१६ चैत्र २०८० शुक्रबार
राजनीति

गुट अन्त्यको सुझाव

एकमहिने जनजागरण अभियानको अन्तिम दिन नेपाली कांग्रेसले नेपालगन्जमा आयोजना गरेको -याली। तस्बिर: जी थापा/नागरिक

गणेश विशु
नेपालगन्ज - नेपाली कांग्रेसले सञ्चालन गरेको एकमहिने जागरण अभियानमा कार्यकर्ताहरूले पार्टीको सुदृढीकरणसँगै गुट अन्त्यका लागि सुझाव दिएका छन्। अन्य दलभन्दा आफ्नै दलको गुटले कांग्रेसलाई घाटा भएको भन्दै उनीहरूले गुट अन्त्य र पार्टी सुदृढ नभए झन् कमजोर हुँदै जाने बताएका छन्। संघ, प्रदेश र स्थानीय तहको चुनावमा पनि कांग्रेसभित्रकै अन्तरघातले पार्टी कमजोर भएको नेपाली कांग्रेस बाँकेका नारायणप्रसाद सिग्देलले बताए।

‘कांग्रेस यति कमजोर हुने थिएन,’ उनले भने, ‘कांग्रेसभित्रकै अन्तरघातले कमजोर भएको हो।’ पार्टीभित्रको दुई लाइन संघर्ष र ससाना गुटले पार्टीले ठूलो हार बेहोर्नुपरेको उनको भनाइ छ। ‘पार्टी दोस्रो दल हुने निश्चित थियो,’ उनले भने, ‘तर हैसियतप्राप्त हुन्थ्यो, यस्तो कमजोर होइन।’ चुनावका बेला पार्टीभित्रकै अन्तरघातले चुनाव हारेको भन्दै विभिन्न जिल्लामा आफूलाई हराउन सहयोग गर्नेविरुद्ध निवेदनसमेत परेका थिए। ‘कांग्रेस हार्दा पनि व्यक्ति नहार्ने परम्परा कायमै छ,’ नेपालगन्जका भीम केसीले भने, ‘कांग्रेस हारको जिम्मेवारी कसले लिने भन्नेमा अल्झेको छ। आगामी महाधिवेशनमा को बलियो भन्ने विषयमा नेताहरू एकअर्काप्रति आरोप–प्रत्यारोपमा उत्रिएका छन्।’ यसले हारेको कांग्रेस ब्युँझन नसक्ने उनको भनाइ छ। अहिले कांग्रेसले ठूलो हार बेहोरेको भन्दै उनले नेताले हार्नु स्वाभाविक भए पनि पार्टीले हार्न नहुने बताए।

नेताहरू गुटको राजनीति त्यागेर जनतासामु जानुपर्ने कार्यकर्ताहरूको सुझाव छ। कतिपय कार्यकर्ताले यो अभियान आगामी महाधिवेशनलाई लक्षित गरेर आएको समेत आरोप लगाएका छन्। जागरण अभियानमा आएका प्रमुख वक्ताको भाषणका आधारमा यो सत्यजस्तै साबित हुन्छ। प्रदेश ५ र कर्णाली जिल्ला पुगेका विभिन्न प्रमुख वक्ताले जिल्ला गर्न सकिने काम, केन्द्रले गर्न सक्ने सम्भावनाभन्दा पार्टी नेतृत्व र पार्टीका अन्य नेताहरूको आलोचना आएको थियो।

कार्यकर्ताबाट हारको जिम्मा सबै नेताले आ–आफ्नो ठाउँबाट लिनुपर्ने सुझाव दिएको नेपाली कांग्रेसका नेता तथा प्रदेश ५ का संसदीय दलका नेता सुरेन्द्र हमालले बताए। पार्टी हारको जिम्मा नलिई नेता पन्छिनु भनेको कार्यकर्ता कमजोर मानसिकतामा पुग्नु भएको भन्दै हार स्वीकारलाई ठूलो विषयवस्तु बनाउन नहुने सुझाव आएको उनको भनाइ छ। यो अभियानले जनता र कार्यकर्ताबीच नजिकको सम्बन्ध स्थापित गरेको उनको भनाइ छ। नेपाली कांग्रेसले सञ्चालन गरेको जागरण अभियान कांग्रेसको मात्र नभई सबै जनता सहभागी भएको उनले बताए।

‘सरकारले जनताको अपेक्षानुसार काम गर्न नसकेको र प्रतिपक्षले त्यसविरुद्ध कदम उचाल्न नसकेको सुझाव आएका छन्,’ उनले भने, ‘अब हामी नयाँ सिराबाट जान्छौं।’ नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालाले जनतामा केही निराश भए पनि यो अभियानले केही अपेक्षा र उत्साह दिएको बताइन्। पार्टीमा गुट स्वाभाविक भए पनि छताछुल्ल हुन नहुने नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद तिलकसिंह परियारले बताए। पार्टीभित्रको गुटको राजनीति अन्त्य नहुँदासम्म कांग्रेस सुदृढ हुन नसक्ने कार्यकर्ताहरूको सुझाव छ।

प्रकाशित: २८ जेष्ठ २०७६ ०१:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App