६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रदेश सरकारलाई खेलौना उपहार !

सुर्खेत– दुई करोड बढी रुपैयाँ रकमान्तर गरेर ५४ वटा गाडी गरिद गरेको विरोधमा साझा विवेकशील पार्टी कर्णाली प्रदेश कमिटीले कर्णाली प्रदेश सरकारलाई खेलौना कार उपहार प्रदान गरेको छ। साझा विवेकशील पार्टी कर्णाली प्रदेशका संयोजक गेहेन्द्रप्रसाद दहालले विकास बजेट खर्च गर्न नसक्नु प्रदेश सरकारको असफलता भएको भन्दै विरोध स्वरुप खेलौना कार उपहार दिइएको बताए। नागरिकले दुई करोडबढी रकमान्तर गरेर गाडी खरिद गरेको समाचार प्रकाशित गरेको थियो। 

साझा पार्टीका प्रदेश संयोजक दहालले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मंगलबार ध्यानाकर्षपत्र बुझाउँदै प्रदेशका गरिब जनताको तर्फबाट भन्दै रातो कार (खेलौना) बुझाएका थिए। ‘गरिब प्रदेशका जनताको आर्थिक अवस्था सुधारका लागि काम गर्नुको सट्टा रकमान्तर गरेर ५४ वटा गाडी खरिद गरेको समाचार आएपछि हामीले प्रदेश सरकारलाई व्यङ्ग्यात्मक रुपमा खेलौना कार मुख्यमन्त्रीलाई उपहार दिएका हौं’, उनले भने, ‘कर्णाली प्रदेश सरकारले जनताको पक्षमा काम गर्न नसकेको यो एउटा उदाहरण हो।’ प्रदेश सरकारले हालसम्म विकास बजेटको ७.३७ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ। ‘प्रदेशका गरिब नागरिकको जीवनस्तर उकास्न बजेट खर्च गर्नुको साटो खर्च नभएको बजेट रकमान्तर गरी गाडी किन्ने सरकारी योजना यहाँका जनतामाथिको धोका हो’ संयोजक दहालले भने, ‘त्यसैले व्यङ्ग्यात्मक रुपमा खेलौना कार दिएका हौं।’

विवेकशील साझा पार्टीले प्रदेशका बेरोजगार युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्नेगरी बजेट विनियोजन गर्न प्रदेश सरकारसँग माग गरेको छ। मुख्यमन्त्री शाहीलाई ध्यानाकर्षणपत्र बुझाउँदै विवेकशीलले बेरोजगार युवाहरुलाई प्रशस्त रोजगारीको अवसर सिर्जना गर्न र उनीहरुको क्षमता र सीप विकासका लागि व्यापक बजेट विनियोजन गर्न माग गरेको हो।

कर्णाली प्रदेशमा मेडिकल कलेज स्थापना गर्न र सरकारी अस्पतालहरुलाई मानव स्रोत तथा भौतिक रुपमा सम्पन्न बनाउन बजेट विनियोजन गर्न पनि माग गरेको छ। ध्यानाकर्षणपत्रमा कर्णाली प्रदेशका नागरिकहरुको शिक्षा, स्वास्थ्य क्षेत्रका सम्पूर्ण सेवाहरु पूर्णरुपमा निः शुल्क गर्ने ग्यारेण्टी गर्नुपर्ने, प्रदेशमा सञ्चालित साना तथा मझौला उद्योगहरुको उत्पादन क्षमता वृद्धि गरी निर्यातमुखी आर्थिक नीति अपनाउनुपर्ने, आर्थिक बर्षको अन्त्यमा मात्र बजेट खर्च गर्ने परिपाटी अन्त्य गर्नुपर्ने मागसमेत प्रदेश सरकारसँग गरेको छ।

प्रकाशित: २८ जेष्ठ २०७६ १२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App