८ वैशाख २०८१ शनिबार
राजनीति

ओलीद्वारा नेपाल, भारत र बेलायतबीचको सन्धि पुनरावलोकनको प्रस्ताव (भिडियो)

लन्डन– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल, भारत र बेलायतबीचको सन्धि पुनरावलोकन गर्न बेलायती समकक्षी थेरेसा मेसँग प्रस्ताव गरेका छन्। बेलायतको प्रधानमन्त्री कार्यालयमा मंगलबार साँझ भएको भेटमा ओलीले नेपाल बेलायत सम्बन्धको महत्वपूर्ण कडिको रुपमा रहेको बेलायती गोर्खाको समस्याको बारे पनि कुरा राखेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

‘प्रधानमन्त्री ओलीले नेपाल भारत र बेलायतबीचको त्रिपक्षीय सन्धिलाई पुनरावलोकन गर्नुपर्ने र ब्रिटिस गोर्खाका समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गरेर दुबै देशको सम्बन्धलाई प्रगाढ बनाउने कुरामा बेलायती समकक्षीको ध्यानाकर्षण पनि गराउनुभयो’, ज्ञवालीले भने। जवाफमा बेलायती प्रधानमन्त्रीले ब्रिटिस गोर्खा र सन्धि पुनरावलोकन जस्ता विषयलाई गम्भीरताका साथ लिँदै छलफल गरेर अघि बढ्ने कुरा व्यक्त गरेको मन्त्री ज्ञवालीले बताए।

दुई राष्ट्राध्यक्षबीच मैत्रीपूर्ण सम्बन्धको समग्र समीक्षा भएको र सम्बन्धको स्तरप्रति सन्तोष व्यक्त गरिएको उनको भनाई छ। प्रधानमन्त्री ओलीले नेपालले हालसालै प्राप्त गरेका राजनीतिक उपलब्धीको व्याख्या गर्दै राजनीतिक संक्रमण सकिएर नेपाल आर्थिक विकासमा केन्द्रीत रहेको तथा खासगरी सुखी नेपाली, समृद्ध नेपाल बनाउन अबलम्बन गरिएका नीतिबारे बेलायती समकक्षीलाई जानकारी गराएका थिए। नेपालको विकासमा बेलायतको बृहत्तर सहयोगको आग्रह गर्दै ओलीले विकासका चाहना र यात्रामा अहिलेसम्म निरन्तर गर्दै आएको सहयोगका लागि धन्यवाद र आभार व्यक्त गरे।

नेपालको लोकतन्त्र, मानवअधिकार, जनताका अधिकार कसरी सुदृढ गर्दै लगिएको छ भन्नेबारे पनि ओलीले जानकारी गराएका थिए। प्रत्युत्तरमा बेलायती प्रधानमन्त्री मेले नेपालले हासिल गरेका उपलब्धीका निम्ति बधाई दिँदै नेपालको विकासमा बेलायतको दृढ समर्थन र ऐक्यबद्धता रहेको प्रतिबद्धता व्यक्त गरिन्। दुई नेताबीच मानवअधिकारको सुदृढिकरणको लागि गर्न सकिने सहयोगका बारेमा कुराकानी भएको थियो। ‘दुई प्रधानमन्त्रीको छलफलले समग्र सम्बन्धको पुनरावलोकनका साथ सहयोगका क्षेत्रहरुलाई उजागर गर्नलाई मद्दत पुगेको ठानेका छौं’, मन्त्री ज्ञवालीले भने।

 

प्रकाशित: २८ जेष्ठ २०७६ १३:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App