छन्। यसअघि प्रम ओली नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्याण्डमा गएका थिए।
प्रधानमन्त्रीसँग उनका धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाहसमेत जानु हुने प्रेस सल्लाहकार अर्यालले जानकारी दिए। प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गरेर एक सातापछि स्वदेश फर्कनु हुने कार्यक्रम रहेको छ।
प्रकाशित: १८ श्रावण २०७६ ०७:५३ शनिबार