coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पाँचथर हत्या प्रकरणः भागेर बाँचेकी बालिकाको उपचार सरकारले गर्ने

इलाम– पाँचथरको मिक्लाजोङ गाउँपालिका–३, आरुबोटेनजिकै २ परिवारका ९ जनाको हत्या हुँदा भागेर बाँचेकी बालिकाको उपचार १ नम्बर प्रदेश सरकारले गर्ने भएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै उनको उपचार गर्ने जनाएको हो।

अन्दाजी १४ वर्षीया सीता खजुम हतियारसहित आएको मुकुण्डोधारी व्यक्तिले परिवारका अरू व्यक्तिलाई भकाभक प्रहार गर्न थालेपछि घरबाट राति नै हाम फालेर भागेकी थिइन्। भाग्नेक्रममा उनको दाहिने हात भाँच्चिएको छ। प्रहरी इन्सपेक्टर तेजनारायण यादवका अनुसार नकावधारी व्यक्तिले अरूलाई हतियार प्रहार गरी आफूतिर आउँदा सीता घरबाट हाम फालेर बाँचेकी हुन्। 

‘सीता भागेर करिब ५० मिटर पर रहेको छिमेकीको घर पुगेकी रहिछन्,’ इन्स्पेक्टर यादवले भने, ‘भाग्दै गर्दा सीतालाई पनि नकावधारीले खेदेको थियो तर भेट्न पाएनछ। उनी पुगेको घरमा पनि कान कम सुन्ने महिला मात्र रहिछन्। हत्यारा आफूतिरसमेत आइलाग्न सक्ने डरले बालिका र वृद्धा चुपचाप बसेछन्।’ सीताको दायाँ हात भाँच्चिएको छ। उनलाई उपचारका लागि झापाको दमक पठाइएको यादवले बताए। सीता स्थानीय आरुबोटे विद्यालयको कक्षा ७ मा अध्ययनरत छिन्। 

सोमबार राति घरमा आएको मुकुण्डोधारी व्यक्तिले स्थानीय बमबहादुर फियाकको परिवारका ४ र उनकै माहिला ज्वाईं धनराज शेर्माको परिवारका ५ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरेको थियो। सीता बमबहादुरकी साहिँली छोरीकी छोरी (नातिनी) हुन्। प्रहरीका अनुसार राति १० बजेपछि आएको अज्ञात व्यक्तिले अन्दाजी ७५ वर्षे बमबहादुर, उनकी पत्नी त्यही उमेरकी पुर्सीहाङ्मा फियाक, छोरी २७ वर्षीया मनकुमारी र घरमा पढ्न बसेकी साहिँली छोरीकी छोरी (बमबहादुरकी नातिनी) १२ वर्षीया बालिका आशिका खजुमको हत्या गरेको थियो। 

प्रकाशित: ७ जेष्ठ २०७६ १४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App