४ वैशाख २०८१ मंगलबार
राजनीति

प्रधानमन्त्री ओलीको भारत भ्रमण असफलः नेता सिंह

रुपन्देही– नेपाली कांग्रेसका नेता तथा सांसद डा.अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण असफल भएको टिप्पणी गरेका छन्। भारतीय शक्तिसँग नजिक मानिने सिंहले भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदी र प्रधानमन्त्री ओलीबीच सम्बन्ध राम्रो नभएको पनि बताए। काँग्रेसको कार्यक्रममा सहभागी हुन रुपन्देहीका आएका बेला रिपोर्टर्स क्लब प्रदेश ५ ले शनिबार बुटवलमा गरेको साक्षात्कारमा सिंहले भने, ‘उहाँसंग फर्केपछि भेट त भएको छैन, ओलीजीको बडिल्याङ्वेज हेर्दा अनुहार मलिन छ, अघिपछिको जस्तो देखिएन।’ 

ओली सपथ समारोहमा दिल्ली गएकै बेला नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले ५ बुँदे सहमति बाहिर ल्याउनु रहस्यमय भएको बताए। उनले भने, ‘सहमति बाहिनुको अर्थ हो, म प्रधानमन्त्री हुने हो डिल मसँग गर्नु।’ उनले सरकार परिवर्तन हुने संकेत गरे। मोदीजीसंग केपी ओलीका कारण नेपालको सम्बन्ध बिग्रिएको भन्दै उनले देशको परराष्ट्र मात्रै होइन आन्तरिक नीति पनि ठिक नभएको बताए। भारत लोकतान्त्रिक मुलुक भएकाले नेपालमा लोकतन्त्र स्थापित भएको हेर्न चाहने उनको दाबी छ। तर, अहिलेका प्रधानमन्त्री संघीयता असफल बनाउने र शक्ति आफैंमा केन्द्रीत गर्ने खेलमा लागेको उनको भनाइ थियो।

सिंहले ५ बर्ष ओली नेतृत्वको सरकार रहिरहे देशमा लोकतन्त्र नै नरहने दाबी गरे। ‘ओली र राष्ट्रपति मिलेर शासन गर्न खोजेका छन्, हरेक गाउँपालिका र नगरपालिकामा भ्रष्टाचार बढिरहेको छ, नेपाली जनता र लोकतन्त्र कमजोर बनाउन प्रधानमन्त्री नै लागि परेका छन्।’ 

सिंहले सरकारको परराष्ट्र नीति नै गलत भएको बताए। प्रधानमन्त्रीले ‘बुद्धिजीवीलाई कोट काट्ने मुसा भन्ने, प्रेसको कलम निमोठ्ने, व्यक्ति मोटाएर अधिनायकवाद आउँछ, देश कहिल्लै बन्दैन’ भन्ने गरेको उनले सुनाए। प्रधानमन्त्रीले आफैमा शक्ति सञ्चय गर्ने, संसद, सरकार र न्यायालय, सेना, प्रेसलाई आफूमातहत राख्न खोज्ने, एकात्मक र जनवादी व्यवस्था लागू गर्न खोजेको उनले आरोप छ।

अमरेशले अहिलेका राष्ट्रपति बिद्यादेवी भण्डारी नेकपाको मात्रै बनेको दाबी गरे। ‘मैले गणतन्त्रमा विश्वास गर्छु तर राष्ट्रपतिको भूमिका कार्यकारी जस्तो छ, शीतलनिवासमै नेकपाको गुटको बैठक बस्ने, ५० हजारको साडी लगाउने, डेढ अर्बको प्लेन चढ्ने यस्तो राष्ट्रपति खोजेको होइन’, उनले भने। नेता सिंहले पूर्व एमाले र पूर्व माओवादीको मिलन लामो समय नटिक्ने ठोकुवा गरे। ‘पानी र दुध मिल्छ तर एमाले र माओवादी पानी र तेल हो, यो दुइटा मिल्न सक्दैन, ढिलो र चाडो यी दुई पार्टी फुट्छ।’ 

प्रकाशित: १८ जेष्ठ २०७६ १५:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App