८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम: हराएका अध्यक्ष सिंह ५ दिनमा मृत फेला

महेन्द्रनगर– आर्थिक बर्ष २०७५/०७६ देखि देशभरीका स्थानीय तहमार्फत प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लागु भएको छ। भीमदत्त नगरपालिकाले ७ नम्बर वडामा संचालन गरेको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतको एक उपभोक्ता समितिका अध्यक्ष गत शुक्रबार हराएका थिए। उनको शव पाँच दिनपछि फेला परेको छ।

भीमदत्त नगरपालिका–७ हल्दुखालका स्थानीय बसन्तबहादुर सिंह प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका उपभोक्ता समितिका अध्यक्ष हुन। उनको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिले महाकाली जनसेवा माविमा रंग रोगन गरेका थिए। सोही काम गरे बाफतको भुक्तानी लिन उनी गत शुक्रबार नगरपालिका आए। 

नगरपालिका कार्यालय पुगेका अध्यक्ष सिंहले साथमा आएका अर्का स्थानीय एवं प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका अध्यक्ष भुवन कुँवरसंग एकैछिनमा बजार पुगेर आउँछु भनेर गए, तर उनी पाँचदिनदेखि हराएका थिए। 

हराएका सिंहको मंगलबार मृत अवस्थामा चुरे जंगलमा शव भेटिएको छ। उनले बोकेको मोबाइल लोकेसन आधारमा आफन्त सहित सुरक्षाकर्मी चुरे क्षेत्रमा खोज्न गए। तीन दिन अघि उनले प्रयोग गर्ने मोटरसाइकल र झोला फेला परेको थियो। प्रहरीले झोला र मोटरसाईकल फेला परेको क्षेत्रमा कुकुर प्रयोग गरे पनि एकिन लोकेशन फेला नपरेपछि पुनः आफन्त सहित प्रहरीको टिमले सो क्षेत्रको थप उत्तरतिर खोजबिन गरे। मंगलबार दिउँसो करिब चार बजेतिर जंगलमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको छ।

स्थानीय गणेश बहादुर धानुकले मोटरसाइकल र झोला फेला परेको स्थानदेखि झण्डै तीन किलोमिटर उत्तरमा सिंहको शव रुखमा झुण्डिएको अवस्थामा झोला फेला परेको बताए। ‘रुखमा झुण्डिएको अवस्थामा सिंहको शव फेला परेको छ’, उनले भने, ‘शरीर पुरै ढुङ्गामा राखिएको छ।’ सिहको शव कुहिएको छ। 

उनको मृत्यु शंस्कापद भएको भन्दै स्थानीय एव परिवारले सत्यतथ्य खोजबिनको माग गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शव फेला परेको स्थानबाट मुचुल्का संकलन भइरहेको जनाएको छ। कञ्चनपुरका प्रहरी प्रमुख दिनेश अर्चायले घटनाबारे अनुसन्धान भइरहेको बताए। घटनास्थलको मुचुल्ला उठाएर पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पताल ल्याइएको छ।

प्रकाशित: १ श्रावण २०७६ १०:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App