१५ चैत्र २०८० बिहीबार
राजनीति

‘पारमाणविक पदार्थको अनुमति निजी क्षेत्रलाई दिन हुँदैन’

काठमाडौं–प्रतिनिधिसभाका सांसदहरूले पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग गर्ने अनुमति निजी क्षेत्रलाई नदिन सरकारलाई सचेत गराएका छन्। संघीय संसद शिक्षा तथा स्वास्थ्य समितिको बिहीबार बसेको बैठकमा सांसदहरू देवप्रसाद गुरुङ, योगेशकुमार भट्टराई र खगराज अधिकारीले पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग गर्ने अनुमति निजी क्षेत्रलाई दिने काम नगर्न सरकारलाई सचेत गराएका हुन्। 

पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रमुख सचेतकसमेत रहेका गुरुङले राष्ट्रिय सुरक्षाका निम्ति पनि सो पदार्थको प्रयोग अधिकार निजी क्षेत्रलाई दिन नहुने स्पष्ट पारे। उनले सो पदार्थको सुरक्षित प्रयोगका लागि आवश्यक अनुसन्धान केन्द्रको स्थापना गर्न पनि सरकारसँग माग गरे। 

सांसद योगेशकुमार भट्टराईले जातीय युद्धमा समेत दुरुपयोग हुन सक्ने भएकाले बिनाअध्ययन सो पदार्थको प्रयोग गर्ने व्यवस्था नगर्न सरकारलाई सचेत गराए। उनले राष्ट्रिय हित र सुरक्षालाई केन्द्रमा राखेर सरकारले ती पदार्थहरूको उपयोग गर्नुपर्ने पनि स्पष्ट पारे। 

अर्का सांसद एवम् पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले पारमाणविक पदार्थको उपयोग जथाभाबी गर्नु घातक हुने भएकाले त्यसको प्रयोग सरकारले मात्रै गर्न पाउने कानुनी व्यवस्था गर्नुपर्ने बताए। बैठकमा पारमाणविक पदार्थको प्रयोग सुरक्षित र व्यवस्थित बनाउन सरकारले ढिलाई गर्न नहुनेमा पनि जोड दिइएको थियो।
 

प्रकाशित: ५ असार २०७६ ०८:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App