१५ चैत्र २०८० बिहीबार
राजनीति

डिजाइन एकातिर, सडक अर्कोतिर

खोटाङ - खोटाङका स्थानीय तहका जनप्रतिनिधिले पुष्पलाल मध्यपहाडी लोकमार्गको काममा चरम ढिलासुस्ती र गुणस्तरहीन भएको गुनासो गरेका छन्। सन् २०१४ मा ठेक्का लागेको दिक्तेल–हलेसी सडकअन्तर्गत तीन खण्डको काम पटक–पटक थपिएको म्याद गुज्रे पनि कालोपत्रेको काम भने अझै पूरा हुन सकेको छैन।

सो खडक–खण्ड कालोपत्रे गर्ने काम लामा–नागार्जुन जेभी, लुम्बिनी–कन्काई–सूर्य जेभी र लामा–नागार्जुन–त्रिसुली जेभीले गरिरहेको छ। यस्तै, भारत कन्ट्रक्सन, मैनाचुली, सिद्धिसाईले ठेक्का लिएको च्यानडाँडा–चखेवाभञ्ज्याङ (१० किलोमिटर) खण्डको कालोपत्रेको काम पनि हालसम्म ३० प्रतिशतमात्र पूरा भएको छ। रमन÷गोल्डेन गुड जेभीले लिएको दिक्तेल–च्यानडाँडा (३६ किलोमिटर) सडकको प्रगति अपेक्षित छैन। लोकमार्गको काममा ढिलासुस्ती र कमजोर गुणस्तर देखिएपछि जनप्रतिनिधिहरू आक्रोशित बनेका छन्।

मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी, हलेसी–दिक्तेल र दिक्तेल–चखेवाभञ्ज्याङ खण्डमा कालोपत्रे भएर गाडी गुड्नुपर्ने बेलामा कामै नसकिएको र भएका काम पनि गुणस्तरहीन भएको जनप्रतिनिधिहरू बताउँछन्। ‘दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाभित्र पर्ने खडक–खण्डको हरेक काममा ढिलासुस्ती भएको छ। कतिपय ठाउँमा पुलको काम सुरु नै भएको छैन,’ दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका प्रमुख दीपनारायण रिजालले भने, ‘हामीले ठेकेदारलाई पटक–पटक ध्यानाकर्षण गराएका छौं। तर पनि कामको गुणस्तरमाथि प्रश्न उठिरहेको छ।’ रिजालका अनुसार ठेकेदारको ढिलासुस्तीका कारण मध्यपहाडी लोकमार्गका खोटाङभित्र पर्ने कुनै पनि खण्डको कालोपत्रे गर्ने काम सम्झौता अवधिमा पूरा भएको छैन। कतिपय ठाउँमा डिजाइन एकातिर छ र सडक अर्कोतिर।

‘मध्यपहाडी लोकमार्गको कामको गतिमा समस्या छ। कामको गुणस्तरमाथि पनि प्रश्न उठिरहेको छ।’

मध्यपहाडी सडकले मध्यबिन्दुबाट दायाँबायाँ ३१÷३१ मिटर ओगट्दा कतिपय स्थानीयको उठीबास हुने अवस्था देखिएकाले आफूले मापदण्ड घटाउन संघीय संसद् प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको ध्यानाकर्षण गराएको बताए। हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राईका अनुसार जयरामदेखि हलेसीसम्मको सडक साँघुरोमात्र बनाइएको छैन, कालोपत्रे पनि गुणस्तरहीन छ। जयराम–हलेसी सडक साँघुरो हुँदा त्रि–धार्मिकस्थल हलेसी आउने–जाने दर्शनार्थीलाई असहज भइरहेको राईको भनाइ छ। जयराम–हलेसी सडक वरपरका स्थानीयले मुआब्जा लिए पनि हाल सडक मिचेर नयाँ घर–टहरा बनाउने क्रम नरोकिएको गुनासो गर्दै नगरप्रमुख राईले भने, ‘मुआब्जा लिए पनि सडक वरपरमा घर–टहरा बनाउन छाडिएको छैन। सडक मिचेर बनाइएका संरचना हटाउन सडक बिभाग हर्कपुरलाई पटक–पटक पत्राचार गरिए पनि सुनुवाइ भएको छैन।’

त्यस्तै हेभी सवारीसाधनको थर्कनले हलेसीलाई असर गरिरहेको, बाहुनीडाँडा राँगाकाटेको घुम्ती भत्कियो, अन्य घुम्ती पनि भत्किने अवस्था भएकाले विकल्प सोच्नुपर्ने राईको धारणा छ। नेकपाका नेता देवविक्रम राई कालोपत्रे गुणस्तरहीन हुनुमा ठेकेदारको दोष देख्छन्। ‘दशकअघि धरान–धनकुटामा गरिएको कालोपत्रे अहिले पनि जस्ताको तस्तै हुने, यहाँ गरिएको कालोपत्रे किन त्यस्तो हुन्न,’ उनले भने, ‘कि पिचको दर्जा फरक–फरक हुन्छ। होइन भने पिच सबै ठाउँमा समान तरिकाले टिक्ने हुनुपर्छ।’ मध्यपहाडीको काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई राज्यले पटक–पटक म्याद थप गरेर पुरस्कृत गरेको कांग्रेसका दिक्तेल–रूपाकोट–मझुवागढी नगर समिति अध्यक्ष दुर्गा घिमिरेको आरोप छ।

मध्यपहाडी लोकमार्ग योजनाको विषयमा स्थानीय स्तरमा गुनासो बढेपछि संघीय संसद् प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले हालै दिक्तेलमा जनप्रतिनिधिहरूसँग अन्तक्र्रिया गरेको थियो। अन्तक्र्रियामा सहभागी अधिकतर जनप्रतिनिधिले लोकमार्गको काममा भइरहेको ढिलासुस्तीप्रति आक्रोश व्यक्त गरेका थिए। मध्यपहाडी लोकमार्गको काममा ढिलासुस्ती र गुणस्तरहीन भएको जनगुनासोकै कारण आफूहरू अनुगमनमा हिँडेको संयोजक कल्याणी खड्काले बताइन्। ‘मध्यपहाडीको गुणस्तर र कामको गतिमा समस्या छ,’ खड्काले भनिन्, ‘यसलाई सच्याउन हाम्रो प्रयत्न हुनेछ।’

कार्यक्रममा बोलाइए पनि अधिकतर ठेकेदार अनुपस्थिति थिए। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मध्यपहाडी लोकमार्गको कालोपत्रेको नमुना संकलन गरेको वर्ष दिन भइसक्दा पनि ल्याब टेस्ट रिपोर्ट सार्वजनिक गरेको छैन। मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–बिजुले सडक–खण्डको कालोपत्रेको काम गुणस्तरहीन भएको जनगुनासो सतहमा आएपछि अख्तियारको प्राविधिक टोलीले २०७४ चैत १५ गते ‘डेन्सिटी टेस्ट’ गर्नुका साथै कालोपत्रे काटेर नमुनाका लागि शिलबन्दी गरेर काठमाडौं लगेका थिए। सोको रिपोर्ट हालसम्म सार्वजनिक गरिएको छैन।

कालोपत्रेको काम गुणस्तरहीन भएको जनगुनासो आएपछि हलेसी तुवाचुङ नगरपालिका प्रमुख राई, उपप्रमुख विमला राईले प्राविधिक लिएर २०७४ फागुन २४ देखि २७ गतेसम्म जयराम–हलेसी तथा हलेसी–बिजुले खण्डको कालोपत्रेको अवस्था अनुगमन गरेका थिए। अनुगमनका क्रममा नगरप्रमुख राईले ठाउँ–ठाउँमा कालोपत्रे कोट्याएको केही समयपछि अख्तियारले स्थलगत अध्ययन र परीक्षणका लागि इन्जिनियर सन्तोष निरौला, ल्याब अधिकृत विनोद शाह र सव–इन्जिनियर गगन बुढाको टोलीलाई खोटाङ पठाएको थियो।

प्रकाशित: १९ जेष्ठ २०७६ ०२:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App