१५ चैत्र २०८० बिहीबार
राजनीति

गण्डकी प्रदेशसभामा नेकपाको दुइतिहाइ, मनाङेलाई राताे कार्पेट

स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई नेकपाको विधान हस्तान्तरण गर्दै गण्डकी प्रदेश इन्चार्ज एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ। तस्बिर: उमेश पुन/नागरिक

पोखरा - स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) बिहीबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। उनी मनाङ (ख) बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। सांसद गुरुङसँगै नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कास्की सचिवालय सदस्य पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन्।

पार्टी प्रवेश गरेका दुवैजनालाई नेकपा गण्डकी प्रदेश इन्चार्ज तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले खादा र अविर लगाएर स्वागत गरे। उनले गुरुङलाई नेकपाको विधानसमेत प्रदान गरे।

नेकपा प्रवेश गरेका गुरुङ विगतमा ‘डन’ का रुपमा चिनिन्थे। उनलाई अहिले पनि धेरैले ‘दीपक मनाङे’ उपनामबाट चिन्छन्। प्रदेशसभा निर्वाचनमा उनलाई तत्कालीन वाम गठबन्धन (तत्कालीन एमाले र माओवादी केन्द्रसहित) ले मनाङ (ख) बाट उम्मेदवार बनाउने चर्चा चलेको थियो। तर ‘डन’ छविका उनलाई आधिकारिक उम्मेदवार बनाउँदा मतदाता भड्किने भन्दै विरोध भएपछि अन्तिम समयमा टिकट दिइएन। गठबन्धनबाट टिकट नपाएपछि उनी स्वतन्त्र रुपमा चुनाव लडे। स्वतन्त्र उम्मेदवार उनलाई तत्कालीन एमाले र माओवादी केन्द्रसहितको वाम गठबन्धनले सघाएको थियो।

वाम गठबन्धनको सहयोगमा निर्वाचित भएका उनले लामो समयसम्म सांसद पदको शपथ लिन पाएनन्। यो विषयलाई लिएर उनी सर्वोच्च अदालत पुगे। सर्वोच्चले बाटो खुला गरिदिएपछि उनले निर्वाचित भएको १६ महिनापछि गत माघ १४ गते शपथ लिएका थिए।

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा गण्डकी प्रदेश इन्चार्ज सुब्बा गुरुङले राजीव ‘दीपक मनाङेका रुपमा नभई राजीव गुरुङका रुपमा’ नेकपा प्रवेश गरेको बताए। इन्चार्ज सुब्बा गुरुङले आगामी दिनमा राजीवले पुरानो छवि नदोहो¥याउने विश्वास व्यक्त गरे।

नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले गुरुङले नेकपाको सिद्धान्त, विचार र विधान मान्छु भनेकाले उनलाई पार्टीमा स्वागत गरेको बताए। आफू निर्माण व्यवसायी पनि भएको बताउँदै आएका मनाङेको नेकपा प्रवेशलाई राजनीतिक विश्लेषकले पार्टी ‘शुद्धीकरणविरुद्ध’ को अभियानका रुपमा लिएका छन्।

नेकपाले भने पार्टीमा आउने जोकोहीलाई स्वागत गर्न सकिने बताएको छ। राजनीतिक विश्लेषक सुरेन्द्र थापा मगर भन्छन्, ‘राजीव गुरुङको नेकपा प्रवेश नौलो घटना होइन, अहिले पार्टीमा शुद्धीकरण अभियान छैन,’ उनले भने,‘ यो महासागरमा सबै खालका मान्छे छन्। पार्टीरुपी नदीमा असल मान्छे मात्र हुन्छन्, अब पार्टी महासागर भयो, महासागरमा माछा, भ्यागुता, बिच्छी पनि हुन्छन्।’

गुरुङ नेकपा प्रवेशसँगै गण्डकी प्रदेशसभामा नेकपाको दुईतिहाइ पुगेको छ। ६० सदस्यीय प्रदेशसभामा नेकपाका ३९ सदस्य थिए। स्वतन्त्र सांसद गुरुङ नेकपामा पसेपछि यो संख्या ४० (दुईतिहाइ) पुगेको छ। प्रदेशसभमा कांग्रेसका १५, जनमोर्चाका तीन (एकको मृत्यु भएको) र साबिक नयाँ शक्ति पार्टीका दुई सदस्य छन्।

प्रकाशित: २० असार २०७६ ००:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App