coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

बुद्ध परिपथ निर्माण गर्न राष्ट्रपतिको आग्रह

लुम्बिनी - राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी गुरूयोजना कार्यान्वयन गर्नु अहिलेको महत्वपूर्ण आवश्यकता भएको बताएकी छन्। २५६३औं बुद्ध जयन्ती समारोहलाई लुम्बिनीमा सम्बोधन गर्दै उनले गुरूयोजना लुम्बिनी विकासको मेरुदण्ड भएकाले छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिइन्। उनले लुम्बिनी गुरूयोजना छिटो सम्पन्न गर्न सरकारको ध्यानाकर्षणसमेत गराइन्। ‘राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेको लुम्बिनी गुरूयोजनालाई सफल बनाउने दायित्व सरकारको हो। यसलाई छिटन गराउन सरकारको ध्यानाकर्षण गराउँछु,’ राष्ट्रपति भण्डारीले भनिन्।

लुम्बिनीको एकीकृत विकासका लागि स्थानीयले देखाएको सद्भाव र सहयोगको प्रशंसा गर्दै उनले यस क्षेत्रको समग्र विकासका र उन्नतिका लागि स्थानीय साधन–स्रोत एवं सीपको अधिकतम प्रयोग गर्न पनि सरोकारवाला सबै पक्षलाई आग्रह पनि गरिन्। लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदहस्थित बुद्धसँग सम्बन्धित स्थल समेटेर पर्यटकीय ‘बुद्ध परिपथ’ निर्माण गर्न सकिने राष्ट्रपति भण्डारीको भनाइ छ। उनले लुम्बिनीलाई देशका अन्य पर्यटकीय क्षेत्रसँग जोड्दै देशको अर्थतन्त्रमा महŒवपूर्ण भूमिका निर्वाह गर्ने पर्यटन क्षेत्रलाई सबल र सक्षम बनाउन वैज्ञानिक ढंगबाट पर्यटनमैत्री पूर्वाधार र प्रविधिमैत्री वातावरण तयार गर्नुपर्ने बताइन्। निर्माणको काम गर्दा दिगो विकासको लक्ष्य प्राप्तिलाई ध्यानमा राख्न आग्रह गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘सांस्कृतिक उद्यानको विकास र जैविक तथा हरियाली प्रवद्र्धनमा ध्यान दिनु जरुरी छ।’ राष्ट्रपति भण्डारीले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम चाँडो सक्न आग्रह पनि गरिन्। लुम्बिनी विश्वविद्यालयलाई विश्वस्तरको शैक्षिक केन्द्रको रूपमा विकास गर्दै शैक्षिक पर्यटन प्रवद्र्धन गर्नुपर्ने उनको सुझाव छ।

लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदहस्थित बुद्धसँग सम्बन्धित स्थल समेटेर पर्यटकीय ‘बुद्ध परिपथ’ निर्माण गर्न सकिने राष्ट्रपति भण्डारीको भनाइ

लुम्बिनी भ्रमण वर्ष २०७६ मनाउने प्रदेश सरकारको घोषणाको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले सफलताको शुभकामना दिइन्। भ्रमण वर्षले प्रदेशमा विकासका सम्भावनाको खोजी गर्नुका साथै यस्ता अभियानमा संघीयता कार्यान्वयनको सन्देश प्रतिबिम्वित हुने पनि बताइन। उनले संयुक्त राष्ट्रसंघले बुद्धसँग सम्बन्धित मुख्य–मुख्य घटना समेटेर मे १५ लाई ‘वैशाख डे’का रूपमा मनाउने गरेको सन्दर्भ उल्लेख गर्दै नेपालमा पनि वैशाख डे मनाउन सरकारले गरेको पहल प्रशंसनीय रहेको बताइन्।

त्यसअघि सोही समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपि शर्मा ओलीले बुद्ध जयन्तीकै सन्दर्भमा संयुक्त राष्ट्रसंघले घोषणा गरी विश्वभर मनाइने ‘वैशाख डे’ नेपालमा पनि मनाउने घोषणा गरेका थिए। प्रधानमन्त्री ओलीले लुम्बिनीको विकासका लागि ४९ वर्षअघि संयुक्त राष्ट्रसंघको पहलमा गठन भएको अन्तर्राष्ट्रिय कमिटी ब्युँताउने पहल भइरहेको पनि जानकारी दिए। बृहत्तर लुम्बिनीका अभियन्ता संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उथान्तको सक्रियतामा सन् १९७० मा संयुक्त राष्ट्रसंघको सहभागितामा लुम्बिनीको विकासका लागि १५ राष्ट्र सदस्य भएको लुम्बिनी विकास लागि अन्तर्राष्ट्रिय समिति गठन गरिएको थियो।

कार्यक्रममा प्रधानमन्त्री ओलीले सो समिति पुनः ब्युँताउने र त्यसलाई सक्रिय बनाई लुम्बिनीको विकासमा अन्तर्राष्ट्रिय जगतको सहयोग जुटाउने बताएका हुन्। आफू प्रधानमन्त्री बनेपछि लुम्बिनीको विकासले गति लिएको दाबी गर्दै प्रम ओलीले कपिलवस्तु र नवलपरासीका बुद्ध स्थलहरूको विकासमा पनि विशेष ध्यान दिने प्रतिबद्धता जनाए। तिलौराकोटले विश्वसामु नयाँ तथ्य उजागर गरेको बताउँदै उनले अत्यन्तै महत्त्वका साथ कपिलवस्तुका बुद्ध स्थलहरूको विकास र प्रवद्र्धनका लागि योजना ल्याइने बताए। उनले लुम्बिनीसँग अन्य बुद्ध स्थलहरू समेटेर पर्यटकीय, सफा, स्वस्थ, हराभरा, पवित्र, पुण्यभूमि, ज्ञानभूमि र ध्यानभूमि बनाउने प्रतिबद्धता पनि जनाएका थिए।

लुम्बिनीलाई लुम्बिनीकै रुपमा विकास गर्नुपर्ने भन्दै प्रम ओलीले लुम्बिनी परिसरमा रहेका सिसौका रुख फलफूलका रुखले विस्थापन गर्ने सरकारी योजना रहेको पनि बताए। प्रम ओलीले शनिबारै लुम्बिनी परिसरमा आँपको बिरुवा रोपेर दुई हजार छ सय ४३ वृक्षरोपण कार्यक्रमको शुभारम्भ गरेका थिए। समारोहमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनीसँग हरेक नेपालीलाई जोड्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनी भ्रमण वर्ष मनाउन लागेको उउलेख गर्दै संघीय र प्रदेश सरकारको सहकार्यमा लुम्बिनीको विकास र प्रवद्र्धन गर्न सकिने विश्वास व्यक्त गरेका थिए। प्रदेशका पर्यटनमन्त्री लीला गिरीले लुम्बिनी भ्रमण वर्षमा २० लाख पर्यटक लुम्बिनी ल्याउने योजना रहेको बताए। लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेयले तीन वर्षभित्र लुम्बिनी गुरुयोजना पूरा हुने जानकारी गराएका थिए।

प्रकाशित: ५ जेष्ठ २०७६ ०१:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App