६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रधानमन्त्री विधि अनुसार नचल्दा म्यादी हुने अवस्था भो : नेता आचार्य

इटहरी– नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले प्रधानमन्त्री केपी शर्मा ओली विधि अनुसार नचल्दा सरकार पाँच वर्ष पुरा नभई म्यादीको रुपमा हुने संकेत देखिएको बताएका छन्। नेता आचार्यले प्रधानमन्त्री ओली संविधानको मर्मलाई प्रहार गरि पार्टीभित्र समेत परामर्श नगरी एकलौटी ढंगले अघि बढेकाले गर्दा अर्का अध्यक्ष पुष्पकमल दाहालले अब एक वर्षपछि आफू प्रधानमन्त्री बन्ने घोषणा गरेको टिप्पणी गरे।

‘प्रधानमन्त्री ओलीको विपक्षीसँग त परामर्श गर्ने संस्कार नै छैन’, केन्द्रीय सदस्य आचार्यले विहीबार इटहरीमा प्रेस यूनियन सुनसरीले आयोजना गरेको संवाद कार्यक्रममा भने, ‘आफ्नै पार्टीभित्र परामर्श नगर्दा अर्का अध्यक्षले अब एक वर्षपछि प्रधानमन्त्री हुने घोषणा गरेका हुन्।’ उनले आफ्नो पार्टी, विपक्षी र सरोकारवालासँग संवाद तथा परामर्श नगरि अघि बढ्दा देशमा स्थायीत्व नआउने बताए। 

‘प्रचण्डद्धारा एक वर्षपछि प्रधानमन्त्री हुने ठोकुवा गरिएको छ। संविधानमा दुई वर्षसम्म कुनै पनि प्रधानमन्त्रीलाईं अविश्वासको प्रस्ताप राख्न पाइदैन् भनेर लेखिएको छ। काँग्रेसले प्रधानमन्त्रीलाईं कुर्सी छाडनुहोस् भनेर भनेको छैन,’ उनले भने, ‘सत्तारुढ पार्टीकै तर्फबाट अविश्वासको प्रश्न उठ्यो।’ उनले पाँच वर्षसम्म प्रधानमन्त्री हुन्छ भन्ने प्रधानमन्त्रीको एउटा हैसियत हुने भए पनि अब एक वर्षमा प्रधानमन्त्री छाडनुपर्छ भन्दा म्यादीको हैसियत हुने जिकिर गरे। 

‘हुन त सत्तारुढ पार्टीको अध्यक्षबाट जुन कुरा भएको छ, संविधान त गलत छ,’ उनले भने। उनले अहिलेका प्रधानमन्त्री ओलीमा फिटिक्कै राजनीतिक संस्कार नभएको उनले जिकिर गरे।  

‘दुई तिहाईंबाट स्थायीत्व आउने होइन्। स्थायीत्व संवादबाट आउने हो। स्थीरता आउनका लागि सबैभन्दा मुख्य कुरा विधिको शासन हो। विधि अनुसार नचल्दा तीन चौथाईंकै सरकार भए पनि टिक्दैन्,’ उनले भने। उनले स्थिरता आउनका लागि सुशासन र भ्रष्टाचारमुक्त शासनको प्रत्याभूति हुनुपर्ने बताए। 

‘अस्थिरता प्रधानमन्त्री ओलीको आफ्नै पार्टीबाट आएको छ। त्यसको कारण एउटै हो, प्रधानमन्त्रीले परामर्श नगर्नु। विपक्षीसँग परामर्श नगरेको मात्र चिन्ता होइन्, परामर्शको राजनीतिक संस्कृति, सरोकारवालासँग संस्कारको राजनीति, ओलीले टुटाउनुभएको छ’, आचार्यले भने। प्रधानमन्त्री ओलीले एकै चोटी संविधानको एकपछि अर्को धारालाई भत्काउँदै गएको उनले बताए। 

उनले काँग्रेस पार्टीको पनि नेतृत्वमा राजनीतिक संस्कार नभएको बताए। ‘पार्टी नेतृत्वको राजनीतिक संस्कार छैन्,’ उनले भने, ‘अबको नेतृत्वका लागि नेता–कार्यकर्ताबीच वहस हुनु आवश्यक छ।’ 

काँग्रेसको नेतृत्व चाहीँ वीपीको राजनीतिक संस्कार, गणेशमानको जस्तो राजनीतिक त्याग, कृष्णजुको जस्तो सादा, गिरिजाप्रसाद र सुशीलजस्तो पूरा जीवन पार्टीका निम्ति सम्पर्ण भएको व्यक्ति हुनुपर्ने बताए।

संवाद कार्यक्रममा नेपाली काँग्रेस प्रदेश नं. १ का प्रमुख प्रतिपक्षीय दलका संसदीय दलका नेता राजीव कोइराला, संघीय सासद सीताराम मेहतालगायतले बोलेका थिए। 

प्रकाशित: ३० जेष्ठ २०७६ १४:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App