१५ चैत्र २०८० बिहीबार
राजनीति

मधेसमा कांग्रेसको जागरण अभियान : पुरानो साख फर्काउने प्रयास

लहान- नेपाली कांग्रेसको प्रमुख आधारभूमी तराई मधेस पनि हो। आधारभूमीमा लोकप्रिय मत पाउँदा कांग्रेस सत्तामा जोडदार उपस्थिति बनाउँछ। नपाए प्रतिपक्षमा पुग्छ। पछिल्लो प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा कांग्रेस आधारभूमीमै नराम्ररी पछाडि पर्दा अहिले प्रतिपक्षको हैसियतमा छ।

आफ्नो पुरानो पहिचान फर्काउन कांग्रेस विभिन्न मुद्दा लिएर देशभर जागरण अभियान सुरु गरेको छ। कोर मधेस अर्थात प्रदेश २ मा भने कांग्रेस विशेष रणनीतिसाथ प्रस्तुत भइरहेको छ।

जागरण अभियान पहिलो चरण उद्घाटनबाट सुरु भइ जिल्ला कार्यसमिति बैठक, बिस्तारित बैठक हुँदै स्थानीय तहसम्म अभियान पुगेको केन्द्रिय सदस्य महेन्द्र यादवले बताए। जागरण अभियानले नेता, कार्यकर्तासँगै आमजनमा नयाँ उर्जाको सञ्चार गरेको छ, उनले भने। प्रदेश २ मा यस अभियानलाई कसरी अघि बढाइदै छ भने जिज्ञासामा उनले भने,‘संघीय सरकार, प्रदेश सरकारको ‘भण्डाफोर’ जोडदार रुपमा गर्दैछौं। कांग्रेसले विगतमा गरेका विकास निर्माणको कामदेखि, संविधान संशोधनको पक्षमा लिएको अडानलाई समेत प्रमुखताका साथ जनताबीच राखिरहेको उनले बताए।

प्रदेश सरकारले करिब दुई वर्षको कार्यकाल विताइसक्दा समेत प्रदेशको नाम चयन गर्न नसक्नु, विकास बजेटहरु आफन्त र नातेदारहरुलाई बाड्नु जस्ता कृत्यलाई जनतासमक्ष उजागर गर्दै आफ्नो उपस्थिति मजबुत बनाउने कसरतमा कांग्रेस जुटेको छ।

यस अभियानको मुख्य लक्ष्य सरकारका गलत कामकारबाहीलाई आम जनतामाझ उजागर गर्दै पार्टीका नीति, सिद्धान्त, कांग्रेस सत्ताको नेतृत्वमा रहेका बेला भएका उपलब्धिलाई समेत आम जनताको घरदैलोमा पुर्‍याउँदै छौं', यादवले भने। महासमिति बैठकबाट पारित पार्टीको आर्थिक तथा राजनीतिक प्रस्ताव र पार्टीको विधानलाई समेत कार्यकर्तामाझ बुझाउने प्रयास हुँदै छ,’ यादवले भने, ‘स्थानीय तहमा पार्टीका समस्या र विवाद सुल्झाउने कामसमेत भैरहेको कारण पार्टी एक ढिक्का भएर अघि बढेको छ। सबै नेता कार्यकर्ताले जिम्मेवारी पाएका छन्, सबै व्यस्त बनेका छन्।’

यसरी चल्दैछ अभियान

जागरण अभियानअन्तर्गत अभियानको उद्देश्य सम्प्रेषण गर्ने, सदस्यता वितरण गर्ने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने,  पार्टीको अभिलेख संकलन भैरहेको अभियानमा खटिएका कांग्रेस नेता महेन्द्र यादवले बताए। पुराना नेता कार्यकर्तालाई भेटेर सम्मान गर्ने, नव प्रवेशीलाई स्वागत गर्ने कार्यक्रम पनि प्रदेश २ मा जोडदार ढंगबाट अघि बढिरहेको यादवले बताए।

अभियानले कार्यकर्ताहरुमा उर्जा पैदा भएको छ भने जनतामा भरोसाको पालुवा पलाएको यादवले बताए। सरकारको कामबाट आजित, निराश र आक्रोशित जनताका लागि कांग्रेस भरोसाको बृक्ष साबित भएको छ, हुँदैछ यादवले भने। हामीले केबल सरकारका गलत कामकारबाहीलाई मात्र जनतामाझ उजागर गरिहेका छैनौ यादवले भने,‘कांग्रेस सत्ता नेतृत्वमा हुँदाका बखत गरेका कामसँग वर्तमान सत्ता नेतृत्वको कामलाई तुलना गरेर जनतालाई बताउँदै छौं।’

मधेसको मुक्ताका लागि भनेर मधेसी जनताको मत बटुलेर प्रदेश २ सरकारको नेतृत्वकर्ताहरुले दुई वर्षमा के के काम गरे यसलाई पनि अभियानको मूल मुद्दाको रुपमा कांग्रेसले अघि बढाइरहेको छ। अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्दै संघीय सरकारले ल्याएको मिडिया काउन्सिल बिधेयक प्रदेश २ सरकारले पनि कपी पेस्ट गरेको विषय समेत अभियानको मुद्दा बनेको छ। अर्थात अभियान मार्फत कांग्रेसले संघीय र प्रदेश सरकारलाई एकसाथ रणनैतिक हमला गरिरहेको छ, गर्दैछ।

अभियानमा खटिएका कांग्रेस नेता डा. रामशरण महत भन्छन्,‘कांग्रेस मधेसबाट सकिएको होइन, सुस्ताएको थियो। जागरण अभियान मार्फत मधेसमा उर्जा, भरोसा, आत्मीयताको सञ्चार भएको छ।’ उनले भने,‘कांग्रेसको उपस्थिति सिथिल हुँदा आरुहरुले लाभ प्राप्त गरेका हुन। कांग्रेस सुगठित रुपमा सक्रिय भएको छ, अब कसैको दाल गल्नेबाला छैन।’  

सुनौलो अवसर

कांग्रेसको जागरण अभियानले मधेसमा उर्जा थपिएको मधेस मामिलामा विद्यावारिधि डा. विजय प्रसाद मिश्रको विश्लेषण छ। तर, यो अभियानमार्फत कांग्रेसले सत्तापक्षलाई हिलो छ्यापेर आफूलाई सफा देखाउने गतिविधि गर्नु हुन्न। जनता सबैलाई चिनेका छन, बुझेका छन्। अरुलाई गाली गर्नुभन्दा पनि विश्वस्त योजना मार्फत जनतालाई आफूसँग जोड्नेतर्फ अभियान केन्द्रित हुनुपर्ने उनको तर्क छ। जबसम्म कांग्रेसले पुराना नेता कार्यकर्तालाई पार्टीमा फर्काउन सक्दैन, नयाँलाई जोड्न सक्दैन तबसम्म उनको पुरानो साख फर्किनेबाला छैन, मिश्रको विश्लेषण छ। संघदेखि प्रदेश सरकारसम्मले जनचाहना अनुरुप काम गर्न नसकिरहेका बेला यो अभियान मार्फत निराश जनतालाई आफूसँग जोड्न कांग्रेसका लागि यो सुनौलो अवसर भएको मिश्रले भने।’ तर, कांग्रेस आफू सच्चिएको, अनुशासित भएको विश्वास जनतामा छर्न सक्नुपर्छ, उनले भने।

प्रकाशित: १० जेष्ठ २०७६ ०५:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App