१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत करिव १ लाख ७६ हजारले रोजगारी पाएको दाबी

काठमाडाैं– सरकारले 'प्रधानमन्त्री रोजगार कार्यक्रम’मार्फत् करिव १ लाख ७६ हजार जनाले रोजगारी पाएको दावी गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् एक वर्ष भित्र १ लाख ७५ हजार ९०९ जनालाई रोजगारी दिइएको जानकारी गराएको हो। सबै स्थानीय तहमा ६ हजारभन्दा बढी आयोजना संचालन गरी गरिवीको चपेटामा परेका बेरोजगार करिव एक लाख ७६ हजार जनालाई एक वर्ष भित्र रोजगारीको अवसर दिइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताए।

उनले बजेट कम भए पनि नेपालको इतिहासमा पहिलो पटक सरकारले काम गरेर गरिखाने ऐतिहासिक काम सुरुवात गरेको उल्लेख गर्दै सरकारलाई त्यसमा गर्व लागेको पनि बताए। सरकारले गत आर्थिक वर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सबै स्थानीय तहका लागि २ अर्व ३६ करोड ७९ लाख ६९ हजार रूपैयाँ बजेट विनियोजन गरेको थियो। थोरै बजेटबाट पनि विभिन्न आयोजनाहरु संचालन गरि सरकारले सो कार्यक्रममार्फत गरिव समुदायका युवाहरुलाई रोजगारी दिने काम गरेकोमा गौरवको अनुभूति गरिरहेको पनि मन्त्री विष्टको भनाई छ।

मन्त्री विष्टले सो कार्यक्रम लागू गर्न सरकारले ८६ वटा प्रक्रियालाई पूरा गरेको पनि स्मरण गराए। उनले प्रधानमन्त्री रोजगार कार्यक्रम निष्पक्ष रहेको र त्यसलाई प्रभावकारी ढंगले अघि बढाउन सरकारले आवश्यक नीतिगत, कानुनी र संरचनागत आधार तयार पारिसकेको दावी पनि गरे।

प्रकाशित: १६ श्रावण २०७६ ११:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App