२७ श्रावण २०७७ मंगलबार
राजनीति

झलनाथ खनाल भन्छन्–जेठभित्रै सबै एकीकरण सक्छौं

इलाम– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले यही जेठ महिनाभित्रै पार्टीका सबै एकीकरण सकिने बताएका छन्। उनले पार्टीको तल्लो तहसम्म एकीकरण गर्न धेरै समय लागेकाले अब तदारुकताका साथ एकीकरणको काम भइरहेको उल्लेख गरे।

नेकपाका जिल्ला तहका पदाधिकारीलाई आज शपथ ग्रहण गराउन यहाँ आएका उनले दुई धारका दुई कम्युनिस्ट पार्टी एकीकरण ऐतिहासिक भएको बताए। उनले एकै विचार र एकै पृष्ठभूमि भएका जोसुकैसँग पनि पार्टी एकता हुन सक्ने भएकाले एकीकरणको कार्य नटुङ्गिएको उल्लेख गरे। पछिल्लो समय पार्टीमा दर्शन, विचार र सिद्धान्तमा काम कम हुन थालेको भन्दैे उनले इतिहास नबिर्सिन सबैलाई आग्रह गरे।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले कार्यकर्तालाई पार्टीगत सिद्धान्त, इतिहासको अध्ययन र परिस्थितिको अध्ययन गर्नसमेत आग्रह गरे। उनले विगतमा कम्युनिस्ट विभाजन हुँदा देशले प्रतिकूलता सहनु परेको उल्लेख गरे। विगतमा आपसी समस्याका कारण कम्युनिस्ट पार्टीबीच नै झै–झगडा, प्रतिस्पर्धा र काटमारको परिस्थितिसमेत आएको उल्लेख गर्दै उनले अब कम्युनिस्ट एक हुँदै गएको जिकिर गरे।

प्रदेश नं १ नेकपाका इञ्चार्ज भीम आचार्यले कम्युनिस्ट एकता निर्धारित समयभन्दा धेरै ढिलो भएको बताए। उनले पार्टीभित्र विधिविधान, सिद्धान्त र पद्धति कम मात्र हेर्न थालिएको आरोप खेप्नु परेकाले अब यस्तो हुन नदिन नेतृत्वलाई आग्रह गरे। प्रदेशका सह–इञ्चार्ज सावित्रीप्रसाद काफ्लेले कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रिय इतिहास भएको बताए। रासस

प्रकाशित: ७ जेष्ठ २०७६ १८:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App