१६ चैत्र २०८० शुक्रबार
राजनीति

कांग्रेस केन्द्रीय समितिमा १४औं महाधिवेशन तयारीकाे विषय प्रवेश

फाइल तस्बिर

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा १४ वटा एजेण्डा प्रस्तुत भएका छन्। 

शीर्ष तहको विवादका कारण निर्धारित समयभन्दा निकै ढिलो बसेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४ वटा एजेण्डा प्रस्तुत गरेका हुन्। एजेण्डामा १४औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने, पार्टीको नियमावली २०७६ प्रस्तुत गर्ने, क्रियाशील सदस्यता नवीकरण एवं वितरण, राष्ट्रिय जागरण अभियानको एकीकृत प्रतिवेदन प्रस्तुत गर्ने लगायत रहेका छन्। 

महाधिवेशनलाई एजेण्डा बनाउने विषयमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौलाबीच विवाद हुँदा बैठक बस्न ढिलाइ भएको थियो। १४ औं महाधिवेशन समयमै गराउन बैठकमा एजेण्डाका रुपमा प्रवेश गराउनुपर्ने नभए बैठक बहिष्कार गर्ने चेतावनी पौडेल र सिटौला पक्षले दिएका थिए भने सभापति देउवा महाधिवेशनबारे छलफल नगर्ने अडानमा थिए। अन्ततः महाधिवेशनको तयारीका विषयमा छलफल गर्ने सहमति भएपछि साँझ ७ बजे बैठक बसेको थियो। 

महामन्त्री खड्काले १४ वटा एजेण्डा प्रस्तुत गरेपछि नियमावली संशोधन मस्यौदा समितिका संयोजक रमेश लेखकले ‘नेपाली कांग्रेसको नियमावली, २०७६’ प्रस्तुत गरेका थिए। नियमावलीको मस्यौदा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई वितरण गरी बैठक समापन भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। नियमावलीको अध्ययन पश्चात अर्काे बैठक असार २७ गते दिउँसो १ बजे पुनः बस्ने छ। 

बैठकमा सभापति देउवाले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ मा खटिएका केन्द्रीय प्रतिनिधिहरु, जिल्ला, क्षेत्र एवं स्थानीय तहसम्मको नेतृत्व र साथीहरु, देश–विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य एवं शुभचिन्तकलाई धन्यवाद ज्ञापन गरेका थिए।

प्रकाशित: २२ असार २०७६ १४:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App