७ वैशाख २०८१ शुक्रबार
राजनीति

बजेटले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पार्छ: कांग्रेस

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको बजेट वितरणमुखी भएको भन्दै यसले मुलुकमा महँगी बढाउने निष्कर्ष निकालेको छ। सरकारले बुधबार आर्थिक वर्ष ०७६/०७७को बजेट संसद्मा पेस गरेको भोलिपल्ट बिहीबार संसदीय दलको कार्यालय सिंहदबारमा बसेको दलको बैठकले विकास बजेट बढे पनि खर्च हुन नसक्ने ठहर गरेको हो। झन्डै एकतिहाइ अर्थात् पाँच खर्ब ऋण उठाउने गरी सरकारले बजेट ल्याएको बताउँदै संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले भने, ‘बाह्य ऋणको सुनिश्चिता छैन, आन्तरिक ऋण मात्र उठाउँदा रोजगारी र उत्पादकत्वमा यसले नकारात्मक असर गर्नेछ।’

उत्पादनभन्दा वितरणमै बजेटले जोड दिएको भन्दै कांग्रेसले आगामी एक वर्षमा प्रत्यके नेपालीको भागमा थप १६ हजार ऋणको भार थपिने कांग्रेसले जनाएको छ। प्रत्येक नेपालीको भागमा अहिले ३२ हजार ऋण पर्छ। ‘ऋणको भार थपिनेछ तर विकास खर्च गर्ने शक्ति काम छ,’ प्रमुख सचेतक खाँणले भने, ‘यसले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पार्छ।’

पार्टीसँग निकट रहेका विज्ञसहितको दलको बैठक राखेको कांग्रेसले कर्मचारीको तलब वृद्धि सन्तुलित नभएको ठहर गरेको छ। २० प्रतिशतले मुलुकमा महँगी बढ्ने निष्कर्ष निकाल्दै कांग्रेसले भनेको छ, ‘उच्च पदस्थ अधिकारीको १०÷१२ हजार तलब वृद्धि भएको छ निम्न तहका कर्मचारीको २५ सय ३ हजार बढ्दा असन्तुलन देखिएको छ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता असफल बनाउन र अपहेलित गर्न लागिपरेको आरोप लगाएका छन्। पार्टी उपसभापति विमलेन्द्र निधि नेतृत्वमा रहेको नीति तथा प्रशिक्षण प्रतिष्ठानले बिहीबार राजधानीमा संघीयताका विषयमा आयोजना गरेको कार्यक्रम सभापति देउवाले ओली र उनको नेतृत्वमा रहेको सरकार संघीयताकै पक्षमा नरहेको स्पस्ट पारेका हुन्।

संघीयताबाट देश अब पछि फकर्न नसक्ने जनाउँदै सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि फेरि एकपटक संघर्ष गर्ने समय आएको धारणा राखे। त्यसका लागि तयार रहन आह्वान गर्दै देउवाले भने, ‘सिंहदबारको अधिकार गाउँसम्म पु¥याउन मुलुकलाई संघीयतामा लगेका हाैं। सरकार यसलाई असफल र अपमानित गर्न लागिपरेको छ त्यसलाई हामी सफल हुन दिँदैनाैं।’

सरकारले बुधबार सार्वजनिक गरेको बजेटले समेत संघीयतालाई प्राथमिकतामा नपरेको आरोप लगाउँदै संविधानले प्रदेशलाई दिएको अधिकारसमेत खोसेर सरकारले सिंहदरबारमा केन्द्रीकृत गर्न लागिपरेको देउवाले बताए।

कार्यक्रममा पार्टी उपसभापति निधिले संघीयता कम्युनिस्ट सिद्धान्तविपरीत रहेको आरोप लगाउँदै संघीयता र कम्युनिस्ट एकैसाथ अघि बढ्न नसक्ने धारणा राखे। सोहीअनुसार सरकार संघीयता कमजोर बनाउन लागि परेको धारणा राख्दै निधिले भने, ‘मुलुक हाँक्ने ड्राइभरको सिटमा बसेका प्रधानमन्त्री ओली स्वयंलाई संघीयतामा विश्वास छैन।’
महामन्त्री पूर्णबहादुर खड्काले कम्युनिस्टहरूले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सत्ता प्राप्तिको भ¥याङ बनाएको आरोप लगाए। संघीयताप्रति कांग्रेसको विश्वास रहेको जनाउँदै खड्काले भने, ‘त्यसकारण संघीयता सफल बनाउने दायित्व पनि कांग्रेसकै हो।’

कार्यक्रममा विभिन्न पेसामा संलग्न सहभागीले संघीयताका विषयमा पार्टीले स्पष्ट धारणा बाहिर ल्याउँदै जनतालाई सजग र सचेत गराउन कांग्रेसले अग्रसरता लिनुपर्ने नेतृत्वलाई सुझाएका छन्।

प्रकाशित: १७ जेष्ठ २०७६ ०१:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App