७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘पञ्चायतका राजाभन्दा ओली तल्लो स्तरमा झरेर निरंकुशता लाद्न खोजिरहेका छन्ः देउवा

बुटवल– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले जनताका अधिकार माथि चौतर्फी हस्तक्षेप गरी प्रजातन्त्रमाथि नै हमला गर्न खोजेको बताएका छन्। नेपाली काँग्रेस रुपन्देहीको जिल्ला सम्मेलनलाई शनिबार मधवलीयामा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले न्यायालय, स्वतन्त्र प्रेस र मानवअधिकारमाथि ओली सरकारले पञ्चायतमा भन्दा बढी नियन्त्रण गर्न खोजेको आरोप लगाएका हुन्। 

स्वतन्त्र प्रेस माथिको हमला प्रजातन्त्रमाथिको हमला भएको उल्लेख गर्दै काँग्रेस सभापति देउवाले प्रेसलाइ कमजोर बनाउन ल्याइएको मिडिया काउन्सिल बिधेयक कुनै हालतमा पास हुन नदिने बताए। ‘वाक तथा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताका लागि हामी २००७ सालदेखिको लडेका छौं। त्यसलाई खोस्न काँग्रेसले कदापी दिँदैन’, सभापति देउवाले भने।

सरकारले न्यायपालिका र मानव अधिकार आयोगमाथि समेत हस्तक्षेप गरी लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउन खोजेको आरोप पनि लगाए। ‘जुन देशमा न्यायालय, मानवअधिकार र प्रेस जगत स्वतन्त्र रहन पाउँदैन, त्यहाँ न प्रजातन्त्र रहन्छ न त्यो देशका नागरिक अधिकार सम्पन्न हुन्छन’, सभापति देउवाले भने। मानवअधिकार आयोगलाई नै सरकार अधिनस्थ राख्न खोजिएको भन्दै उनले सरकारका गलत कदमलाई सफल हुन नदिने बताए। ‘पञ्चायतका राजा भन्दा ओली तल्लो स्तरमा झरेर निरंकुशता लाद्न खोजिरहेका छन्। कम्युनिस्ट सर्बसत्तावादबिरुद्ध निर्णायक आन्दोलन गर्नुपर्ने हुन सक्छ, तयार रहनुस’, सभापति देउवाले कार्यकर्तालाई भने। 

कार्यक्रममा बजेटप्रति टिप्पणी गर्दै देउवाले सरकारले आफ्ना पार्टीका नेता कार्यकर्ता पोस्नेगरी बजेट ल्याएको बताए। ‘जनताले ट्याक्स तिरेको राष्ट्रको सम्पती र बिदेशबाट ल्यााएको ऋणले नेता कार्यकर्ता पाल्न पाइन्छ? जनताको पक्षमा काम गर्नु पर्दैन?’ सभापति देउवाले प्रश्न गरे। 

कम्युनिस्ट सर्बसत्तावादबिरुद्ध लड्न काँग्रेसभित्र एकता हुन जरुरी भएको पनि देउवाले उल्लेख गरे। पार्टीले पार्टीलाई हराउने अन्तरघातको रोग निको नभएसम्म काँग्रेस बलियो हुन नसक्ने भन्दै उनले केही व्यक्तिलाई कारबाही गरेरै अन्तर्घातमुक्त हुने दावी गरे। ‘केही मान्छेलाई कारबाही गरेरै भए पनि पार्टीलाइ अन्तर्घात मुक्त बनाउनु पर्छ र त्यसमा हामी अगाडि बढेका छौं’, देउवाले भने। एकताबाटै काँग्रेस अबका दिनमा एक नम्बरको पार्टी बन्ने दावी गर्दै उनले त्यसको सुरुवात रुपन्देहीबाटै सुरु गर्न जिल्ला नेतृत्वलाई आग्रह पनि गरे। 

कार्यक्रममा बोल्दै पार्टी महामन्त्री डा शशांक कोइरालाले पछिल्लो समय मुलुकमा अस्थिरता झन बढेर गएको बताए। दुई तिहाइको सरकारले जनताको हितका केही काम गर्न नसकेको भन्दै उनले कम्युनिस्ट सर्बसत्तावादबाट जनतासमेत निराश भइसकेको बताए। काँग्रेसको इतिहास, कार्यकर्ता सबै राम्रो र बलिया भएकाले पार्टीभित्र एकता भए आगामी दिनमा कसैले हराउन नसक्ने दावी महामन्त्री कोइरालाको थियो। 

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले ओली सरकारले ऋण खोजेर आफ्ना पार्टीका नेता कार्यकर्तालाई घ्यू खुवाउने बजेट ल्याइएको टिप्पणी गरे। खाँणले ओली सरकार जनता प्रति उत्तरदायी बन्न नसकेको बताए। स्वतन्त्र न्यायपालिका, स्वतन्त्र प्रेस, मानवअधिकारको रक्षाकालागि नेपाली काँग्रेसले जस्तोसुकै मूल्य चुकाउन पछि नपर्ने भन्दै उनले प्रेस काउन्सिल, मानव अधिकार लगायतका नियन्त्रणमुखी विधेयकहरु कुनै हालतमा पास हुन नदिने बताए। नेता खाँणले राणा र पञ्चायत ढाल्ने जय नेपालले अब कम्युनिस्ट सर्बसत्तावादलाई पनि सदाका लागि ढालिदिने दावी गरे। 

प्रकाशित: १८ जेष्ठ २०७६ १६:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App