१५ चैत्र २०८० बिहीबार
राजनीति

विशिष्टको सुरक्षामा एक बटालियन सशस्त्र, धार्मिक गुरुलाई पनि चालक

काठमाडाैं - विशिष्ट व्यक्तिको सुरक्षाका नाममा सशस्त्र प्रहरीका ५ सय ४६ जना सुरक्षाकर्मी र चालक खटिएका छन्। विशिष्ट व्यक्तिलाई सुरक्षा खतरा नभए पनि घरेलु कामदारका रुपमा सुरक्षाकर्मी खटिँदा सशस्त्र प्रहरीको एक बटालियन जनशक्ति नै कार्यक्षेत्रभन्दा बाहिर रहेको छ।

विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७० मा गृहमन्त्रीलाई १० जना र पूर्वगृहमन्त्रीलाई २ जना सुरक्षाकर्मी दिने व्यवस्था छ। तर मापदण्डविपरीत पिएसओ, चालक र सहयोगीका रुपमा सुरक्षाकर्मी खटाइएको अवस्था छ। स्रोतका अनुसार विशिष्ट व्यक्तिको सुरक्षाका लागि दुई जना डिएसपी, ८ इन्स्पेक्टर, ३७ सई, १९ असई, ३३ वरिष्ठ हबलदार, ५० हबलदार, १ सय १६ सहायक हबलदार र २ सय ४५ जवान परिचालित छन्। त्यस्तै १९ परिचर र १७ चालक पनि विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका छन्।

सबैभन्दा बढी निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका लागि दुई डिएसपीको कमानडमा १ सय ११ जना खटाइएको छ। त्यसैगरी प्रधानमन्त्री केपी ओलीको सुरक्षाका लागि ४६ जना सशस्त्र प्रहरी खटिएका छन्। यस्तै पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालको निवासमा सुरक्षा बेस क्याम्प खुमलटार नाम दिएर प्रहरी निरीक्षकको कमान्डमा ४८ जना सशस्त्र प्रहरी खटिएका छन्। यो संख्या सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको एउटा बोर्डर आउट पोस्ट (बिओपी) मा खटिने जनशक्ति बराबर हो। अन्य पूर्वप्रधानमन्त्रीका लागि भने ८ देखि २१ जनासम्मको टोली खटिएको छ।

विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७० मा गृहमन्त्रीलाई १० जना र पूर्वगृहमन्त्रीलाई २ जना सुरक्षाकर्मी दिने व्यवस्था छ। तर मापदण्डविपरीत पिएसओ, चालक र सहयोगीका रुपमा सुरक्षाकर्मी खटाइएको अवस्था छ।

नेपाली कांग्रेस सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका लागि २१, झलनाथ खनालका लागि १८, माधवकुमार नेपालका लागि १५, लोकेन्द्रबहादुर चन्दका लागि १४, कृष्णप्रसाद भट्टराईको आश्रममा ८, बाबुराम भट्टराई निवासमा ८, खिलराज रेग्मीका लागि ९ जना सुरक्षाकर्मी खटिएका छन्।

कार्यविधिविपरीत सुरक्षाकर्मी सुविधा दुरुपयोग गर्नेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद वामदेव गौतम, भीम रावल, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, कांगे्रस नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, विजय गच्छदार, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, गोविन्दराज जोशी, डा. रामशरण महत, प्रकाशशरण महत, अमरेशकुमार सिंह, राप्रपाका अध्यक्ष कमल थापा, पूर्वसभामुख ओनसरी घर्ती, पूर्वगृहसचिव श्रीकान्त रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्मा, पूर्वगृहसचिव नारायणगोपाल मलेगो, पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहोरासमेत छन्। पूर्वमन्त्री खुमबहादुर खड्का र पूर्वमन्त्री माधव घिमिरेको निधनपछि पनि उनीहरुको घरको सुरक्षाका लागि सुरक्षाकर्मी खटाइएका छन्।

त्यसैगरी सवारीचालक लिनेमा मुख्यमन्त्री शंकर पोखरेल, पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला, पूर्वरक्षामन्त्री बालकृष्ण खाँणका साथै पूर्वमन्त्रीहरु विष्णुप्रसाद पौडेल, अग्नि सापकोटा, भीम आचार्य, जितेन्द्रनारायण देव, रेखा शर्मा, सहसचिव हरिशरण पुडासैनी, पूर्वमहान्यायाधिवक्ता सूर्यप्रसाद कोइराला, अख्तियार प्रमुख नवीन घिमिरे, नेकपाका नेता बलराम बाँस्कोटा र धार्मिक गुरु कमल नयनाचार्य छन्।

पूर्वप्रधानमन्त्रीहरुलाई कति संख्यामा सुरक्षाकर्मी खटाउने भन्ने कार्यविधिमा उल्लेख छैन। गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार विशिष्ट व्यक्तिको सुरक्षाका लागि सुरक्षा चुनौती विश्लेषणका आधारमा सुरक्षाकर्मी खटाइन्छ। ‘केही विशिष्ट व्यक्तिका लागि भने गृह मन्त्रालय र केन्द्रीय सुरक्षा समितिले सुरक्षा थ्रेट विश्लेषण गरेर सुरक्षा टोली खटाइन्छ’, उनले भने।

गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक गरेको ८२ बुँदे कार्ययोजनामा मापदण्डविपरीत व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्ने बुँदा पनि समेटिएको छ। सुरक्षाबाहेक अन्य प्रयोजनमा खटिएका सुरक्षाकर्मीलाई गत वर्षकै वैशाख मसान्तभित्र फिर्ता बोलाउने उल्लेख थियो। त्यस बेला धेरै जसो पिएसओ फिर्ता गरेको भए पनि विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिको मापदण्डविपरीत रहेका सुरक्षाकर्मी अझै फिर्ता भएका छैनन्।

सुरक्षाकर्मीलाई घरेलु कामदारका रूपमा राख्ने, सुरक्षा खतरा नभएका र जिल्ला सुरक्षा समिति, केन्द्रीय सुरक्षा समिति र गृह मन्त्रालयबाट सुरक्षा थ्रेट विश्लेषण नभएका व्यक्तिले पनि पिएसओ, सहयोगी र चालकको सुविधा लिइरहेका छन्। विशिष्ट सुरक्षा कार्यविधिमा पूर्वप्रधानमन्त्री, पूवगृहमन्त्री, पूर्वमन्त्री र पूर्वकर्मचारीलाई सुरक्षा थ्रेट भए दुईदेखि तीनजनासम्म सुरक्षाकर्मी उपलब्ध गराउने उल्लेख छ। ‘विशिष्ट व्यक्तिको सुरक्षामा मापदण्डविपरीत खटिएका सशस्त्र प्रहरी फिर्ता बोलाउने हो भने ५ सय ४६ को संख्या घटेर दुई सयभन्दा बढी हुँदैन’, गृह मन्त्रालय स्रोतले भन्यो।

प्रवक्ता सुवेदीले मापदण्ड र कार्यविधिविपरीत कुनै पनि व्यक्ति, निकाय वा संस्थाले सुरक्षाकर्मी प्रयोग गरेको पाइए फिर्ता गर्न निर्देशन दिने बताए। ‘तपाईंहरुसँग त्यस्तो सूचना छ भने गृह मन्त्रालयमा दिनुस्, हामी कारबाही गर्छौं। सुरक्षा प्रयोजनका लागि भन्दै घरेलु कामदार लगेका भए त्यस्ता व्यक्तिबाट सुरक्षाकर्मी फिर्ता खरिनेछ’, उनले भने। यसरी खटिएका मध्ये धेरैजसोलाई गृह मन्त्रालयले फिर्ता गराइसकेको पनि उनले बताए। ‘पटकपटक सुरक्षा संगठनलाई यसबारे निर्देशन गएको छ। मलाई लाग्छ, धेरैजसो फिर्ता भएका छन्’, उनले भने। हाल विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि परिमार्जनका क्रममा रहेकाले त्यो बनिसकेपछि सुरक्षाकर्मीको दुरुपयोग रोकिने दाबी उनले गरे।

सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले विशिष्टि व्यक्ति सुरक्षा कार्यविधिको आधारमा सुरक्षाकर्मी खटाइएको बताए। ‘विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७० को अधिनमा रहेर सुरक्षाकर्मी खटिएका छन् हामी मापदण्ड र कार्यविधिभन्दा बाहिर गएका छैनौं’, श्रेष्ठले भने। उनका अनुसार कुनै व्यक्तिले सुरक्षा थ्रेट भयो भनेर निवेदन दिए केन्द्रीय सुरक्षा समिति, जिल्ला सुरक्षा समिति वा गृह मन्त्रालयले विश्लेषण गरेर सुरक्षा दिन सक्छ। ‘विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि र केन्द्रीय सुरक्षा समितिले निर्धारण गरेबमोजिम सुरक्षाकर्मी खटाउने गरिन्छ’, उनले भने।

मन्त्रालय स्रोतका अनुसार नयाँ कार्यविधि (२०७४) लागू भएपछि राष्ट्रपतिको सुरक्षार्थ सेनाका दुई सय ७५, सशस्त्रका ६, नेपाल प्रहरीका सात र राष्ट्रिय अनुसन्धानका पाँचजना सुरक्षाकर्मी खटिनेछन्। त्यसैगरी उपराष्ट्रपतिको सुरक्षार्थ सेनाका ७५, सशस्त्रका ६, प्रहरीका पाँच र राष्ट्रिय अनुसन्धानका तीनजना खटिनेछन्। प्रधानमन्त्रीको सुरक्षामा सेनाका एक सय ७५, सशस्त्रका २८, प्रहरीका ८२ र राष्ट्रिय अनुसन्धानका १० जना खटिनेछन्।

कसका लागि कति खटिएका छन् सशस्त्र प्रहरी ?
उपराष्ट्रपतिको कार्यालय: इन्स्पेक्टरको कमान्डमा सवारीचालक एकजनासहित ४ जना

प्रधानमन्त्री निवास बालुवाटार: इन्स्पेक्टरको कमान्डमा ३० जना
प्रधानमन्त्रीको निजी निवास बालकोट: १६ जना

सभामुख कृष्णबहादुर महरा: एक चालक, एक असई
गृहमन्त्री रामबहादुर थापा: सईको कमान्डमा १६ जना

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित: चालक १ जना
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत निवास: सईको कमान्डमा १२ जना

क्लोज प्रोटेक्सन निर्मल निवास महाराजगन्ज: डिएसपीको कमाडन्मा ५५ जना
निवास सुरक्षा बेस क्याम्प नागार्जुन: सईको कमान्डमा १५ जना

निवास सुरक्षा बेस क्याम्प निर्मल निवास: डिएसपीको कमान्डमा ४१ जना
भूतपूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द: असईको कमान्डमा १४ जना

भूतपूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई आश्रम: असईको कमान्डमा ८ जना
भूतपूर्व प्रधानमन्त्री झलनाथ खनाल निवास: असईको कमान्डमा १८ जना

भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल निवास ः इन्स्पेक्टरको कमान्डमा ४८ जना
भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपाल निवास ः सईको कमान्डमा १५ जना

भूतपूर्व प्रधानमन्त्री बाबुराम भट्टराई निवास ः असईको कमान्डमा ८ जना
भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवा निवास ः इन्स्पेक्टरको कमान्डमा २१ जना

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी निवास ः सईको कमान्डमा ९ जना
भूतपूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ निवास ः असईको कमान्डमा १२ जना

पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ ः एकजना सहयोगी
पूर्वसभामुख ओन्सरी घर्ती निवास ः असईको कमान्डमा ६ जना

भूतपूर्व उपप्रधानमन्त्री वामदेव गौतम निवास ः सईको कमान्डमा १३ जना
भूतपूर्व उपप्रधानमन्त्री भीम रावल निवास ः सईको कमान्डमा दुईजना चालकसहित १४ जना

भूतपूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेल निवास ः सईको कमान्डमा १४ जना
भूतपूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि निवास ः सईको कमान्डमा ११ जना

भूतपूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह निवास ः सईको कमान्डमा १४ जना
भूतपूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार निवास ः सईको कमान्डमा १३ जना

भूतपूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ निवासमा ः असईको कमान्डमा ७ जना
भूतपूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला निवासमा ः सईको कमान्डमा १३ जना

भूतपूर्व उपप्रधानमन्त्री कमल थापा निवास ः सईको कमान्डमा १३ जना
गृहमन्त्री जनार्दन शर्मा निवास ः सईको कमान्डमा १२ जना

भूतपूर्व गृहमन्त्री खुमबहादु खड्का निवास ः सहयोगी र चालक गरी दुईजना
भूतपूर्व गृहमन्त्री पूर्णबहादुर खड्का निवास ः सईको कमान्डमा १२ जना

भूतपूर्व गृहमन्त्री गोविन्दराज जोशी निवास ः सईको कमान्डमा ७ जना
भूतपूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे निवास ः २ जना

भूतपूर्व अर्थमन्त्री रामशरण महत निवास ः सईको कमान्डमा ६ जना
भूतपूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महत निवास ः सईको कमान्डमा ८ जना

भूतपूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे ः चालक १ र पिएसओ १ जना
भूतपूर्व मन्त्री अर्जुननरसिंह केसी ः सईको कमान्डमा ३ जना

सांसद अमरेशकुमार सिंह ः सईको कमान्डमा चालकसहित ३ जना
भूपू गृहसचिव श्रीकान्त रेग्मी ः एक महिला प्रहरी (घरेलु सहयोगी)

राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवी राम शर्मा ः सईको कमान्डमा ४ जना
भूतपूर्व महान्यायाधिवक्ता युवराज संग्रौला ः पिएसओ एकजना

भूतपूर्व गृहसचिव नारायण गोपाल मलेगो ः पिएसओ एकजना
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल ः चालक एकजना

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेल ः चालक एक जना
भूतपूर्व उपप्रधानमन्त्री सुजता कोइराला ः चालक एकजना

भूतपूर्व रक्षामन्त्री बालकृष्ण खाँण ः चालक एकजना
भूतपूर्व अर्थमन्त्री ः विष्णु पौडेल ः चालक एकजना

पूर्व वनमन्त्री अग्निप्रसाद सापकोटा ः चालक एकजना
पूर्व पर्यटनमन्त्री जीतेन्द्रनारायण देव ः चालक एकजना

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल ः चालक एकजना
भूपू सामान्य प्रशासनमन्त्री रेखा शर्मा ः चालक एकजना

सहसचिव हरिशरण पुडासैनी ः चालक एकजना
पूर्वमहान्यायाधिवक्ता सूर्यप्रसाद कोइराला ः चालक एकजना

अख्तियार प्रमुख नवीनकुमार घिमिरे ः चालक एकजना
नेकपा नेता बलराम बास्कोटा ः चालक एकजना

कमल नयनाचार्य ः चालक एकजना
पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहोरा ः दुई महिला प्रहरी (घरेलु सहयोगी)

प्रकाशित: १८ असार २०७६ ०१:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App