१५ चैत्र २०८० बिहीबार
राजनीति

सरकारले मधेसलाई नाकावन्दी लगायोः ठाकुर

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद महन्थ ठाकुरले केन्द्र सरकारले मधेसमाथि नाकावन्दी लगाएको आरोप लगाएका छन्। बिहिबारको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुदै उनले यस्तो बताएका हुन्।

बजेट, राज्यका निकायमा प्रतिनिधित्वलगायत सबैमा मधेस उपेक्षित बन्दै गएको र नेपालको एउटा उपनिवेशको रुपमा रहेको दाबी उनले गरेका छन्। उनले भने ‘यहाँ नाकाबन्दीको कुरा सुनिन्छ तर मधेसको आर्थिक नाकावन्दी भइरहेको कहिले कसैले बोलेको छ? उसको बजेट किन कम? जनसंख्याको आधारमा उसको किन प्रतिनिधित्व छैन्। शासन प्रशासनमा कति छ? यो नाकावन्दी होइन मधेसको? मधेस नेपालको आन्तरिक उपनिवेशको रुप छ। मधेस खुला जेल छ। सबै बन्दी छ।’

त्यस्तै सरकार कानुन मार्फत मधेसी जनताको अधिकार कटौति गर्न लागेको आरोप लगाएका छन्। कानुनी रुपमा नै अधिकार कटौतिको प्रयासमा सरकार लागेको बताए। उनले भने ‘यो संविधानले एउटा विभाजन श्रृजना गरेको छ। राज्य र विभिन्न समुदायको बीचमा। एकअर्काप्रति संशकित छ। यसले पहाड र मधेसको बीचमा एउटा विभाजन रेखा कोरेको छ। जसरी यहाँ लाल बत्ती बल्ना साथ अभिव्यक्ति बन्द हुन्छ। आज कानुनद्धारा लालबत्ती बल्दैछ । हरेक कानुनमा केही न केही लाल बत्ती राखिएको छ। जो जनताको अधिकार कटौति गर्ने अवस्थामा गईरहेको छ।’

मधेसलाई अहिले पनि विभेद कायमै रहेको भन्दै उनले विभेद कायम रहेसम्म आफुहरुको विरोध जारी रहने बताए। संसदबाट त्रुटी हुदा विश्वमा तानाशाहहरु उत्पन्न भएको सन्र्दभ उल्लेख गर्दे उनले आफुहरु पनि तानाशाहहरु उत्पन्न हुने हुन् कि भनेर आशंकित बनेको बताए।

उनले भने ‘अहिले पनि मधेस संशकित छ। आतंक छ। भय छ। पीडा छ। दर्जनौ व्यक्ति मधेस आन्दोलनका कारण जेलमा छन्। सरकारको सुरक्षा निकायबाट गोली लागेर मृत्यु भएका मानिसहरुलाई शहीद घोषणा गरिएको छ। भने पक्राउ परेका मानिसहरु कसरी किन दोषी भए? क्रिमिनललाई त शहीद घोषणा गर्देन।’

राजपाले लामो समय देखि गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नका लागि संसदमा आवाज उठाईरहे पनि सुनुवाई नभएको भन्दै उनले त्यसतर्फ गम्भीर बन्न आग्रह गरे।। मलेसियमामा रहेका मानिसमाथि पनि मधेस आन्दोलनको मुद्धा चलाईएको भन्दै उनले प्रतिवेदन सार्वजनिक गरि वास्तविक दोषि माथि कारवाही गरिनुपर्नेमा जोड दिए।

प्रकाशित: ५ असार २०७६ ११:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App