७ वैशाख २०८१ शुक्रबार
राजनीति

शिक्षा ऐनका लागि राय संकलन

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले नगरशिक्षा ऐन निर्माणका लागि घुम्ती शिविरमार्फत सुझाव संकलन गरेको छ। नगरपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले दलका स्थानीय नेता, व्यवस्थापन समिति, अभिभावक, बुद्धिजीवी, नागरिक समाज, शिक्षाप्रेमी, विद्यार्थीलगायतबाट सुझाव संकलन गरेको हो। ११ वडा रहेको नगरपालिकाका विभिन्न आठ स्थानमा कार्यक्रम गरी सुझाव संकलन गरिएको सो नगरपालिकाका मेयर इवन राईले बताए।

गत वैशाखमा सेमिनार आयोजना गरी शैक्षिक सत्र २०७६ लाई शैक्षिक सुधार वर्षका रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता जुटाएको नगरपालिकाले पूर्वजिल्ला शिक्षा अधिकारी एवं शिक्षा उपसचिव ज्ञानमणि नेपाललाई विज्ञका रूपमा ल्याएर शिक्षा ऐनका लागि राय संकलन गरेको हो। नगर शिक्षा नियमावली बनाइसकेको सो नगरपालिकाका मेयर राई, उपमेयर विमला राईलगायतको टोलीले बुलापन्थे मावि धितुङ, च्यास्मिटार मावि, वडा कार्यालय बडहरे, मालिकादेवी मावि बाहुनीडाँडा पुगेर मौखिक एवं लिखित राय संकलन गरिसकेको जनाइएको छ। त्यस्तै पिपलडाँडा मावि मंगलटार, दुर्छिम मावि दुर्छिम, जनता मावि सल्ले, महेन्द्रोदय मावि हलेसी, ज्योति मावि राजापानी, सरस्वती मावि अर्खौले र दाम्ली मावि डिकुवामा पनि राय संकलन गरिएको मेयर राईले बताए।

शिक्षा ऐन निर्माणका क्रममा गाउँ–गाउँमा पुग्दा मापसे गरी विद्यालय आउने शिक्षकलाई कारबाहीको व्यवस्था हुनुपर्ने, ५० प्रतिशतभन्दा कम सिकाइ उपलब्धि भए सम्बन्धित विषयका शिक्षकलाई कारबाही गर्न तथा सिकाइ उपलब्धि ८० प्रतिशत नाघे शिक्षकलाई पुरस्कारको व्यवस्था गर्न, अभिभवाक शिक्षाको व्यवस्था गर्नलगायत सुझाव प्राप्त भएको नगरपालिकाले जनाएको छ।

प्रकाशित: २७ असार २०७६ ०१:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App