coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘आत्मसमर्पण गरेर वार्तामा बस्दैनौं’

काठमाडाैँ - बन्दुक बिसाएर शान्तिपूर्ण राजनीतिमा आएमात्रै वार्तामा बस्न सकिने सरकारका प्रवक्ताको धारणाप्रति नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले आपत्ति जनाएको छ। विप्लव समूहले सरकार मुठभेडमा जान चाहेको आरोप लगाएको छ। सरकारको पछिल्लो धारणाले झनै परिस्थिति बिग्रार्न खोजेको दाबी उसको छ।

भूमिगत अवस्थामै नागरिकसँग सम्पर्कमा आएका प्रतिबन्धित नेकपाका पोलिटब्युरो सदस्य अनिल शर्मा (विरही) ले ‘क्रान्तिकारी शक्तिलाई आत्मसमर्पण गरेर वार्तामा आइजा’ भन्नु स्वीकार्य नहुने बताए। ‘हाम्रा नेता–कार्यकर्तामाथि सरकारले लगाएका मुद्दा फिर्ता, प्रतिबन्ध फुकुवा, प्रहरी प्रशासन लगाएर गरिएको धरपकड स्थगन तथा भरपर्दो सुरक्षा प्रत्याभूतिपछि औपचारिक रुपमा पत्र पठाए हामी वार्तामा बस्न तयार छौं,’ शर्माले नागरिकसँग भने, ‘वार्ताका लागि यी हाम्रा न्यूनतम सर्त हुन्, यसलाई थाती राखेर हामी वार्तामा बस्दैनौं।’

२०७५ फागुन २८ गते प्रतिबन्ध लागेपछि विप्लव समूहका वरिष्ठ नेता हेमन्तप्रकाश वलीसहित ५ सय ७९ नेता तथा कार्यकर्ता पक्राउ परिसकेका छन्। त्यसमध्ये सय बढी कार्यकर्ता जेलमा छन्। २०७५ मंसिर ८ गते राजधानमिा बसेको सो समूहको स्थायी समिति बैठकले वार्ताबाटै समस्या समाधान हुने पहल गर्ने निर्णय लिएको स्मरण गर्दै शर्माले तर फागुन २८ गते प्रतिबन्ध लगाएर सरकारले अशान्ति र मुठभेड निम्त्याएको बताए। सरकारले प्रतिबन्ध लगाए पनि आफूहरु गाउँबस्ती र जनतासँगै भएको दाबी उनले गरे।

प्रकाशित: ३ श्रावण २०७६ ०१:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App