coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बाढीपहिरो पीडितलाई काँग्रेस सांसदको सहयोग

मकवानपुर– प्रदेश नम्बर ३ को नेपाली काँग्रेसका सांसदहरुले पाँच दिनको पारिश्रमिक(तलब) बाढी पहिरो पीडितहरुलाई सहयोग गरेका छन्। २१ जना सांसदको पारिश्रमिक एक लाख ६० हजार रुपैयाँको चेक आइतबार कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घलेले मुख्यमन्त्री डोरमणि पौडेललाई प्रदान गरिन्।

त्यस्तै, विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत तथा उद्धारमा प्रभावकारी ढंगले काम गर्न प्रदेश सरकारलाई कांग्रेस प्रदेश संसदीय दलले ज्ञापनपत्र समेत बुझाएको छ। उक्त रकम प्रदेश बिपद् व्यवस्थापन कोषमा जम्मा गरिने मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ।

मृतक परिवारलाई तीन लाख माग

कांग्रेस प्रदेश संसदीय दलले मुख्यमन्त्री पौडेललाई ज्ञापनपत्र बुझाउँदै बाढी, पहिरो र डुबानका मृतक परिवारलाई तीन लाख रुपैंया दिन माग गरेको छ। बाढी, पहिरो र डुबानका मृतक परिवारलाई तीन लाख रुपैंया र भौतिक संरचना पूर्ण एवं आंशिक क्षति भएका परिवारलाई तत्काल एक लाख रुपैंया राहत दिन कांग्रेसले माग गरेको हो।

प्रदेश सरकारले मृतकका परिवारलाई दिने भनेको रकम थोरै भएको र राहत, पुर्नस्थापनामा सरकारलाई ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएको नेपाली काँग्रेस प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घलले बताइन्। ‘प्रदेश सरकारले मृतकका परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको छ,’ उनले भनिन्, ‘त्यो रकम थोरै भएकाले प्रति परिवार तीन लाख रुपैयाँ र घर लगायत भौतिक क्षति भएकालाई एक लाख रुपैंया दिन माग गरेका छौं।’

कांग्रेसले विपद्बाट प्रभावितहरुलाई आश्रयस्थल, खाना, लत्ता कपडा र उपचारको व्यवस्था गर्न पनि माग गरेको छ। ज्ञापनपत्र बुझेपछि मुख्यमन्त्री पौडेलले राहत रकमबारे प्रदेश सरकारले पुर्नविचार गर्ने प्रतिबद्धता व्यक्त गर्दै सरकार राहत, उद्धार एवं पुर्नस्थापनाका लागि काम गरिरहेको बताए।

प्रदेश सरकारले बाढी र पहिरोबाट मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिसकेको छ। तर प्रदेश १ ले मृतकका परिवारलाई दुई लाख र प्रदेश २ ले मृतकका परिवारलाई तीन लाख रुपैंया दिने घोषणा गरिसकेको छ।

कार्यक्रममा कांग्रेस सांसदीय दलका सचिव निमा लामा, सांसदहरु पुकार महर्जन, सन्तबहादुर चेपाङ, मिलनबाबु श्रेष्ठ, बलराम पौडेल, प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल, मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार जगन्नाथ थपलिया लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: १२ श्रावण २०७६ १५:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App