१५ चैत्र २०८० बिहीबार
राजनीति

शैक्षिक भ्रमणको बजेट रकमान्तर गरेर गाउँपालिकाको टोली भारत भ्रमणमा

भ्रमणमा रहेको टोली। तस्विर: मथुराप्रसाद न्यौपानेको फेसबुकबाट

टीकापुर - जानकी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र प्रधानाध्यापकहरुको जम्बो टोली शैक्षिक भ्रमणका नाममा भारतका विभिन्न शहर घुमेर फर्किएको छ।  सो टोलीले भारत भ्रमणका क्रममा विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गर्नुका साथै तिर्थाटन समेत गरेको छ। 

टोलीले भारतको आग्रा, दिल्ली, देहरादुन, नैनिताल, मथुराको विन्द्रावन, हरिद्वार क्षेत्रको भ्रमण गरेको बताइएको छ।  गाउँपालिकाको बजेटमा साउन ८ गते निस्किएको टोली विभिन्न ठाउँको भ्रमण गरेर साउन १२ गते फर्किएको छ।  तर टोलीको भ्रमण तालिका भने साउन १४ गतेसम्म रहेको थियो।  वर्षातका कारण भ्रमण समय छोट्याएर फर्किएको गाउँपालिका शिक्षा शाखा प्रमुख कलमबहादुर खड्काले जानकारी दिए।

टोलीमा कार्यपालिका सदस्य लक्ष्मण चौधरी सहित ५ जना जनप्रतिनिधि र कर्मचारीका साथै ३१ जना विभिन्न विद्यालयका प्रधानाध्यापक रहेका छन।  प्रधानाध्यापकमा विभिन्न सरकारी र निजि विद्यालयमा कार्यरत छन।  भ्रमणमा जाने सूचीमा रहेका केही प्रधानाध्यापकहरु भने गएनन्। 

गाउँपालिका अध्यक्ष प्रदिप चौधरीका अनुसार गत आर्थिक वर्षमा शैक्षिक भ्रमण शिर्षकमा ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।  तर प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर बिष्टले भने सो रकम ३ लाख मात्रै भएको बताए।  जसको उद्देश्य सुदूरपश्चिम प्रदेशका नमूना विद्यालयको अवलोकन गरेर सोही अनुसारको विद्यालय सञ्चालन गर्नु थियो।  सोही बजेट लिएर जम्बो टोली भारत भ्रमणमा निस्किएको हो। 

गत आर्थिक वर्षमा भ्रमण सम्भव नभएपछि शिक्षा शाखा प्रमुख खड्काले असार महिनामै आफ्ना नाममा पेश्की लगेका थिए।  उनले आफ्ना नाममा १ लाख ७० हजार पेश्की लगेको बताए।  ‘विद्यार्थीको परिक्षाका कारण त्यो बेला भ्रमण गर्न सकिएन’ उनले भने–‘वर्षा विदाको मौका पारेर भ्रमण गरेका हौं। ’

उनले अघिल्लो आर्थिक वर्षमा विनियोजन भएको बजेट अर्को आर्थिक वर्षमा खर्च गर्न कुनै समस्या नहुने बताए।  उनले सबै कुरा व्यवहारिक रुपमा मिल्ने भएकाले भ्रमणको पेश्की फच्र्यौट गर्न गाह्रो नहुने दावी गरे।  ‘व्यवहारिक रुपमा जे पनि मिल्छ’ उनले भने–‘यस्ता कुरा व्यवहारिक रुपमै मिलाउने हो। ’

उनले भ्रमणका क्रममा कुनै शैक्षिक संस्थाको अवलोकन नगरेको स्वीकारेका छन।  उनीहरु कञ्चनपुरको महेन्द्रनगर नाका हुँदै भारत भ्रमणमा निस्किएका थिए।  सोही क्रममा टोलीले कञ्चनपुरका केही स्थलको समेत अवलोकन गरेको बताइएको छ। 

गाउँपालिका अध्यक्ष चौधरीले शैक्षिक भ्रमणका नाममा भारतका विभिन्न शहर घुमेको बारेमा आफू समेत अचम्मित भएको बताए।  उनले नीतिगत रुपमा आफ्नो प्रदेश भित्रैका विद्यालयहरुको अवलोकन गर्नुपर्नेमा भारत भ्रमणमा जानु गलत भएको बताए।  ‘नीतिगत रुपमा आफ्नै प्रदेशमा घुम्न सकिन्थ्यो’ उनले भने–‘शैक्षिक भ्रमणका नाममा भारत घुम्नु गलत हो। ’

उनले केही शिक्षकहरुले दवाव दिएका कारण शैक्षिक भ्रमणको दुरुपयोग गरिएको बताए। जनताले तिरेको करको चरम दुरुपयोग गरेर टोलीले शैक्षिक भ्रमणलाई आफ्नो मोजमस्तीमा प्रयोग गरेको स्थानीयको आरोप छ।  स्थानीयले उनीहरुबाट गाउँपालिकाले रकम असुल्नु पर्ने बताएका छन। 

प्रकाशित: १६ श्रावण २०७६ ०५:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App