८ वैशाख २०८१ शनिबार
राजनीति

घटेन गुटको दूरी

दिबहादुर छत्याल/धनगढी
जगत खड्का/बझाङ

जेठ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षधर मानिने केन्द्रीय समिति सदस्य श्यामकुमार घिमिरे वैशाख २५ देखि कैलालीका विभिन्न ठाउँमा जनजागरण अभियानमा सक्रिय छन्। उनलाई अभियानमा कैलाली जिल्ला प्रतिनिधिका रूपमा खटाइएको हो। सभापति देउवाले आफ्ना मान्छे मात्र खटाएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले आफंै सूदुरपश्चिमको भ्रमण सुरु गरेका छन्। लमजुङ र सप्तरी जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधि कमला पन्त र रामकृष्ण यादवलाई साथमा लिएर पौडेल मंगलबार सूदुरपश्चिम आएका छन्। पौडेलले सूदुरपश्चिमका विभिन्न जिल्ला भ्रमण गर्ने कार्यतालिका छ।

अभियानकै क्रममा धनगढी पार्टी कार्यालयमा आयोजित कार्यक्रममै उनले देउवाप्रति असन्तुष्टि पोखे। ‘सभापतिले आफ्नो प्रियपात्र भएकाले कैलाली आपूmले रोजेको जिल्लामा श्याम घिमिरेलाई पठाउनुभयो,’ पौडेलले भने। देउवा पत्नी आरजु देउवालाई गत निर्वाचनका बेला कैलाली क्षेत्र नम्बर ५ बाट टिकट दिएपछि असन्तुष्ट हुँदै पार्टीका कार्यक्रममा नदेखिएका नेता पुष्करनाथ ओझा पनि कार्यक्रममा सहभागी थिए। उनले पनि कार्यक्रममा देउवाप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

पौडेल पक्षधर नेता, कार्यकर्ताको सभापति देउवाले अभियानमा आफ्नो पक्षधरलाई मात्र पठाएर गुटको प्रचार गरेको आरोप छ भने देउवा पक्षधरले पार्टीले गरेको निर्णयविपरीत अभियान कमजोर बनाउने गरी पौडल सूदुरपश्चिम भ्रमणमा आएको टिप्पणी गरेका छन्। ‘कांग्रेसको महाधिवेशन आउँदैछ, यो जनजागरण अभियान सभापति देउवा दाइको प्रचारका लागि गरिएको छ,’ कैलालीका एक नेताले भने, ‘अनुशासन समितिले नेतृत्वको आलोचना गर्न नपाइने भनेर निर्णय गर्नु र सबैतिर वहाँकै मान्छे खटाइनु भनेको देउवा दाइको गुट बलियो बनाउनु हो।’

यसैगरी पौडेलको सूदुरपश्चिमको भ्रमणप्रति देउवा पक्षधरले आपत्ति जनाएका छन।‘लमजुङ खटाएका प्रतिनिधि कमला पन्त र अर्को जिल्ला खटाएका रामकृष्ण यादवलाई आफ्नो जिल्लामा काम गर भन्नुको साटो साथमा बोकेर नेता पौडेलले हिँड्नु कति सुहाउँछ ?,’ देउवा पक्षधर केन्द्रीय समितिका एक नेताले भने।

कार्यकर्तामा उत्साह भर्ने, कार्यकर्ता परिचालन गर्ने, नेतृत्वको आलोचना नगरी पार्टी एकता बलियो भएको सन्देश कार्यकर्तामा लैजाने उद्देश्य राखिएको भनिएको अभियानले कांग्रेसमा देउवा र पौडेलको गुटबीचको दूरी बढाएको छ। कैलालीका केन्द्रीय प्रतिनिधि तथा केन्द्रीय समिति सदस्य घिमिरेले भने देउवाले आफ्ना मान्छे मात्र खटाएको भन्ने कुरा गलत भएको बताए। केन्द्रीय समितिबाट खटाउन मिल्ने र अपुग भएपछि बाहिरबाट २५ जना जति थपेको उनको भनाइ छ। जनजागरण अभियानअन्तर्गत १५ दिनदेखि कैलालीका विभिन्न ठाउँमा कार्यक्रम सञ्चालन गरिएको उनले बताए। जनजागरण अभियानमा दुवैपक्षका एक–एकजना खटाएको भए पार्टी गुटको दूरी घटाउन मद्दत गर्ने कार्यकर्ता बताउँछन्।

‘पार्टी बलियो बनाउन विगतमा जस्तो जनजागरण अभियानमा प्रत्येक जिल्लामा दुवै पक्षका संयोजक र उपसंयोजक गरेर एक–एकजना पठाउनुपथ्र्यो,’ काँग्रेस कैलाली कार्यसम्पादन समितिका नृप सुनार भन्छन्।
कार्यकर्ता निरास

कांग्रेसले पार्टीको एकता बलियो बनाउने, कार्यकर्ता समान रूपमा परिचालन गर्ने भनेपछि उत्साहित भएका कार्यकर्ता जनजागरण अभियानमा गुटले नै प्रश्रय पाएपछि निराश छन्। बझाङ जय पृथ्वी नगरपालिका ३ हेमन्तवाडका गोपिन्द्र दमाई सधारण कार्यकर्ता हुदै पार्टीको जिल्ला सचिवसम्म पुगे। पार्टीभित्रको विवाद, गुट उपगुट, खिचातानी देखेर निराश भएर उनी कञ्चनपुरको बेलौरीमा गएर बसे। पार्टीले जनजागरण अभियान सञ्चालन गरेर संगठन बलियो बनाउने र पार्टी नेता एक ठाउँमा जम्मा हुने भनेपछि उनी खुसी हुँदै बझाङ आएको बताउँछन्। ‘जनजागरण अभियानले सोचेजस्तो पार्टीभित्रको गुट, उपगुटको दूरी घटाएको देखिएन,’ उनले भने।

यसैगरी, पार्टीभित्रको अन्तर्घात, विवाद देखेर निराश भएका थलारा गाउँपालिका–५ का रता रोकाया जनजागरण अभियान सुनेर भारतको व्यांगलोरबाट बझाङ फर्के। जनजागरणमा अझ बढी गुटको विवाद देखेपछि उनी निरास छन्। ‘पार्टी सुदृढीकरण भयो, आन्तरिक विवाद अन्त्य भएर कार्यकर्ताका पीरमर्का बुझ्न थाले भन्ने सुनेर घर फर्केर आएको थिएँ,’ उनले भने, ‘जनजागरण अभियान सोचेजस्तो पाइएन। कार्यकर्ता र नेताबीच विवाद उस्तै छ।’ गुटको विवादले जिल्लामा सबै नेता र कार्यकर्तासमेत अभियानमा सहभागी छैनन्।

बझाङका सभापति र्हक जंगबहादुर सिहंले १० गाउँपालिका र २ नगरपालिका अधिकांश गाउँ पुगेर पीडित जनता र साहाराविहीन नेता तथा कार्यकतासँग भेटघाट तथा छलफल गरिरहेको बताए। ‘कांग्रेसमा विचारको विवाद हैन, व्यक्तिको विवाद हो,’ उनले भने, ‘कोही नेता आफ्नो व्यक्तिगत कामले जिल्ला बाहिर र भित्र भए पनि हामी अभियानमा जुटेका छु।’

प्रकाशित: १३ जेष्ठ २०७६ ०४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App