८ वैशाख २०८१ शनिबार
राजनीति

नेकपा फुट्ने प्रश्नमा झोंक्किए सञ्चारमन्त्री, प्रचण्डलाई घुमाउरो चेतावनी !

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको एकताको जग कमजोर नभएको बताएका छन्। 

पछिल्लो समय नेकपाभित्र आलोपालो सहमतिको विषयमा नेताहरुबीच गुटगत दुरी बढ्दै गएको र सो सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नमानेको तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल असन्तुष्ट रहेको खबरहरु आइरहेका बेला बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले जति नै आराधना गरे पनि नेकपा नफुट्ने दाबी गरे। ‘नेकपाको एकता देखेर साह्रै धेरै आराधना भो। जति आराधना गरे पनि नेकपा फुट्दैन। जब फुट्दैन भने अनि के भ्यागुत्ताको धार्नी पुग्दै पुग्दैन र अनि कहाँबाट अर्काे सरकार बन्छ? यता र उता दौडधुप किन?’ उनले प्रश्न गरे। 

आलोपालो प्रधानमन्त्री र अध्यक्षको सहमति कार्यान्वयन नभएपछि पछिल्लो समय सरकारविरुद्ध सक्रिय देखिएका अध्यक्ष प्रचण्डतर्फ संकेत गर्दै मन्त्री बाँस्कोटाले पार्टी फुटाउन खोज्नेहरुले पनि छुट नपाउने चेतावनी समेत दिए। ‘हामी एउटै जहाजमा सवार छौं। कोही पनि उम्किन पाउने छैन’, उनले भने। 

नेताहरु कन्भिन्स भएरै पार्टी एकता भएको र सरकार बनेको स्मरण गर्दै बाँस्कोटाले प्रश्न गरे, ‘यसमा दुलो पारेर कुन जहाजको मुसो उम्किन्छ र?’ 

बाँस्कोटाले थपे, ‘नेकपा फुट्ला र भ्यागुताको धार्नी पुर्याउँला भनेर कसैलाई लागेको छ भने त्यसले पाँच वर्षसम्म कामना गर्ने, आराधना गर्ने, विहान घण्टी बजाउने, साँझ शंख फुक्ने गरे हुन्छ, तर केही पनि हुन्न। एउटै जहाजमा सवार छन भने कोही पनि उम्किनेवाला छैनन्। त्यसैले नेकपामा कुनै समस्या आउँदैन्’, उनले भने। 

पार्टीमा बेला बेला बैठकमा छलफल हुँदा विवाद र आलोचना भइरहने र यो प्रजातान्त्रिक अभ्यास भएको तर्क गर्दै बाँस्कोटाले थपे, ‘नेताहरु बहुत कन्भिन्स हुनुहुन्छ।’

पछिल्लो समय नेकपामा पावर सेयरिङको विषयलाई लिएर अध्यक्षद्वय ओली र प्रचण्डबीच मतभेद कायम रहेका बेला सरकारका प्रवक्ता बाँस्कोटाले पार्टी नफुट्ने र फटाउने प्रयास गरे कोही उम्किन नपाउने बताएका छन्। 

प्रकाशित: २६ असार २०७६ १३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App