१६ चैत्र २०८० शुक्रबार
राजनीति

सोलुखुम्बुमा कांग्रेसका २० नेता कार्यकर्ता पार्टीबाट निष्कासित

सोलुखुम्बु– नेपाली कांग्रेसले गत स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई असहयोग गर्ने २३ जना नेता–कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ। त्यसमध्ये २० जना सोलुखुम्बुका परेका छन्। 

कांग्रेसको केन्द्रीय अनुशासन समितिले सोमबार २०७४ सालमा सम्पन्न तीनवटै निर्वाचनमा पार्टीका आधिकारिक उमेदवारलाई असहयोग गरेको भन्दै विभिन्न सोलुखुम्बुका २० सहित रौतहट र दैलेख जिल्लाका २३ जना नेता–कार्यकर्ताहरुलाई पार्टीबाट निष्कासन गरेको हो। 

थुलुङ दुधकोशी गाउँपालिका अध्यक्षमा बागी उम्मेद्धारी दिएका वीर बहादुर गुरुङ, उनका प्रस्तावक प्रणय राई र समर्थक सागर श्रेष्ठ तथा उपाध्यक्ष पदका उम्मेद्धार प्रमिला राई निष्कासनमा परेका छन्। सोही गाउँपालिका ३ मा वडाअध्यक्षका बागी उम्मेद्धार कमल प्रसाद निरौला र उनका प्रस्तावक चक्र बहादुर केसी तथा सोही वडाका राजेश राई र सुर्य राईलाई कांग्रेस पार्टीबाट निष्कासन गरिएको छ। ीनष्कासनमा वडा नं ९ लोखिमका सन कुमार तामाङ, नेचासल्यान गाउँपालिकाका अध्यक्षका उम्मेद्धार श्रीलाल थापा मगर र उनका प्रस्तावक शिव प्रसाद आचार्य र समर्थक सन्तोष राईलाई पनि पार्टीले कारबाही गरेको छ।

नेचासल्यान गाउँपालिकाका उपाध्यक्षका बागी उम्मेद्धार नारायण प्रसाद निरौला र उनका प्रस्तावक नरेन्द्र निरौला, सोताङ गाउँपालिका अध्यक्षका लागि बागी उम्मेद्धारी दिएका दिपक खड्का र उनका प्रस्तावक तिल बहादुर बस्नेत तथा समर्थक चन्द्र कुमारी बस्नेत (खड्का) तथा सोताङ गाउँपालिका ३ का वडाअध्यक्षका बागी उम्मेद्धार सुर्य बहादुर बस्नेत र माप्य दुधकोशी गाउँपालिकाका कांग्रेस नेता लोकजीत कार्कीलाई  पनि कांग्रेस पार्टीले निष्कासन गरेको छ। तत्कालिन कांग्रेस नेता दिपक खड्का हाल नेकपा प्रवेश गरिसकेका छन् भने नेचासल्यान गाउँपालिकाको अध्यक्ष पदमा बागी उम्मेद्धार बनेका श्रीलाल थापाले पनि यसअघि नै पार्टी परित्याग गरिसकेका छन्।

अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बेले जारी गरेको विज्ञप्तीमा भनिएको छ,  ‘निर्वाचनमा पार्टीको आधिकारिक उमेदवारविरुद्ध वागी उमेदवार बनेका, निजका प्रस्तावक र समर्थक तथा अन्य पार्टीमा गई विभिन्न तहमा उमेदवारी दिएका नेता तथा कार्यकर्ताहरुलाई पार्टीको विधान बमोजिम कारबाही गरिएको हो।’

प्रकाशित: ६ श्रावण २०७६ १५:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App