८ वैशाख २०८१ शनिबार
राजनीति

सरकार पुनर्गठन हुन सक्छ : अध्यक्ष दाहाल

पोखरा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) ले फेरि एकपटक धक्का दिनेगरी पार्टी एकता टुंग्याउने तयारी भइरहेको बताएका छन्। प्रेस संगठन कास्कीले विहीबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले शुक्रबार पार्टी एकता टुंग्याएर शनिबार बस्ने सचिवालय बैठकबाट पारित गर्ने तयारी भइरहेको बताएका हुन्। शनिबार सचिवायलय बैठक बसेर पार्टी एकता समापन गर्नेतिर प्रयास भइरहेको छ–उनले भने,‘म पोखराबाट फर्केपछि शुक्रबार प्रधानमन्त्रीजीसँग कुरा गर्दैछु, हामी फेरि एकपटक धक्का दिएर जानुपर्छ र पार्टी एकताका सबैकुरा टुंग्याउनुपर्छ भन्नेमा छौं।’

अध्यक्ष दाहालले सरकार पुर्नगठन हुनसक्ने बताए। पार्टी एकता टुंग्याउँदा सरकार पनि पुर्नगठन हुनसक्ने र त्यसबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको उनको भनाई छ। प्रधानमन्त्रीसँग यसबारे छलफल भएपनि अन्तिम निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई नै भएको उनको भनाई छ।

दाहालले पार्टी एकताका बेला भएको सहमति सँधै रहिनरहन सक्ने भन्दै फेरि नयाँ सहमति पनि हुनसक्ने बताए। सरकार हस्तान्तरण गर्ने कुरा आफूले नझिकेको प्रष्ट्याउँदै उनले पहिले भएका सहमतिलाई स्मरण गर्दा अरु कुरा काटेर सरकार हस्तान्तरणलाई मात्रै हाइलाइट गरी बंग्याएर प्रचार गर्ने प्रयास भएको स्पष्ट पारे। यहाँ कहिं न कहिं, कोहि न कोहिले खेल्न खोज्या छ भन्नेकुरा देखिन्छ–उनले भने,‘मैले सरकार हस्तान्तरणको कुरा गरिरहँदा त्यो फेरिपनि अर्को सहमति भयो भने पुरानो कुरा सकिन्छ, पाँच वर्षै यहि सरकारपनि जान सक्छ भन्ने कुरा त्यतिबेलै भनेको हो, तर सरकार हस्तान्तरणको कुरालाई मात्रै प्रचारमा ल्याइनुले शंका बढाएको छ।’

उनले गुठी विधेयकलगायतका विषयमा जन असन्तुष्टि बढेको बताए। गुठी विधेयकलगायतका विधेयकहरु पर्याप्त गृहकार्यको अभाव र सरोकारवालासँग छलफल नगरी ल्याउँदा विवादित बनेको उनले बताए। उनले विधेयकमा के छ ? यसको मक्सद के हो ? भन्ने कुरा सबैलाई समयमै बुझाउन नसक्दा जनता सेन्टिमेन्टको पछि दगुरेको टिप्पणी गर्दै उनले अबका दिनमा पर्याप्त गृहकार्य र सरोकारवालासँग छलफल गरेरमात्रै विधेयक ल्याइने बताए। उनले अब गुठी विधेयक निर्माणको काम नया शिराबाट शुरु गरिने बताए।

दुई तिहाईको कम्युनिष्ट पार्टीको सरकारबाट जनताले अपेक्षा गरेअनुसारको विकास र सुशासन कायम हुन नसकेको बताए। विकासमा गति लिने र सुशासन कायम गर्ने प्रयास भइराखेकै छ–उनले भने,‘ तर जुन गतिमा हुनु पर्थ्यो, जुन अपेक्षा जनताले गरेका थिए त्यो अनुसार भएन कि भन्ने जनगुनासो सुनेका छौं, त्यसलाई पूरा गर्नपनि सरकार पुर्नगठनबारे छलफल भइरहेको छ।’ उनले यस वर्ष सरकारको नीति तथा कार्यक्रम र बजेट धेरै सन्तुलित र उत्साहप्रद ढंगले आएको बताए।

दाहालले सत्य निरुपण तथा मेलमिलाप आयोगबारे छलफल भइरहेको तर सहमति भइनसकेको बताए। उनले आयोगको पदाधिकारीमा कुन पात्र राख्ने भन्ने बारेमा सहमति नजुट्दा अयोग गठनमा ढिला भएको प्रष्ट पारे।

उनले विप्लवलाई अटेरी गरी अवाञ्छित गतिविधी गरिरहे त्यो देश र स्वयम् विप्लवका लागि राम्रो नहुने चेतावनी दिए। उल्टो बाटोबाट हिंडेर कहिं पुगिदैन–उनले भने,‘विप्लवको बाटो गलत छ, यो राज्य, स्वयम् विप्लव र उनको पार्टीको लागिपनि अहित छ।’

प्रकाशित: ५ असार २०७६ ०८:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App