४ वैशाख २०८१ मंगलबार
राजनीति

भारतीय बाँधबारे बोल्यो नेकपा, सम्वाद गर्न सरकारको ध्यानाकर्षण

सर्लाही– सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं. २ को बैठकले तराई मधेशमा हरेक वर्षायाममा डुबान हुने गरी सीमा क्षेत्रमा भारतद्वारा बनाइका बाँध र सडकहरुबारे भारत सरकारसँग सम्वाद गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।

शुक्रबार दिउँसो सर्लाहीको लालबन्दीमा नेकपा प्रदेश नं. २ का अध्यक्ष प्रभु साहको अध्यक्षतामा बसेको विस्तारित बैठकले भारतीय बाँधले हरेक वर्ष तराई मधेशमा डुवान हुँदा निकै क्षति पुर्याइरहेकाले भारतीय पक्षसँग सम्वाद गरेर त्यस्ता अवरोधहरुमा पानीको सहज निकासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको हो। 

त्यस्तै बाढी एवं डुबानपीडितको लागि प्रदेश २ सरकारले देखाउनु पर्ने प्रभावकारिता नदेखाएको एवं दिइएका राहतहरुमा भेद्भाव र धाँधली भएको गुनासो आएको भन्दै तत्काल त्यस्ता कार्य सच्याउन बैठकले माग गरेको छ। पार्टीका प्रदेश सचिव सुमनराज प्याकुरेलको सञ्चालन रहेको बैठकले बाढीवाट हुने क्षतिको दिगो समाधानका लागि तराईको शिर मानिने चुरेको संरक्षण गर्न, चुरे देखि भारतीय सीमासम्म नदी तटवन्ध गर्न र नदी अतिक्रमण रोक्ने जस्ता काम गर्न पनि सरकारसँग माग गरेको छ। 

बैठकले बाढीबाट क्षतिग्रस्त पूर्वाधार सूचारु गर्न, सम्भावित स्वास्थ्य समस्यालाई ध्यानदिन, शुद्ध पानी उपलब्ध गराउन, भत्केका बाँधहरु पुनर्निर्माण गर्न र कटान रोक्न आपतकालिन पहलको माग समेत गरेको छ। नेपाल सरकार र विभिन्न संघ सस्थाहरुले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने जिल्ला विपद् व्यवस्थापन समितिमार्फत उद्धार र राहतको लागि गरिएको कामलाई सकारात्मक रुपमा लिदै यसलाइ अझ प्रभावकारी वनाउन प्रत्येक जिल्लामा एक सर्वदलिय संयन्त्र बनाउन समेत बैठकले माग गरेको छ। 

बाढीले कृषि क्षेत्रमा धेरै क्षति गरेको, धान रोप्ने समयमा बीउविजन नोक्सान भएको, तरकारीलगायत विभिन्न खेतीहरु नोक्सान भएका, पशुपंक्षीमा क्षति पुगेको, उर्वर जमिन बगाएको आदि कारणले किसानहरु टाट पल्टने अवस्था भएकाले किसानहरुको लागि विशेष राहत योजना ल्याउन साथै बाढीबाट प्रभावित भएका उद्योगधन्दा, व्यवसायलाई पुनर्जीवन दिन सरकारको विशेष सहयोगको माग गरिएको छ। 

बैठकमा प्रदेश नम्वर २ अन्तर्गतका ८ वटै जिल्लाका इन्चार्ज, सहइन्चार्ज, केन्द्रीय सदस्यहरु, जिल्ला अध्यक्ष र सचिवको सहभागिता रहेको नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले जानकारी दिए। अविरल वर्षाका कारण बाढी एवं डुबानबाट तराई मधेशमा आइपरेको यावत समस्या सम्बन्धी ८ बुँदे विभिन्न माग सहितको निर्णय गरेको बैठकपछि पार्टीका प्रदेश अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुरेलद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १० श्रावण २०७६ १३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App