१६ चैत्र २०८० शुक्रबार
राजनीति

सरकारले जनविरोधी काम गरेको छैनः मुख्यमन्त्री शाही

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीयता विरोधी समूहहरुले फैलाएजस्तो अहिलेको सरकारले कुनै पनि जनविरोधी काम नगरेको दावी गरेका छन्। उनले संघीयतालाई धरापमा पार्ने उद्देश्यसहित अर्नगल प्रचार भइराखेको बताउँदै त्यसतर्फ सचेत रहन आग्रह गरे।

मुख्यमन्त्री शाहीले मुलुकमा कानुनी शासन रहेको बताउँदै सरकारमा बस्नेहरुले भ्रष्ट्राचार गरेको पाइए कानुन बमोजिम कारवाही हुने बताए। उनले प्रदेश सरकार सुशासन कायम गर्न प्रतिवद्ध रहेको प्रष्ट्याए। ‘संसारका थुप्रै देशका शक्तिशाली प्रधानमन्त्री, राष्ट्रपतिले पनि गल्ती अनुसारको सजाय पाएका उदाहरणहरु छन्’ आइतबार वीरेन्द्रनगरमा सिभिल बैंकको कर्णाली प्रदेश कार्यालय र शाखा कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले भने, ‘नेपालमा पनि कानुनी राज्य छ, गैरकानुनी काम गर्ने जो कोहीले पनि गल्ती अनुसारको सजाय भोग्नुपर्छ।’

उनले अनावश्यक प्रचार गरेर जनतालाई निराश नबनाउन आग्रह गरे। मुख्यमन्त्री शाहीले संघीय व्यवस्थाले मात्र देशको सन्तुलित विकास हुने दावी गरे। ‘अहिले सरकारविरुद्ध जनमानसमा भ्रम श्रृजना गर्दै संघीयता नै ठिक छैन् भन्ने जनमत निर्माण गर्ने उद्देश्य अनुरुप प्रचारवाजी भइरहेको छ’ मुख्यमन्त्री शाहीले भने, ‘यसतर्फ जनता सचेत हुनुपर्ने आवश्यकता छ।’

मुख्यमन्त्री शाहीले कर्णाली संभावनाको खानी भएकाले यहाँको समृद्धि र विकासका लागि वित्तिय संस्थाहरुको महत्वपूर्ण भूमिका हुने बताए। उनले उत्पादनमूलक र रोजगारी श्रृजना गर्ने क्षेत्रमा लगानी गर्न बैंकहरुलाई आग्रह गरे। ‘बैंकहरुलाई नाफामुखी मात्रै भएको भन्ने जनगुनासो आउने गरेको छ’ मुख्यमन्त्री शाहीले भने, ‘उत्पादनमूलक र रोजगारमूलक क्षेत्रमा लगानी गर्नुहोस्।’

 

प्रकाशित: १ असार २०७६ ०९:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App