१६ चैत्र २०८० शुक्रबार
राजनीति

‘हाइकमान्ड’ लाई हतारो,नेता–कार्यकर्ता अन्योलमा

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति सार्वजनिक भएसँगै पार्टीभित्र महाधिवेशनको विषयले पनि चर्चा पाउन थालेको छ। पार्टी एकीकरण भएको एक वर्ष बित्दासम्म कुनै जिम्मेवारी नपाएका केन्द्रीय सदस्य केन्द्रीय समितिको दोस्रो बैठक नै नबसी ‘हाइकमान्ड’ बाटै जिल्ला अधिवेशन र केन्द्रीय महाधिवेशनको कुरा उठाइएपछि अन्योलमा परेका छन्।

पार्टी एकीकरणपछि निर्वाचन आयोगमा दल दर्ताका लागि गत वर्ष जेठ १० गते प्रधानमन्त्रीनिवास बालुवाटारमा केन्द्रीय समितिको बैठक बसेको थियो। त्यतिबेला बिनाअजेन्डा केन्द्रीय सदस्यलाई नागरिकताको फोटोकपी ल्याएर आउन सूचना गरिएको थियो। स्थायी समिति बैठक पनि पार्टी एकतापछि एकपटक मात्र बसेको छ। पुस २ गते स्थायी समितिको बैठक बसेको थियो।

तर केन्द्रीय समिति र स्थायी समितिमा अजेन्डा प्रवेश नगराईकन पार्टी अध्यक्षद्वयमध्ये एक पुष्पकमल दाहालले जिल्ला समिति गठनको एक वर्षभित्र जिल्ला अधिवेशन र त्यसपछि महाधिवेशन हुने बताएपछि पार्टीभित्र तरंग फैलिएको छ। जिल्ला समिति गठन भइसकेका छन्। दाहालको अभिव्यक्तिपछि पार्टीमा महाधिवेशनताका हुने बहस अहिलेबाटै सुरु भएको छ। अधिवेशन र महाधिवेशनको पक्ष र विपक्षमा अभिव्यक्ति आउन थालेका छन्। यसमा सचिवालय सदस्य ईश्वर पोखरेल अग्रपंक्तिमा देखिएका छन्। पार्टीका अर्का नेता वामदेव गौतमले पनि महाधिवेशनको चर्चालाई साथ दिन थालिसकेका छन्।

पोखरेल र गौतम दुवैजना महाधिवेशनको पक्षमा छन् तर उनीहरू पार्टीभित्रको वैचारिक बहसमा दाहालको विपक्षमा उत्रिएका छन्। दाहालले जबज (जनताको बहुदलीय जनवाद) लाई पुरानो र यथास्थितिवादको जडता भएको भनेपछि त्यसको प्रतिवाद गदैै पोखरेरले जबज नै श्रेष्ठ राजनीतिक विचार भएकोे दाबी गर्दै आएका छन्। तत्कालीन एमालेका नेता जबजको पक्षमा छन् भने माओवादी केन्द्रका नेता ‘एक्काइसौं शताब्दीको जनवाद’ को पक्षमा छन्। पार्टी एकताका बेला यी दुई विषयको टुंगो महाधिवेशनबाट लगाउने सहमति भएको थियो।

हाइकमान्डमा महाधिवेशनको चर्चा चलेको विषयमा केन्द्रीय सदस्यले अनभिज्ञता प्रकट गरेका छन्। पार्टी एकीकरण प्रक्रिया नसकिएको, केन्द्रीय सदस्यबीच आपसमा परिचयसमेत हुन नपाएको र केन्द्रीय वा स्थायी समिति बैठक दोस्रोपटक बस्न नसकेको अवस्थामा महाधिवेशनको विषय बहसमा ल्याउनु ठीक नभएको केन्द्रीय सदस्य बताउँछन्। उनीहरुले पार्टीको लक्ष्य, उद्देश्य, कार्यदिशाबारे अहिलेसम्म जानकारी नभएको र राजनीतिक प्रतिवेदनसमेत तयार नभएको अवस्थामा जिल्ला अधिवेशन वा महाधिवेशनको कुरा उठाएर कार्यकर्तापंक्तिमा अन्योल सिर्जना भएको बताएका छन्।

पार्टी सचिवालयमै छलफल नभईकन जिल्ला अधिवेशन वा महाधिवेशनबारे नेताहरुले आफूखुसी अभिव्यक्ति दिन थालेका छन्। सचिवालयका एक सदस्यका अनुसार अध्यक्ष दाहालले जिल्ला अधिवेशन र महाधिवेशनबारे सचिवालयमा छलफल नै नगरी अभिव्यक्ति दिएका हुन्। ‘उहाँ (दाहाल) ले यो विषयमा कसरी अभिव्यक्ति दिइरहनु भएको छ। आगामी सचिवलाय बैठकमा छलफल हुन्छ। पार्टी एकीकरण र कार्यविभाजन तथा अन्य धेरै काम गर्न बाँकी नै छ। कतिपय सन्दर्भमा हामी पनि सहभागी कार्यक्रममा उहाँले त्यो कुरा बोल्नुभयो। त्यसबारे पनि छलफल गर्नुपर्छ’, सचिवालयका ती सदस्यले भने।

स्थायी समिति बैठक दोस्रोपटक बस्न नसकेको अवस्थामा हतारोमा अधिवेशन र महाधिवेशनको कुरा उठाएर अन्योल सिर्जना गर्ने काम भएको पनि ती सदस्यले बताए। ‘अधिवेशन वा महाधिवेशनका आफ्नै प्रक्रिया हुन्छन्। यतिबेला जनसंगठनहरुको संयोजक र सहसंयोजक बनाएर पार्टी एकीकरणलाई अन्तिम चरणमा पु¥याइएको छ तर त्यसको नीतिगत निर्देशन केही भएको छैन। धेरै काम गर्न बाँकी नै छ। यस्तो बेलामा अधिवेशन र महाधिवेशनको कुरा किन चर्चामा ल्याइएको छ भन्ने बुझ्न सकिएको छैन,’ ती सदस्यले भने।

स्थायी समिति सदस्य मुकुन्द न्यौपाने जिल्ला अधिवेशन र केन्द्रीय महाधिवेशन अहिलेलाई अलि टाढाको विषय भएको बताउँछन्। उनका अनुसार दुई पार्टीका कार्यकर्ता घुलनशील नभएको अवस्थामा अधिवेशन र महाधिवेशन गर्ने विषयले आवश्यकताभन्दा बढी चर्चा भएको छ। ‘अहिले दुई पार्टी एकीकरण भएको एक वर्ष पुग्यो। एकीकृत पार्टीको बैठक केन्द्रमा एक÷दुईपटकभन्दा बस्न सकेको छैन। बैठक नबसी अधिवेशनबारे छलफल हुँदैन। अधिवेशनका लागि मापदण्ड चाहिन्छ। त्यसकारण यो विषय अलि टाढा होला कि भन्ने मलाई लाग्छ’, न्यौपानेले भने।

केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बेला न कुबेला अधिवेशनको कुरा उठाइएको बताए। उनले भने, ‘पार्टी एकीकरणका कतिपय कार्य बाँकी नै छन्। राजनीतिक प्रतिवेदन छैन। केन्द्रीय समितिको बैठक एकपटकबाहेक बस्न सकेको छैन। स्थायी समितिको बैठक पनि एकपटक मात्रै बसेको छ। यस्तो अवस्थामा जिल्ला अधिवेशन वा केन्द्रीय महाधिवेशन उठाएर कार्यकर्तामा भ्रम सिर्जना गर्ने काम भएको छ।’ उनका अनुसार पोलिटब्युरो गठन नहँुदा केन्द्रीय सदस्यको कार्यविभाजन रोकिएको र यसले गर्दा नेतृत्व नै असफल भएको आरोप लागेको छ।

खतिबडाले प्रधानमन्त्रीको काँध फेर्ने कुरा र महाधिवेशनको कुरा एकैपटक चर्चामा ल्याइनुले केही स्वार्थ समूहले पार्टीभित्र खेल्न खोजेको आभास भएको बताए। ‘प्रधानमन्त्रीको काँध जुनबेला फेर्ने हो त्यहीबेला कार्यान्वयन चरणमा गए भैहाल्छ। दुई अध्यक्षबीच भएको सहमतिलाई अहिले छरपस्ट पारेर पार्टी र सरकार दुवैमा अन्योल उत्पन्न गराउन खोज्नु राम्रो होइन’, खतिवडाले भने।

अर्का केन्द्रीय सदस्य ठाकुर गैरेले देशभरका कार्यकर्तालाई पार्टी नेतृत्वले एकताबद्ध बनाएर लान नसकेको बताए। पार्टीका तर्फबाट सरकारलाई सहयोग गर्न सक्ने आधार नै नभईकन जिल्ला अधिवेशन वा महाधिवेशनको चर्चाले केन्द्रीय सदस्य नै अन्योलमा परेको बताए। ‘राजनीतिक प्रतिवेदन, पार्टीको लक्ष्य उद्देश्य र दृष्टिकोण बनेको छैन। एकीकरणका काम बाँकी नै भएको अवस्थामा सरकार परिवर्तन वा अधिवेशनको कुरा उठाउनुको कुनै अर्थ छैन’, गैरेले भने, ‘महत्वपूर्ण काम बाँकी छन्। जनसंगठन एकीकरण गाइडलाइन बाँकी नै छ। यस्तो अवस्थामा नेताहरु महाधिवेशनको चर्चामा लाग्नु भनेको व्यर्थैमा समय खर्चनु मात्रै हो।’ पार्टीका अधिवेशन र महाधिवेशनबारे अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने बोलका छैनन्।

प्रकाशित: २० जेष्ठ २०७६ ००:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App