८ वैशाख २०८१ शनिबार
राजनीति

अरुको नक्कल गरेर समाजवाद प्राप्त हुन्न : झलनाथ खनाल

खोटाङ– नेकपाका नेता एबं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा समाजबाद प्राप्त गर्न अरु देशको नक्कल गर्न नहुने बताएका छन्। खोटाङमा शनिबार नेकपाको दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटीलाई शपथ खुवाउनेक्रममा सम्बोधन गर्दै नेता खनालले नेपालको आफ्नै विशेषता भएकाले अरुको नक्कल गरेर समाजवादमा पुग्न नसकिने बताएका हुन्।

‘नेपालको आफ्नै विशेषता छ। कसैको नक्कल गर्नुहुँदैन। कसैले दिएको सुत्रले आफ्नो देश बन्दैन। नयाँ बाटोबाट अगाडि बढ्नुपर्छ’, पूर्वप्रधानमन्त्री खनालले भने, ‘समाजवाद कसरी निर्माण गर्ने भन्ने विषयमा अन्तर्राष्ट्रिय अभ्यासको पनि अध्ययन चैं गर्नुपर्छ। तपाईहरुले अध्ययन गर्नुहोस्। अनि मात्र आफूले के गर्ने हो त्यो गर्न सकिन्छ। त्यसले आफ्नो र देश दुबैको विकास गर्छ।’ नेता खनालले कम्युनिस्ट पार्टीको नेतृत्व बिना नेपालमा समाजवाद सम्भव नभएको बताए। 

उनले आफ्नो क्षेत्राधिकार भित्रको स्थानीय सरकारलाई मार्ग निर्देश गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए। ‘हरेक स्थानीय तहले आफ्नो नीति तथा कार्यक्रम बनाएर अगाडि बढिसकेको छ,’ खनालले भने, ‘हरेक कमिटिले आफ्नो अधिकार क्षेत्रभित्रको सरकारलाई मार्ग निर्देश गर्न सक्नुपर्छ। पार्टी कमिटी भनेको टाउको हो। पुच्छरले टाउको हल्लायो भने ठीक हुँदैन।’ उनले सिद्धान्त, इतिहास तथा कमन भाषा, संस्कार, संस्कृतिको अध्ययन गर्न कार्यकर्तालाई निर्देशन दिए। 

खनालले हाल नेकपाको पार्टी कमिटीलाई भद्धा बनाइएको टिप्पणी गरे। उनले बैठक नै राख्न नसकिने गरी बनाइएको कमिटीले पार्टीलाई बिघटनको दिशामा लैजाने खतरा औंल्याए। ‘अहिले धेरै कमिटी भद्धा बनिरहेको छ। यस्तो भद्धा कमिटीमा जीवन्त छलफल गर्न सकिन्न। राष्ट्रिय महाधिवेशनसम्म ठूलो कमिटी हुन्छ। त्यसपश्चात विधान बनाएर केन्द्रीय कमिटीदेखि तल्ला कमिटीको साइज घटाउनुपर्छ,’ खनालले भने, ‘हरेक कमिटी बैठक राख्न सकिनेगरी निर्माण गर्नुपर्छ। बैठक नै राख्न नसकिनेगरी भद्धा कमिटी बनाइए पार्टी बिघटनको बिकल्प हुँदैन। कमिटी सानो बनाउनुपर्छ।’

प्रकाशित: २५ जेष्ठ २०७६ १४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App