१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीन ली समझदारीपत्रमा हस्ताक्षर गर्दै । तस्बिरः नागरिक

रुपन्देही – प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। मुख्यमन्त्री शंकर पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीन लीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

समझदारीपत्रमा हस्ताक्षर भएपछि मुख्यमन्त्री पोखरेलले यो समझदारीले दुई देशको सम्बन्धलाई अझ उचाइमा पु-याउन बल पुग्ने विश्वास व्यक्त गरे। त्यसै गरी सिचुवान प्रान्तका गभर्नर लीले नेपाल र चीनबीचको निकै पुरानो घनिष्ठ सम्बन्ध रहँदै आएको र यो समझदारीले भविष्यको उज्यालो यात्रा कोरेको बताए।

समझदारीपछि मुख्यमन्त्री पोखरेल र गभर्नर लीले दुई प्रदेशबीच उच्चस्तरको भ्रमण आदानप्रदान बढाउँदै समृद्धिको यात्रामा एकआपसमा सघाउ पु-याउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। त्यसै गरी मुख्य मन्त्री पोखरेलले प्रदेश, पालिका र जनताबीचको सम्बन्धले दुई मुलुकबीचको सम्बन्ध बलियो बन्दै जाने प्रधानमन्त्री केपी ओलीको सन्देश पनि सुनाए। उनले गभर्नर लीलाई प्रदेश ५ र बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि निमन्त्रणा गरे।

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालन हुन गइरहेको र छेन्दु—भैरहवाबीच सीधा हवाई उडान सञ्चालनका लागि आवश्यक सहयोग गर्न आग्रह मुख्यमन्त्रीको आग्रह थियो। गभर्नर लीले लुम्बिनी भ्रमणको निम्ता दिएकोमा धन्यवाद ज्ञापन गर्दै भैरहवा—छेन्दु सीधा उडानका लागि आगामी दिनमा आवश्यक सल्लाह गरेर जान सकिने बताए।

मुख्यमन्त्री—उपमहानिर्देशक भेट

यसैबीच मुख्यमन्त्रीसँग चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमहानिर्देशक मा से सङबीच भेटवार्ता भएको छ। भेटमा उपमहानिर्देशक सङले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध निकै पुरानो रहेको र दुई पार्टीबीचको सम्बन्धले दुई देशबीचको मित्रतामा पनि बल पु-याएको बताए।

मुख्यमन्त्रीले पार्टी निर्माणमा चिनियाँ कम्युनिष्ट पार्टीको अनुभव नेकपाका लागि काम लाग्ने र चीनको विकास प्रयास पनि नेपालका लागि काम लाग्ने बताए। चिनियाँ रेल लुम्बिनी पु-याउन सके नेपालको विकास प्रयासमा महत्वपूर्ण फड्को हुने र  चिनियाँ नागरिकलाई लुम्बिनी पुग्न सहज हुने बताए।

त्यसै गरी मुख्यमन्त्री र कृषि अनुसन्धान केन्द्र प्रमुख यान सिउपिनबीच पनि भेट भएको छ। भेटमा कृषि अनुसन्धान केन्द्रका प्रमुख सिउपिनले सिचुवानमा कृषिको व्यावसायिक विकासमा पाएको सफलताबारे मुख्यमन्त्रीसहितको नेपाली टोलीलाई जानकारी गराए।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा मुख्यमन्त्री १० दिने भ्रमणमा सोमबार छेन्दु पुगेका हुन् । मुख्यमन्त्रीको भ्रमण दलमा गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेश ५ की सचेतक पार्वती पुन, प्रदेशसभा सदस्य हरि रिजाल, प्रदेश ३ का प्रदेशसभा सदस्य राजेश शाक्य, प्रतिनिधिसभा सदस्य नवराज रावत, घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरी, ठाकुरबाबा नगरपालिक मेयर घननारायण श्रेष्ठ, युवा संगठन अध्यक्ष रामप्रसाद सापकोटा, अखिल अध्यक्ष ऐन महर, संविधानसभा सदस्य ऋषि पोखरेल, नेकपा भोजपुर अध्यक्ष प्रेमकुमार राई, मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसी, स्वकीय सचिव तिरनराज गौतम, युवा नेता शिवराम यादव, सुमित्रा विसी, रणबहादुर चन्द, मञ्जुदेवी साह, पत्रकारहरू मोहन बास्तोला र देविका घर्ती छन्।

भ्रमणका क्रममा सिचुवान प्रान्तको याआन नगर र घोराही उपमहानगरपालिका तथा गोइजाउ प्रान्तको लियुयान्सु नगर र ठाकुरबाबा नगरपालिकाबीच पनि भगिनी सम्बन्ध कायम गर्ने समझदारी हुनेछ। मुख्यमन्त्री पोखरेल असार २५ गते स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित: १८ असार २०७६ ०८:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App