१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रदेश २ का बाढी, डुवान प्रभावितलाई अझै राहत पुगेनः मुख्यमन्त्री राउत

काठमाडौं– प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशका बाढी र डुवानबाट प्रभावितहरुलाई अझै राहत तथा पूनर्स्थापना नभएको गुनासो पोखेका छन्। उनले भने, ‘दुई नम्बर प्रदेश बाढी र डुवानबाट प्रभावित बनेको छ। ८ वटै जिल्ला प्रभावित बनेका छन्। अझै पनि राहत पुगेको छैन।’

मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश २ सरकारले आफ्नो क्षमता र स्रोतले भ्याएसम्म तुरुन्तै राहत पुर्याएको सुनाए। अहिले पनि प्रदेश सरकार प्रभावित जिल्लामा पुगेर राहत पुर्याउने काममा लागिरहेको राउतले सुनाए। उनले भने, ‘अहिले पनि राहत वितरण गर्न धेरै बाँकी छ। कतिलाई राहत पुग्यो, कतिलाई पुग्यो भनेर हेर्नको लागि हामीसँग संयन्त्र छैन। तर राहत धेरैलाई पुगेको छैन।’

उनले नेपालले आफ्नो तर्फबाट बनाउनुपर्ने तटबन्ध लगायतका कामहरु नगरेको  कारण बाढी तथा डुवानको समस्या आएको स्पष्ट पारे। ‘लालबकैया, बाग्मती, रातु, कमला र त्रियुगा नदि आसपासमा तटबन्ध बनाउनुपर्ने काम हामीले बनाएनौं। २०४६ सालयता अहिलेसम्म भएका तटबन्धको कुनै ममर्तसम्भार भएको छैन। एकैचोटी पानीको बेग आउँदा थेग्नै सक्दैन। र, अहिले यो समस्या आएको हो।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सहयोगको आश्वासन दिएको मुख्यमन्त्री राउतले सुनाए। उनले भने, ‘मैले केन्द्र सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग पनि भेट गरें, उहाँले पनि अन्य प्रदेशमा रहेका साधन र स्रोत प्रयोग गरेर २ नम्बर प्रदेशमा खटाउनको लागि मन्त्रालयको टिम नै राखेर निर्देशन दिनुभएको छ। हिजोमात्रै उर्जामन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेको छु। उहाँले पनि नदी, तटबन्धलगायतका विषयमा दिर्घकालिन समाधान खोज्नेबारे मन्त्रालयका टिम नै राखेर विशेष निर्देशन दिनुभएको छ।’

राहत तथा पूनर्स्थापनाको लागि प्रदेश सरकार गम्भीर रहेको सुनाउँदै आज मात्रै आफूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको राउतले सुनाए। उनले भने, ‘सिँगो प्रदेश लागिपर्दा पनि यो विपत्ति सामना गर्ने हामीसँग क्षमता छैन। अब संघ र प्रदेश सरकार मिलेर यो विपत्तिको सामना गर्नुपर्छ। टुटेका सडक सञ्जालहरु जोड्ने काम गर्नुपर्छ।’ मुख्यमन्त्री राउतले बाढी र डुवानबाट तराईमा धेरै ठूलो क्षति पुगेको सुनाए। उनले भने, ‘क्षति सानो छैन। हजारौं बिगाहा सिँचाइयोग्य जमिन बालुवाले पुरिएको छ। अहिले ती खेतीयोग्य छैनन्।’

चुरे दोहनका कारण अहिलेको समस्या आइपरेको उनको टिप्पणी छ। उनले भने, ‘लोडर, डोजर, टिपर लगाएर चुरे उत्खनन भएको छ। त्यसका कारण पहिरो गएको छ। अब पनि दिर्घकालिन योजना बनाएर समस्याको हल गर्न सकेनौं भने स्थिति भयावह हुन्छ। बरु, चुरे दोहन रोक्ने प्रोजेक्लाई के नाम दिने हो त्यो बरु सोच्नुपर्छ।’ तर, यसको लागि संघीय सरकारले नै पहल गर्नुपर्ने उनको भनाई छ। 

भर्खरै एक करोड २७ लाख बराबरको खाद्यान्न आफ्नै उपस्थितिमा रौतहटमा वितरण गरिएको पनि उनले जानकारी गराए। अन्य जिल्लामा पनि खाद्यान्न  वितरणको काम भैरहेको राउतले जनाए। 

आफूले प्रधानमन्त्री ओलीसँगको भेटवार्तापनि तटबन्धहरुको म्यापिङको लागि आग्रह गरेको सुनाए। त्यस्तै उनले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार तथा राहतमा ठूलो भूमिका निर्वाह गरेको भन्दै खुलेर प्रशंसा गरे। मुख्यमन्त्री राउतले अहिले २ नम्बर प्रदेशका अधिकांश पुल र रोडहरु समाप्त भएको जानकारी गराए। 

उनले चुरे दोहनलाई रोक्नको लागि प्रदेश सरकारले कडाईका साथ कार्यक्रम ल्याउने पनि जनाए। गर्मी, जाडो र वर्षाद जुनसुकै मौसममा पनि तराई, मधेश ठूलो मारमा पर्ने गरेको सुनाउँदै अब दिर्घकालिन समाधानको लागि सबैले पहल गर्नुपर्नेमा राउतले जोड दिए। 

उनले संघीयताको मूल मर्म र भावनाअनुसार सबै निकाय चल्नुपर्नेमा जोड दिए। उनले भने, ‘संघले नीति तथा नियम निर्माण गर्ने र निर्देशन दिने हो। सबै निकाय अब नयाँ प्रणालीअनुसार अघि बढ्नुपर्छ। हाम्रो प्रदेशकै कुरा गर्नुहुन्छ भने पनि अहिलेपनि २, ३ मन्त्रालयमा सचिव अनुपस्थित छन्।’

‘तत्काल मन्त्रिमण्डल पूनर्गठन हुँदैन’

फरक प्रसंगमा मुख्यमन्त्री राउतले तत्काल प्रदेश नम्बर २ को मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पारे। उनले भने, ‘यो सरकार पाँच वर्षसम्मको लागि हो, यसको अहिले कुनै विकल्प छैन। तत्काल मन्त्रिमण्डल पूनर्गठन हुँदैन।’

बरु अब सरकारले काम गर्ने शैली बदल्ने पनि उनले विश्वास दिलाए। उनले भने, ‘पहिलो वर्ष हामीले अनुभव हाँसिल गरेका छौं। अब अर्को वर्ष हामी राम्रो काम गर्छौं। हामी बडो ईमान्दारिताका साथ काम गर्छौं।’

प्रकाशित: १४ श्रावण २०७६ १०:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App