८ वैशाख २०८१ शनिबार
राजनीति

सरकारका प्रवक्ताको प्रश्नः ‘रअ’ प्रमुखलाई भेट्नै नहुने? प्रधानमन्त्रीले भेटेको प्रमाण के छ?

काठमाडौं– सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा पत्रकार सम्मेलन गरे। सरकारका प्रवक्ता बाँस्कोटाले मन्त्रिपरिषदका निर्णयहरु क्रमशः सार्वजनिक गरे। सञ्चारकर्मीले प्रश्न सोधे, ‘रअका प्रमुखसँग नेपाली नेताहरुको भेटवार्ता परराष्ट्र मन्त्रालयको जानकारी विना कुटनीतिक मर्यादा विपरित भयो भन्ने आएको छ नी? प्रधानमन्त्रीले भेटेको कुरा के हो?’

प्रवक्ता बाँस्कोटाले जवाफ दिन सुरु गरे, ‘रअ प्रमुख नेपाल आएको र प्रधानमन्त्रीलाई भेटेको हामीलाई थाहा छैन।’ सुरुमा बाँस्कोटाले रअ प्रमुख सामन्त गोयल आएको नै थाहा नभएको बताए।

फेरि अगाडि भने, ‘यदि आएको हो र भेटेको हो भने यसमा प्रचलित कुटनीतिक प्रचलनकै आधारमा भेटघाटहरु हुनुपर्ने हुन्छ। त्यसैले प्रधानमन्त्रीज्यूले भेट्नुभएको छैन। हल्ला फैलाउने काम नगरौं।’ सुरुमा रअ प्रमुख आएको नै थाहा नभएको बताएका प्रवक्ता बाँस्कोटाले आफ्नै कुरा काट्दै प्रधानमन्त्रीले भेटेको जस्तोलाग्दैन भने। तर, रअ प्रमुखलाई भेट्नै नहुने भन्ने हामीलाई लाग्दैन समेत भन्न भ्याए।

उनले थपे, ‘क कसले भेट्नुभयो हामीलाई थाहा छैन। भेट्नै हुँदैन्थ्यो भन्ने पनि होइन। तर म दाबाका भन्छु, प्रधानमन्त्रीज्यूले भेटघाट भएजस्तो, भेटेजस्तो, भेटेकैजस्तो लाग्दैन।’ उनको यो भनाईबाट रअ प्रमुख नेपाल आएको, नेताहरुले भेटेको तर प्रधानमन्त्रीले भेटेको कुरालाई बचाउ गर्न खोजेको जस्तो प्रष्ट हुन्छ। त्यतिमात्रै होइन रअ प्रमुखलाई भेट्नु सामान्य कुरा भएको भन्न खोजेको समेत देखिन्छ।

फेरि अगाडि उनले प्रधानमन्त्रीले भेटेकै छैन भनेर दाबी गरे। त्यसअगाडि प्रधानमन्त्रीले भेटेजस्तो लाग्दैन भनेका बाँस्कोटाले अगाडि भने, ‘मैले पनि मिडियाहरुमा प्रधानमन्त्रीले भेटेर पनि नभेटेको भनेर ढाँटेको भन्ने समाचार देखे। साह्रै धेरै भ्रम नफैलाउ। प्रधानमन्त्रीले भेटेको छैन। भेटघाट हुँदा पनि प्रोटोकलको मान्यता दिनुपर्छ। भेट्नै हुँदैन भन्ने होइन।’ बाँस्कोटाले रअ प्रमुखलाई भेट्नै हुन्न भन्ने होइन शब्द बारम्बार दोहोर्याएर भ्रमण भएको र भेटवार्ता भएको कुराको बचाउ गर्न खोजेजस्तो पनि देखिन्छ।

यसलाई पुष्टि गर्नेगरी बाँस्कोटाले अगाडि भन्छन्, ‘रअको प्रमुखलाई भेटेर कोही पनि रअको पक्षधर त हुँदैन। यस्तो लघुताभासी मान्यता नराखौं। प्रधानमन्त्रीजीले भेटको होइन। भेटेको लाग्छ भने प्रमाणसहित भन्नुस्।’

अन्तिममा सञ्चारमन्त्री बाँस्कोटा रअ प्रमुख नेपाल आउनु कुनै नौलो कुरा नभएको र नेपालका सुरक्षा निकायका प्रमुख पनि भारत जाने गरेको भेट्ने गरेको भन्दै  संशकित हुनुपर्दैन भन्छन्। ‘को को ले भेट्यो मलाई थाहा छैन, भेट कुटनीतिक प्रचलनमा हुनुपर्छ भन्ने हाम्रो मान्यता हो।’ माथि रअ प्रमुख आएको थाहा नभएको, प्रधानमन्त्रीले नभेटेको दाबी गर्ने बाँस्कोटा अन्तिममा फेरि को को भेट्यो भन्ने नै थाहा नभएको भनेर अनविज्ञता देखाउँछन्। 

रअ प्रमुख सामन्त गोयल गत शनिबार ३ सदस्यीय टोलीको नेतृत्व गर्दै ३ दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आएका थिए। उनले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतलाई भेटेका थिए।

 

 

 

 

प्रकाशित: ९ श्रावण २०७६ १२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App