८ वैशाख २०८१ शनिबार
राजनीति

‘प्रधानमन्त्रीमा दम्भ बढ्यो, म जे बोल्छु त्यो सबैले मान्नुपर्छ भन्नु अशोभनीय’

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार संघीयता असफल पार्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन्। 

कांग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत काठमाडौं क्षेत्र नम्बर १ मा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्री ओलीका अभिव्यक्ति संविधानको मर्म र भावनाविरुद्ध आउन थालेकाले मुलुकमा संवैधानिक संकट निम्तिन सक्ने चेतावनी दिए। ‘प्रधानमन्त्रीमा अहंकार र दम्भ बढेको छ। संविधान केही हैन, अब म जे बोल्छु त्यहीँ नै सबैले मान्नुपर्छ भनेजस्तो गरी प्रस्तुत हुनु अशोभनीय छ’, उनले भने। संविधानभन्दा माथि कोही हुन नसक्ने भएकाले दम्भ र अहंकार त्यागेर संविधानको पालना गर्न सुझावसमेत दिए।

मुलुकमा सरकारसँग जनअपेक्षा धेरै भए पनि सरकारको काम भने भाषणमा मात्र सिमित रहेको र काण्डै काण्डमा मुछिएकाले कुनै आश गर्न नसकिने बताए। ‘कुरा गर्ने, काम केही नगर्ने। यस्तो प्रचारबाजीमा अल्झिएर जनतासँग सरकारको  भावनात्मक सम्बन्ध टुटेको दिन बल्ल प्रधानमन्त्रीको अहंकारको अन्त हुन्छ’, उनले भने। 

राजधानीबासीको सबैभन्दा चासो र सरोकार जोडिएको मेलम्ची खानेपानीको काम आर्थिक अनियमिततासँग जोडिएर ठेकेदार कम्पनीसँग पैसा मागेको कुराले ठेकेदार कम्पनीले हात झिक्नु दुःखद भएको बताए। धुलोहिलो मुक्त सहर बन्न नसकेको कुराप्रति राजधानीबासीलाई सचेत हुनसमेत आग्रह गरे।

ठूला भ्रष्टाचारका मुद्दाहरु हरेक दिन ओझेलमा पार्दै जाने तर भ्रष्टाचार गर्दिन भन्ने कुरामा बिश्वास गर्न नसकिने भन्दै नेता सिंहले सबै खाले भ्रष्टाचारका मुद्दाहरुमा पारदर्शी तवरले छानबिनको बातावरण बनाएर दोषी ठहरिएका जो कोहीलाई दण्डित गर्न समेत आनाकानी नगर्न सरकारको ध्यानाकर्षण गराए।

फरक प्रसंगमा नेता सिंहले पार्टी संगठन विधिसम्मत तरिकाले चलाउन नसके  वर्तमान चुनौती सामना गर्न नसकिने भएकाले सबैलाई अनुशासित भएर विधिपद्धति अनुसार चल्नसमेत आग्रह गरे। पार्टी कार्यकता भन्ने तर विधि पद्धतिमा नबस्ने कुनै नेता विशेषको बनेर पार्टीभित्र असयोग गर्नेहरुलाई ठेगान नलगाउँदासम्म संगठन बलियो नहुने कुरा ख्याल गर्नसमेत अनुरोध गरे। 

प्रकाशित: १२ जेष्ठ २०७६ ११:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App