coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

महाधिवेशन पहिला

काठमाडौं – नेपाली कांग्रेसमा असन्तुष्ट पक्षका नेताहरुले पार्टीको १४औं महाधिवेशनको तयारी तत्काल थाल्नुपर्ने निष्कर्ष निकालेका छन्। केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा शनिबार अपराह्न महामन्त्री शशांक कोइरालाको निवासमा बसेको असन्तुष्ट पक्षका नेताहरुको भेलाले तत्काल १४औं महाधिवेशनको प्रक्रिया सुरु गर्न सभापति शेरबहादुर देउवालाई दबाब दिनुपर्ने निष्कर्ष निकालेको हो।

केन्द्रीय समिति बैठकमा सभापति देउवाले महाधिवेशनको विषयमा ठोस प्रस्ताव वा विकल्पहरु पेस नगरेसम्म अन्य अजेन्डामा प्रवेश गर्न नदिने रणनीति असन्तुष्ट पक्षले बनाएको छ। केन्द्रीय समिति बैठक आइतबारका लागि बोलाइएको छ। बैठकमा असन्तुष्ट पक्षले सभापति देउवासँग १४औं महाधिवेशनको कार्यतालिका माग्ने भएको छ। ‘१४औं महाधिवेशन प्रक्रिया तत्काल अघि बढाउने सभापतिलाई आग्रह गर्नेछौं,’ असन्तुष्ट पक्षको भेलामा सहभागी एक नेताले भने, ‘सभापतिले केन्द्रीय समितिमा कि महाधिवेशनको कार्यतालिका पेस गर्नुपर्छ होइन भने चित्तबुझ्दो विकल्प पेस दिनुपर्छ। महाधिवेशनको टुंगो लागेपछि मात्र बैठक अन्य अजेन्डामा प्रवेश गर्नेछ।’ महाधिवेशन टुंगो नलागेसम्म केन्द्रीय समितिमा अन्य अजेन्डा प्रवेश गराउन नदिने जानकारी पनि ती नेताले दिए।

केन्द्रीय समिति बैठकमा सभापति देउवाले महाधिवेशनको विषयमा ठोस प्रस्ताव वा विकल्पहरु पेस नगरेसम्म अन्य अजेन्डामा प्रवेश गर्न नदिने रणनीति असन्तुष्ट पक्षले बनाएको छ।

सामान्य अवस्थामा चार वर्षमा महाधिवेशन गर्नुपर्ने व्यवस्था विधानमा छ। केन्द्रीय सदस्य जीवन परियारले तत्काल तल्लो तहको अधिवेशन प्रक्रिया सुरु गर्नुपर्ने बताए। विधानको व्यवस्था अनुसार आगामी आठ महिनाभित्र १४औं महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने बताउँदै उनले भने, ‘अब तल्लो तहको अधिवेशन तत्काल सुरु नगर्ने हो भने समयमा महाधिवेशन गर्न सकिँदैन। त्यसैले प्रक्रिया सुरु गरिहाल्नुपर्छ भन्नेमा सबैको एकमत छ। अब महाधिवेशन कार्यकतालिका बनाएस तयारीमा जुट्नुपर्छ।’

सभापति देउवा विधानको व्यवस्था अनुसार चार वर्षभित्र महाधिवेशन गराउन तयार नरहेको असन्तुष्ट पक्षको आरोप छ। पार्टी संगठनलाई चुस्त बनाएर अब मुलुकमा हुने तीनै तहको निर्वाचन तयारीमा जुट्न पनि महाधिवेशन गर्न कुनै विलम्ब गर्न नहुने असन्तुष्ट पक्षको ठहर छ। तर, सभापति देउवा विधानले दिएको अधिकार प्रयोग गरी एक वर्ष कार्यकाल लम्ब्याउने तयारीमा रहेको एक नेताले बताए। संविधानमा भने कुनै पनि दलले साढे पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने छ। सभापति देउवा पार्टी विधानमा रहेको संक्रमणकालीन व्यवस्था प्रयोग गरेर तल्ला तहलाई पूर्णता दिँदै कार्यकाल लब्याउने पक्षमा रहेको आरोप लगाउँदै एक नेताले भने, ‘अतिरिक्त सुविधा लिनुपर्ने आवश्यकता छैन। महाधिवेशनमा जानुपर्छ।’ देउवा सभापतिमा निर्वाचित भएको आगामी फागुनमा चार वर्ष पूरा हुँदैछ। केन्द्रीय समिति बैठकमा पार्टीको नियमावलीका साथै भ्रातृ संगठनका विधानसहितका विषयमा निष्कर्षमा पुग्ने संस्थापन पक्षको तयारी छ।
कांग्रेसले दैनिक लेवी उठाउने

कांग्रेसले पार्टीका क्रियाशील सदस्यहरुबाट दैनिक एक रुपैयाँ उठाउने भएको छ। पार्टीको प्रस्तावित नयाँ नियमावलीमा हरेक क्रियाशील सदस्यसँग दिनको एक रुपैयाँ लेवी लिने उल्लेख छ। ‘हरेक क्रियाशील सदस्यले हरेक दिन पार्टीका लागि एक रुपैयाँ दिनुपर्ने प्रस्ताव गरिएको छ,’ नियमावली मस्यौदा समितिका सदस्य प्रदीप पौडेलले भने, ‘एक वर्षमा ३ सय ६५ रुपैयाँ तिर्नुपर्छ।’ त्यस्तै पार्टीका गाउँपालिका पदाधिकारीले प्रत्येक दिन दुई रुपैयाँ, क्षेत्रीय र जिल्ला पदाधिकारीले पाँच, प्रदेश पदाधिारीले दस र केन्द्रीय पदाधिकारीले दैनिक २० रुपैयाँ लेवी बुझाउनुपर्ने प्रस्ताव नियमावलीमा गरिएको छ। कार्यसमितिका अन्य सदस्यले भने पदाधिकारीले तिर्ने रकमको आधा तिनुपर्ने व्यवस्था नियमावलीमा राखिएको छ।

त्यस्तै, महाधिवेशन भएको तीन महिनाभित्र सभापतिले पार्टी पदाधिकारीको जिम्मेवारी केन्द्रीय समितिको बैठकमा पेस गर्नुपर्ने नयाँ व्यवस्था पनि राखिएको जानकारी पौडेलले दिए। पार्टी विधानमा रहेको संक्रमणकालीन व्यवस्थाको विषयमा भने नियमावलीमा केही उल्लेख नभएको स्रोतको दाबी छ।

प्रकाशित: २२ असार २०७६ ०२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App