६ वैशाख २०८१ बिहीबार
राजनीति

पूर्वराष्ट्रपतिले भने ‘प्रेस स्वतन्त्रताका लागि लड्नुस्’

पाल्पा – संघीय गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालीहरूमा कुण्ठा र घृणाको भावना सिर्जना हुँदै गएको बताएका छन्। पूर्वराष्ट्रपति यादवले शनिबार दलित समुदायका पत्रकारहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै कुण्ठा र घृणाले राष्ट्र समृद्ध बन्न नसक्ने बताएका हुन्।

‘प्रेस स्वतन्त्रता बचाउनु पत्रकारहरूको धर्म हो,’ उनले भने, ‘लोकतन्त्र, गणतन्त्र र प्रेस स्वतन्त्रता एउटै हुन्।’ सबैले सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई संविधानले प्रत्याभूति गरेको बताउँदै उनले हरेक ठाउँमा भएका जातीय, भाषिक तथा अन्य विभेद् अन्त्य हुनुपर्ने बताए।

पाल्पाको तानसेनमा भएको कार्यक्रममा उनले भने, ‘प्रेस स्वतन्त्रताको लागि लड्दै जानुस्। प्रेस स्वतन्त्रता, मानव अधिकार, लोकतन्त्र, गणतन्त्र तथा समावेशीकरण एउटै विषय हुन्।’

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी विधेयकहरू संसदबाट फिर्ता हुनैपर्ने बताए। उनले प्रेस स्वतन्त्रताबिनाको लोकतन्त्र सफल नहुने बताए।

सोही अवसरमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले विभेद सधैँका लागि अन्त्य गर्नुपर्ने बताउँदै भनाइ र गराइमा भिन्नता ल्याउन नहुने बताए।

प्रेस युनियनका सभापति बद्रि सिग्देलले प्रेसलाई मुख थुन्ने गरी सरकारले बन्देज लगाउन खोजेको भन्दै आपत्ति जनाए। न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष गंगाधर पराजुलीले दलित समुदायको सबाललाई मिडियाले प्राथमिकता दिएर राज्यको ध्यानाकृष्ट गर्ने काममा लाग्न आग्रह गरे।

प्रकाशित: १४ असार २०७६ ०९:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App