१५ चैत्र २०८० बिहीबार
राजनीति

‘कसैले झुक्याउँछ भने त्यसमा प्रधानमन्त्रीको के दोष? झुक्याउनेलाई झुण्ड्याउन पनि मिलेन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सञ्चार अवरोधका कारण प्रधानमन्त्री झुक्किएको बताएका छन्। 

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा ‘प्रधानमन्त्रीलाई बुमराहमा राखेर देश कसले चलाइरहेको छ’ भनेर सोधिएको प्रश्नमा मन्त्री बाँस्कोटाले भने, ‘संवैधानिक व्यवस्थाअनुसार देश चलाउने प्रधानमन्त्रीले नै हो। विभिन्न निकाय र विभाग हुन्छ। कहीँ कहीँ कम्युनिकेसन ग्याप हुनसक्छ। त्यस कुराले कहीँ कतै अप्ठेरो पर्न गएको हुनसक्छ।’ 

विषादी, मेलम्ची तथा चिनी प्रकरणमा प्रधानमन्त्री झुक्किएको स्वीकार गर्दै मन्त्री बाँस्कोटाले त्यसमा प्रधानमन्त्रीको दोष नहुने जिकिर गरे। ‘कसैले झुक्याउँछ भने प्रधानमन्त्रीको दोष हुन्छ र? झुक्याउने कुरामा। उहाँलाई त्यो लाग्यो भन्नुभयो’, उनले भने, ‘तर व्रिफिङ गर्नेले कसरी गरे त्यो हेर्नुपर्यो। अब यसबाट हामीले सिक्ने हो। झुक्याउनेलाई लगेर रुखमा झुण्ड्याउन मिल्दैन, यो राणा शासन होइन। स्थायी जागिर खाएका मान्छे हुन्छन्।’ 

मन्त्री बाँस्कोटाले आफूले सञ्चार मन्त्रालयअन्तर्गतका गतिविधि सूचना विभागको डिजीलाई सोध्ने गरेको र उनकै सूचनाका आधारमा बोल्ने गरेको भन्दै मन्त्री तथा प्रधानमन्त्रीको स्रोत कर्मचारी नै भएको बताए। ‘त्यसैले हामीले अब सचेत हुनुपर्छ। कम्युनिकेसन ग्याप हटाउनुपर्छ। कमजोरी दोहोरिन दिनु हुँदैन’, उनले भने। 

‘विषादी परीक्षण कुनै देशप्रति लक्षित छैन’

सरकारका प्रवक्ता बाँस्कोटाले विषादी परीक्षण कुनै देशप्रति लक्षित विषय नभएको स्पष्ट पारे। ‘यो नेपाल र भारतको प्रश्न होइन। विश्व व्यापार संगठनले नै विषादीमा खाद्य र अखाद्य वस्तु बनेर स्पष्ट उल्लेख गरेको छ। संगठनमा भएका सबै देशले पालना गर्नुपर्छ। विषादी दुबै देशले परीक्षण गर्न पाउँछ’, उनले भने।  

विषादी परीक्षणको पछिल्लो ५ वर्षे तथ्यांकअनुसार बढीजसो उपभोग्य तरकारी र फलफुल भित्रिएको उनको भनाई छ। ‘आउने चिज सबै विषादीयुक्त हुन्छ भन्ने होइन’, उनले भने, ‘विषादीमा अडेको राष्ट्रवादको कमजोर जगमा नेकपा र केपी ओलीको सरकार चलेको होइन। कसैका पनि अनुचित दबाब हामीलाई स्वीकार्य छैन।’

उनले विषादी परीक्षणको मुद्दालाई राष्ट्रसंघ नजोड्न आग्रह गर्दै भने, ‘फेसबुकमा लम्पसार पर्यो भनेर लेख्नुभन्दा गमलामा भए पनि एउटा खुर्सानीको बोट रोप्ने अभियान चलाऔं।’

प्रकाशित: २६ असार २०७६ १३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App