७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘सरकार र विप्लव समूहबीच साँठगाँठ’को प्रश्न उठेपछि संसदमै झोक्किए गृहमन्त्री थापा

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले राजधानीको बम विस्फोटमा मृत्यु भएकाहरु विप्लव समूहसँग सम्बन्धितहरु भएको बताएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा मुलुकको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराउने क्रममा प्रतिपक्षी दलका सांसदहरुले राखेको जिज्ञासाको सम्बोधन गर्दे उनले विस्फोटमा मृत्यु भएकाहरु सामान्य नागरिक नभएको बताए। उनले भने, ‘ती सामान्य नागरिक होइनन् भन्ने नै भनाई हो। ती घटना घटाउनेहरु हुन् भन्न खोजिएको हो। दुई ठाउँकै घटनामा, बम बनाउने क्रममा केही प्राविधिक त्रुटी भएका कारणले गर्दा ज्यान गएको अहिले सम्मका अनुसन्धानले पुष्टि भएको छ।’ 

विप्लव समूहसँग साँठगाँठ त छैन भन्ने सांसदहरुको प्रश्नलाई उनले ‘नाजायज प्रश्न’ को संज्ञा दिए। मन्त्री थापाले झोक्किँदै भने, ‘सरकार र विप्लव समूहसंग साँठगाँठ त छैन भन्ने प्रश्नहरु नाजायज प्रश्न हुन्छन्। प्रश्नलाई उल्टाएर हेर्दा कतै ती प्रश्नहरुको सम्बन्ध उतै छ छैन भन्ने लाग्छ।’

उनले शान्तिपूर्ण रुपमा समस्या समाधान गर्नुपर्न भन्नेमा सरकार स्पष्ट रहेको भन्दै कानुन र संविधान मिच्ने, जनतालाई आतंकित पार्ने गतिविधि आपराधिक हुने भएकाले त्यस्ता आपराधिक घटनालाई सरकारले प्रतिबन्ध लगाएको स्पष्ट पारे। कानुन मिचेकाले नियन्त्रणमा लिने प्रयास संगै वार्ता संवाद मार्फत गतिविधिलाई नियन्त्रणमा ल्याई मूल प्रवाहमा ल्याउने प्रयास सरकारले गरिरहेको स्पष्ट पारे।

उनले पाँचथर घटनाको अनुसन्धान जारी नै रहेको भन्दै अपराधी छिटै नै कानुनको कठघरामा आउने बताए। दार्चुला घटनाका घाइतेलाई सरकारले उपचारको व्यवस्था गरि राहतको प्रक्रिया अघि बढाउने बताउँदै मन्त्री थापाले गिरिशचन्द्र लालको प्रतिवेदन उपयुक्त समयमा सार्वजनिक गरिने बताए।

गृहमन्त्रीको जवाफमा नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले आपत्ति जनाएका थिए। उनले भने, ‘घुमाएर नबोलौ, हिजोको घटनामा कुन पार्टीको कुन माननीयको संलग्नता छ। त्यो प्रस्ट रुपमा आउनु पर्छ। हिजोको घटनामा मृत्यु हुने जनता होइनन् भन्ने अधिकार कसले दियो उहाँलाई? के उनीहरु जनता होइनन्? हिजो पनि द्वन्द्वकालमा जति मरे÷मारिए, के उनीहरु जनता थिएनन्? नेपाली नागरिक थिएनन्? त्यसकारण गैह्रजिम्मेवारी पूर्वक शब्द प्रयोग गर्न पाइन्न। त्यसकारण सांठगाँठ र नाजायक शब्द रेकर्डबाट हटाउन माग गर्दछु।’ 

लगत्तै सभामुख कृष्णबहादुर महराले सो बारे सदन र गृहमन्त्रीको ध्यानाकर्षण भएको जानकारी गराएपछि बैठकको कारवाही अघि बढेको थियो।

प्रकाशित: १३ जेष्ठ २०७६ ०९:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App