८ वैशाख २०८१ शनिबार
राजनीति

किरात संकीर्ण जातिवाद होइन : दाहाल

धरान - पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले किरात संकीर्ण जातिवाद नभई सभ्यता, मनोविज्ञान र गौरवशाली इतिहास भएको बताएका छन्। साथै, उनले प्रदेश १ को नाम किरात राख्न पार्टीमा पनि सर्वसम्मत निर्णय होस् भन्ने चाहिरहेको बताएका छन्। शनिबार धरान १७ स्थित साकेला पार्कमा आयोजित साकेला उभौली समापन समारोहमा बोल्दै दाहालले नेपाल राष्ट्र निर्माणमा पनि किरातीको ऐतिहासिक र युगन्तकारी भूमिका रहेको बताए। नेपाल निर्माणमा किरातीको युगन्तकारी भूमिका कसैले मेटाउन चाहेर पनि मेट्न नसक्ने उल्लेख गर्दै उनले यसलाई सर्वसम्मतिबाटै स्थापित गर्न चाहिरहेको उल्लेख गरे।

‘हामीले दुई पार्टी एकता गर्दा हरेक विषय सर्वसम्मतबाट नै टुंग्याइरहेका छौं, किराती इतिहास र सभ्यतालाई स्थापित गर्ने विषय पनि पार्टीको सर्वसम्मत निर्णय होस् भन्ने हाम्रो चाहना छ,’ अध्यक्ष दाहालले भने, ‘प्रदेशसभामा पनि बहुमत र अल्पमतले भन्दा पनि प्रदेशसभाका सदस्यबाट सर्वसम्मतिले होस्।’

अध्यक्ष दाहालले आफ्नो आन्दोलन, इतिहास र जनयुद्धको प्रसंग कोट्याउँदै विभिन्न जातजातिको पहिचान र अधिकार स्थापित हुनुपर्छ भन्ने मान्यताबाट अझै पनि पछि नहटेको जिकिर गरे। ‘मैले के चाहन्छु भन्ने तपार्इंहरूलाई थाह छ। मेरो इतिहास, मेरो आन्दोलन, मैले गरेको लडाइँ सबैले विभिन्न जातजातिको पहिचान र अधिकार स्थापित हुनुपर्छ भन्ने कुरा मेरो दिमागमा कहीकतै कन्फ्युजन छैन,’ उनले भने, ‘तर यो विषय मेरो मात्र नहोस्, यो विषय कमरेड केपी ओलीको, कमरेड शेरधन राईको, प्रदेशसभामा सबै सदस्यको र तपार्इं हामी सबैको होस्।’ किरातीहरूले इतिहासमा काठमाडौंसम्म पुगेर आफ्नो संस्कृति, कला र क्षमता स्थापित नगरेको भए नेपाल राष्ट्र बन्न सम्भव नभएको दाहालको कथन थियो। किराती सभ्यता र इतिहास बाहुन क्षेत्री समुदायको अस्तित्वसँग पनि जोडिएको उल्लेख गर्दै उनले भने, ‘त्यसकारण हामीले भन्यांै, अबको संविधानमा सबैको पहिचान झल्कनु प¥यो, सबैको प्रतिनिधित्व हुनुप¥यो भन्नुको तात्पर्य त्यही हो।’

किरातको भावना, इतिहास किरातीको मात्र नभएर नेपालकै भएको धारणा राख्दै उनले किरातलाई इतिहास र सभ्यताका रूपमा स्थापित गर्नुपर्ने बताए। ‘जातीय पहिचानको सबभन्दा उग्रविरोधी शासकले पनि एउटा कुरा इन्कार गर्न सकेनन्, अरु सबैलाई पन्छाए तर किरातलाई पन्छाउन सकेनन्। त्यसैले उनीहरुले वल्लो किरात, पल्लो किरात, माझ किरात भन्नै प¥यो,’ दाहालले भने, ‘अब हामी कम्युनिस्टहरू जो उत्पीडित जातिलाई सम्मान दिने, पहिचान दिनेवाला छौं, के हामी पृथ्वीनारायण शाहभन्दा पनि पछि हटेर किरात नै हटाउन सक्छौं त ? कदापी सक्दैनौं, सक्नुहुँदैन।’

प्रदेश १ को नाम किरात राख्ने विषयमा छलफल भइराखेको दाहालले बताए। ‘मलाई विश्वास छ, अहिले मुख्यमन्त्रीजीले पनि यहाँका जनताको भावना झन् राम्रोसँग बुझ्नु भएको छ। किरातको इतिहास र सभ्यतालाई सम्मान गर्नेगरी सहमति हुनुपर्छ,’ उनले भने, ‘किरातलाई अपमान गर्ने, किराती जनतालाई विभेद गर्ने सहमतिलाई सहमति भनिँदैन। सहमति यो सभ्यतालाई स्थापित गर्ने कुरा मात्र सहमति हुन सक्दैन। त्यसको पक्षमा वातावरण बनाउने कुरामा मात्र सहमति हुन सक्दछ।’

नामकरणको विषयमा १ प्रदेशमा पार्टीले ह्विप नलगाउने पनि अध्यक्ष दाहालले खुलाए। दुवै अध्यक्षबीचमा प्रदेशमा ह्विप नलगाउने विषयमा समझदारी भएको उनको भनाइ थियो। ‘हामी दुवै अध्यक्ष यो प्रदेशमा ह्विप लगाउने पक्षमा छैनौं, यो कुरा बुझिराख्नु होला। ह्विप लगाएर यही गर भन्नुहँुदैन भन्नेमा हाम्रो समझदारी छ,’ दाहालले भने, ‘यो तपार्इं हामी सबैको लागि खुसीको कुरा हो। त्यसकारण किरातलाई इतिहास, सभ्यता, अर्थतन्त्र, राजनीति, संस्कृति सबैको रूपमा बुझेर एउटा सर्वसम्मत ढंगले यसलाई नामकरण र स्थापित गर्ने कुरामा हामी एकजुट हौं।’

‘केपीजी ५ वर्षसम्मै जान सक्नुहुन्छ’
नेपकपा अध्यक्ष पुष्पकमल दाहालले सरकार परिवर्तन अहिलेको अजेन्डा नभएको बताएका छन्। गणतन्त्र दिवसका दिन उनले दिएको एक अन्र्तवार्तामा केपी शर्मा ओली र आफूबीच सरकारको नेतृत्व आलोपाले गर्ने सहमति भएको सन्दर्भले सरकार परिर्वतन हुने चर्चाले राजनीतिक वृत्त तात्तिएका बेला उनले सो कुरा बताएका हुन्। भारतको दिल्लीबाट फर्कदै गर्दा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पनि सरकारको आयु २÷४ दिन मात्र भएको अभिव्यक्ति दिएका थिए।

शनिबार धरानमा दाहालले भने अन्र्तवार्तामा आफ्नो भनाइलाई पूरा नराखेर अतिरञ्जित बनाएको प्रतिक्रिया दिए। ‘मैले पार्टी एकता गर्दा हामीले गरेको सन्दर्भको कुरा गरेको थिएँ र एउटा समझदारी बनाएर केपीजी ५ वर्षसम्म नै जानसक्नुहुन्छ भनेको थिएँ, यो पक्ष चै हाइलाइट भएन र आलोपालो भन्ने मात्र मिडियामा आयो,’ पत्रकारहरूसँगको संक्षिप्त भेटमा उनले भने, ‘यो कुरा त पहिला नै मिडियामा आइसकेको हो। किताब पनि छापिइसक्यो, नयाँ कुरा होइन। मैले पहिलोपटक बोलेको कुरा पनि होइन।’

अहिले सुशासन, विकास र समृद्धि राष्ट्रिय आवश्यकता भएको बताउँदै अध्यक्ष दाहालले सबैले त्यतातिर नै ध्यान दिनुपर्ने बताए। ‘अहिलेको आवश्यकतासहित मैले जोड दिएर भन्ने कुरा सुशासन, विकास नै हो। भ्रष्टचारमुक्त प्रशासन दिने कुरामा केन्द्रित हुनुपर्ने हुन्छ,’ उनले भने भने, ‘जनताको गुनासो सकरात्मक ढंगले सुन्नुपर्ने हुन्छ, सम्बोधन गर्नुपर्ने हुन्छ। यस विषयमा हामी दुई अध्यक्ष र सचिवालयमा पनि सकरात्मक ढंगले गम्भीर छलफल गरिराख्या छौं।’

प्रकाशित: १९ जेष्ठ २०७६ ०२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App