८ वैशाख २०८१ शनिबार
राजनीति

‘भारतीय विस्तारवादसामु केपी–पीके सरकारको तावेदारीवाद उदाङ्गियो’

काठमाडौं– नेकपा मालेले भारतबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षण नगर्ने सरकारको निर्णयमा आपत्ति जनाएको छ। 

भारतीय दूतावास र भारतीय निर्यातकर्ता व्यापारीहरुको तीब्र दबाबसामु झुक्दै आवश्यक पूर्वाधार र जनशक्ति अभावको नाममा सरकार भन्सार विन्दुमा भारत लगायत तेस्रो मुलुकबाट आयात हुने ‘तरकारी र फलफूलको क्वारेन्टाइन र जीवनाशक बिषादीको अवशेष परीक्षण अनिवार्य रुपमा गर्ने’ निर्णयबाट पछि हट्नु गम्भीर र आपत्तिजनक रहेको मालेको ठहर छ।

मालेका महासचिव सीपी मैनालीले सोमबार विज्ञप्ति जारी गर्दै विषादी परीक्षण गर्ने निर्णयबाट पछि हट्नुले भारतीय विस्तारवादसामु केपी–पीके सरकारको तावेदारीवाद नांगिएको टिप्पणी गरेका छन्। 

नेपालबाट निर्यात हुने तरकारी तथा फलफूलको महंगो र कष्टप्रद प्रक्रिया पुरा गर्दै भारतको कलकत्ता र लखनउमा चेकजाँच हुँदै आएको स्मरण गराउँदै मैनालीले भनेका छन्, ‘डब्लुटिओ र एफएओको विषादीयुक्त वस्तुको व्यापार गर्न नपाउने अन्तर्राष्ट्रिय प्रचलन र मान्यताविपरित नेपाल सरकारले जुन निर्णय गरेको छ, त्यो सरासर अपरिपक्व, गलत, असमान र जनस्वास्थ विपरित छ। यसले भारतीय विस्तारवादका सामु वर्तमान केपी–पीके सरकारको तावेदारीवादलाई उदाङ्गो पारेको छ।’ 

नेपालका विभिन्न सात ठाउँमा विषादी अवशेषको चेकजाँच गर्ने व्यवस्था रहेको भन्दै मालेले कृषि क्षेत्रलाई आधुनिक र वैज्ञानिककरण गर्दै स्वदेशी उत्पादनको बृद्धि र बजार व्यवस्थापन सहज गर्न तथा आयातलाई घटाउँदै लाने दिशामा सरकारको ध्यानाकर्षण समेत गराएको छ। 

त्यस्तै, भन्सार विन्दुमा बिषादी अवशेषको परीक्षण गर्ने पूर्व निर्णयलाई कार्यान्वयनमा ल्याउन तथा त्यस सम्बन्धी व्यवस्थालाई अझ उन्नत बनाउन मालेले सरकासँग माग गरेको छ।

प्रकाशित: २३ असार २०७६ १२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App