८ वैशाख २०८१ शनिबार
राजनीति

सांसदको प्रश्नः १० बर्षे जनयुद्ध गर्नेहरुले रेशम चौधरीलाई फलामे सिक्रीले बाध्ने?

काठमाडौं– सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले रेशम चौधरीलाई नेल लगाएर उपचार गराइएको, सरकारको काम कारवाही असफल बन्दै गएको र खेतीपातीको समयमा रासायनिक मल अभाव भएको भन्दै सहज मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

सांसद उमाकान्त चौधरीले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको र हरेक क्षेत्रमा असफल बन्दै गईरहेको आरोप लगाए। सरकारका चिप्ला र फोस्रा भाषण मात्रैले विकास निर्माणमा सफल हुन नसकिने तर्क उनले गरे।

सांसद चन्दा चौधरीले रेशम चौधरीलाई विरामीको उपचार गराउदै २४ केजीको सिक्री लगाएर उपचार गराउने काम भएको भन्दै त्यसबारे गृहमन्त्रीको ध्यानाकर्षण गराइन्। सिक्री लगाएर उपचार गराउने काममा संलग्नलाई प्रधानमन्त्रीले कारवाही गर्न दिएको निर्देशन कार्यान्वयन बारे भएको प्रगतिबारे जानकारी गराउन पनि उनले गृहमन्त्रीसंग माग गरिन्। दश बर्षे जनविद्रोह, गौर हत्याकाण्डका योजनाकारहरु सरकारमा रहेको र टिकापुर घटना पनि राजनीतिक जनविद्रोह भएको भन्दै उनले सरकारले विभेदको नीति लिएको आरोप लगाइन्।

सांसद प्रदीप यादवले चौधरी भएकै कारण सरकारले रेशम चौधरीलाई सरकारले जेल हालेको भन्दै मुलुकमा मानवअधिकार र सरकार नभएको आरोप लगाए। उनले चौधरीलाई तत्काल रिहा गर्न सरकारसंग माग गरे। उनले २०औं हजार हत्या गर्नेहरु अहिले मन्त्री बनेको भन्दै सरकारलाई विभेदकारी व्यवहार नगर्न सचेत गराए। उनले भने, ‘रेशम चौधरीलाई अबिलम्ब रिहा गर्नुपर्छ। राजनीतिक बन्दी हुन्, कुनै हत्यारा होइन। रेशम चौधरीले कसैको हत्या गरेको छैन। गोली चलाएका छैनन्। सिर्फ थारु र मधेसीका लागि आन्दोलन गरेका हुन्। २० औ हजार हत्या गर्नेहरु सरकारमा छन्। मन्त्रीको झण्डा फहराएर हिडिरेहेका छन्। थारुको छोरा जेलमा राख्ने?’

सांसद मेटमणि चौधरीले मुलुकभरका किसानले धान खेती लगाउने समयमा मल नपाएर समस्यामा परेको भन्दै रासायनिक मल उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराए। धान रोप्ने समयमा डिएपी र युरिया मलको सधै अभाव हुने र अहिले पनि त्यो अवस्था देखिएको भन्दै तत्काल रासायनिक मल सहज उपलब्ध हुने व्यवस्थाका लागि पहल गर्न माग गरे। 

प्रकाशित: ८ असार २०७६ १०:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App