coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गौंडा–गौंडामा भ्रष्टाचार : भट्टराई

दिक्तेलमा आयोजित सार्वजनिक सुनुवाइमा बोल्दै प्रतिनिधिसभा सदस्य विशाल भट्टराई। तस्बिर : दमन राई÷नागरिक

खोटाङ – ‘प्रधानमन्त्रीले म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ भन्नुभएको छ। त्यो अगाडिको म गर्दिनँ भन्नेचाहिँ पूरा भएको छ। त्यो गर्न दिन्नँ भन्नेचाहिँ पूरा भएन’ उल्लिखित भनाइ प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको हो। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ मा ‘बैंकचोक–पोखरी टोल ताकिल (सिँढी) निर्माण उपभोक्ता समिति’द्वारा हालै आयोजित सार्वजनिक सुनुवाइमा प्रतिनिधिसभा सदस्य भट्टराईले देशको विकास हुन नसकेको कारण भ्रष्टाचार भएको भन्दै यस्तो बताएका हुन्।

हरेक योजनाको काम गुणस्तरहीन गर्ने र आर्थिक अनियमितता गर्ने प्रवृत्तिले दिक्क बनाएको भट्टराईले उल्लेख गरे। ‘भ्रष्टाचार गर्न दिन्नँ भनिएको छ तर गौंडागौंडामा, छिनछिनमा, मिनेटमिनेटमै भ्रष्टाचार भएपछि देश कसरी बन्छ ?’ भट्टराईले भने, ‘लड्न पनि कति लड्नु, कतिजनासँग छुचो हुनु ! साहै्र दिक्क लागेर आउँछ।’ दिक्तेल–खोटाङ बजार सडक स्तरोन्नतिको काम र मध्यपहाडी लोकमार्गको जयराम–हलेसी सडकखण्डमा भइरहेको काम गुणस्तरहीन भएकाले आवाज उठिरहेको प्रतिनिधिसभा सदस्य भट्टराईले उल्लेख गरे।

‘भ्रष्टाचारविरुद्ध धेरै वर्ष लडियो, अझै लड्नु छ,’ भट्टराईले भने, ‘मलाई यस्ता पक्षसँग सम्झौता गरेको, झुकेको, मिलेको पाउनुहुन्न। म कुनैपनि हालतमा यस्तो सम्झौता गर्दिनँ।’प्रतिनिधिसभा सदस्य भट्टराईकै स्थानीय पूर्वाधार विकास कार्यक्रमको १० लाख बजेटबाट बैंकचोक–पोखरी टोल ताकिल निर्माण गरिएको हो। बैंकचोकबाट पोखरी टोल झर्ने सडक बाटो भत्केको, बिग्रेको र भिरालो भएकाले स्थानीय पूर्वाधार विकास कार्यक्रमको बजेट माग गरेर तालिक निर्माण गरिएको बैंकचोक पोखरी टोल ताकिल निर्माण उपभोक्ता समितिका अध्यक्ष लिलाकुमार बजिमयले बताए। सार्वजनिक सुनुवाइमा ताकिल निर्माणका क्रममा भएको कर्मी खर्च, टेलिकमको पोल सार्ने, गिटी, सिमेन्ट, बालुवा, ढुंगा तथा पलामे छड खरिदलगायत शीर्षकमा ११ लाख एक हजार चार सय ८२ रुपैयाँ खर्च भएको जानकारी दिइएको छ।
 

प्रकाशित: ८ असार २०७६ ०३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App