७ वैशाख २०८१ शुक्रबार
राजनीति

गगन थापाको आक्रोशः ‘संसद सभामुखले चलाउने हो कि सरकारले ?’

फाइल तस्बिर ।

काठमाडौं – नेपाली कांग्रेसका सांसद गगन थापाले संसद सरकारको छायाँको रूपमा सीमित हुँदै गएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकपछि संघीय संसद भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै थापाले सभामुखले स्वतन्त्र भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका हुन्।

प्रतिपक्षी दललाई पेलेर जाने नियत सरकारले राखेको र त्यसैलाई सभामुखले अनुसरण गरेको टिप्पणी उनले गरे। उनले संसदीय समितिको सामना गर्न सरकार र समिति गठन गर्न सभामुख तयार हुनुपर्ने बताए।

‘संसदप्रति सांसदकै भरोसा टुट्छ भने आमव्यक्तिहरुको भरोसा के रहन्छ ? पेलेर जाने रवैया, नियत राख्नुभएको छ,’ उनले भने, ‘यसले सभामुख दिन प्रतिदिन हाम्रो विश्वास गुमाउँदै हुनुहुन्छ भन्ने कुरालाई पुष्टि गरेको छ।’ जबसम्म संसदीय छानबिन समिति बन्दैन, तबसम्म प्रमुख प्रतिपक्षी दलको तर्फबाट संसद चल्ने कुरामा आफूहरुको सहयोग नरहने उनले बताए।

मंगलबारको बैठकमा संसदीय समिति गठन गर्नेमा सकारात्मक रहेका सभामुख सरकारको निर्देशनपछि पछि हटेको दाबी सांसद थापाले गरे। ‘यो संसद सभामुखले चलाउनुभएको छ वा सरकार चलाउने मान्छे आफैंले संसद चलाइरहेको छ ?,’ उनले प्रश्न गरे।

उनले सर्लाहीका दुई भिन्नभिन्न घटना सामान्य नभएकाले सत्यतथ्यमा नपुगे भविष्यमा लोकतन्त्रलाई नै खतरामा पार्न सक्छ भन्ने मानेर आफूहरूले संसदीय छानबिन समिति गठनको माग गरेको स्पष्ट पारे।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले हरेक कुरामा संसदीय छानबिन समिति गठन हुन नसक्ने प्रतिक्रिया दिए। कांग्रेस र राजपाका सांसदले सर्लाहीका दुई घटनाको सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेर उभिरहेकै बेला सभामुखले बैठकको कार्यसूची अगाडि बढाएपछि सांसदहरूले रोष्टम घेराउ गरेका थिए।

प्रकाशित: २५ असार २०७६ ११:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App