४ वैशाख २०८१ मंगलबार
राजनीति

कांग्रेस केन्द्रीय समितिमा हिन्दू राष्ट्रबारे छलफल हुने, भण्डारीले विषय प्रवेश गराउने

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले आइतबारबाट सुरु हुने बैठकमा हिन्दू राष्ट्रको विषय उठ्ने बताएका छन्।

रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘भोलिको बैठकमा समग्र मुलुकको परिस्थितिबारे छलफल हुन्छ। नेकपाको गतिविधि र सरकारको कामबारे पनि विश्लेषण हुन्छ।’ पछिल्लो समय हिन्दू राष्ट्रको विषय जोडतोडले उठेको सुनाउँदै भोलिको बैठकमा यो विषय पनि स्वभाविक रुपमा उठ्ने भण्डारीले जानकारी दिए। 

महासमितिको बैठकमा ७०९ सदस्यको हस्ताक्षरसहित हिन्दूराष्ट्रको एजेण्डा उठाएको सुनाउँदै उनले भने, ‘भोलिको बैठकमा मैले यो विषय प्रवेश गराउँछु। यो नेपाली कांग्रेसको भविष्यसँग मात्रै नभएर सिँगो मुलुकको भविष्यसँग जोडिएको छ। अब विलम्ब नगरी पार्टीले हिन्दू राष्ट्रको बारेमा आफ्नो दृष्टिकोण बनाउनुपर्छ।’ भण्डारीले पार्टी विधि र विधानअनुसार चल्नुपर्नेमा जोड दिए। उनले थपे, ‘अब व्यक्तिवादी चरित्रले काम गर्दैन्।’

वर्तमान सरकार शान्ति, सुरक्षा कायम गर्न चुकेको र इतिहासमै यो मामिलामा कमजोर बनेको उनको आरोप छ। भ्रष्टाचार, महँगीलगायतका विषयमा पनि सरकार चुकेको उनको दाबी छ।

अर्का केन्द्रीय सदस्य श्याम घिमिरेले केन्द्रीय कार्यसमिति बैठकमा गम्भीर र महत्वपूर्ण विषयमा छलफल हुने बताए। ‘सम्भवतः भोलिबाट सुरु हुने केन्द्रिय कार्यसमिति बैठक केही दिन लामो चल्छ, र यो टर्निङ प्वाईन्ट हुनेछ। कांग्रेस अहिले नयाँ बाटोमा अघि बढ्दैछ। अब पार्टीभित्रका नयाँ संरचनाले पूर्णता पाउँदैछन्।’

त्यस्तै उनले अब महाधिवेशनको प्रक्रिया पनि सुरु हुने जनाए। उनले भने, ‘महाधिवेशनको लागि सदस्यता वितरणको काम जो छ, अब अघि बढ्छ।’ यसपटकको बैठकमा धर्मको विषयमा प्रवेश नै नगर्ने जिकिर गरे। उनले भने,‘हामी धर्मसापेक्ष नीतिअनुसार अघि बढ्छौं। यसपालिको बैठकमा धर्मको विषयले प्रवेश पाउँदैन्।’ 

पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडलमात्रै नभएर यसपटकको बैठकपछि सबै नेतृत्वमा बसेका नेताहरुबीच एकता हुने पनि उनले विश्वास दिलाए। उनले भने, ‘पार्टीका कार्यक्रम, नीति र एजेण्डा सबैमा एकमत हुन्छ।’ सभापति देउवा पनि महाधिवेशन समयमै गर्नुपर्नेबारे प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।

केन्द्रीय सदस्य तथा पूर्व कृषिमन्त्री रामकृष्ण यादवले भोलिबाट सुरु हुने केन्द्रीय कार्यसमितिको बैठकले नेताहरुबीच एकता कायम गर्ने स्पष्ट पारे। उनले भने, ‘हाम्रा नेताहरुबीच एकता हुन आवश्यक छ। आम जनताले पनि त्यही चाहना राख्नुभएको छ।’
यादवले भोलिको बैठकमा पार्टीको विधान पारित भैसकेकोले अब नियामावलीको प्रस्ताव आउने पनि सुनाए। उनले भने, ‘पार्टीको संरचना बनाउने कोसिस भैरहेको छ। त्यसका बारेमा पनि प्रस्ताव आउँछ।’

सरकारले ल्याएको बजेट संघीयताअनुरुप नआएको र यसले संविधानलाई बलियो नबनाउने यादवको दाबी छ। वर्तमान सरकारले लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर तुल्याउने काम गरिरहेकोले अब कांग्रेसले सरकारको गलत कदमविरुद्ध सशक्त भूमिका निर्वाह गर्ने पनि उनले बताए।

प्रकाशित: २१ असार २०७६ ११:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App