१६ चैत्र २०८० शुक्रबार
राजनीति

चुनावमा रोजगार दिने बाचा, वर्तमानमा विदेश पठाउन तालिम

काठमाडाैं- २०७४ फागुन ३ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा त्रिलोचन भट्ट नियुक्त भए। प्रवासी राजनीतिबाट माओवादीमा उदाएका भट्टले प्रदेश हाक्ने जिम्मेवारी पाए।  डेढ दशक बढी प्रवासमा बिताएका भट्ट त्यसअघि खासै चर्चामा थिएनन्। विवादमा समेत नमुछिएका भट्टले प्रदेश हाक्ने जिम्मेवारी पाएपछि युवा पंक्तीमा भने आशा पलाएको थियो। 

मुख्यमन्त्री नियुक्त भएको पत्र बुझ्दै उनले युवाहरूको आशालाई बल पुर्याउने कुरा गरे। लामो समय भारतमा चौकीदारको काम गरेका भट्टले अबदेखि चौकीदारी गर्न त्यहाँ जान नपर्ने प्रदेश बनाउने अठोट गरे। चौकीदारी गर्नु परेको आफ्नो बाध्यता अबका युवालाई आइनलागोस भन्ने मुख्यमन्त्री भट्टको भनाई थियो।

प्रदेशमै रोजगारी सिर्जना गर्ने आफ्नो पहिलो उद्देश्य रहेको बताउँदै आफ्नो देशका युवाले विदेशमा गएर त्यो पीडा भोग्न नपरोस् भन्ने सोचका साथ राजनीतिमा हामफालेको भन्ने उनको भनाइले त्यतिबेला खुब चर्चा पायो। कमजोर आर्थिक अवस्थाका कारण कक्षा ८ मै पढाइ छोडेर झण्डै २ दशक भारतमा बिताएका भट्टको यो कुराको चौतर्फी प्रशंसा भयो।

उनले यो कुरा मुख्यमन्त्री नियुक्त भएपछि मात्रै होइन त्यसपछिका आफ्ना पटक पटकका भाषणमा समेत उल्लेख गरे। मुख्यमन्त्री नियुक्त भएको एक वर्षपछि २०७६ वैशाख १२ गते धनगढीमा आयोजित कार्यक्रममा पनि उनले सोही कुरा दोहोर्याए। सुदूरपश्चिमेली नेपाली समाजको प्रथम महाधिवेशनको धनगढीमा उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले अब स्वदेशमै रोजगारीका अवसर सिर्जना हुने दाबी गरे। स्वदेशमै विभिन्न क्षेत्रमा युवाहरूलाई परिचालन गरेर रोजगारी दिने भन्दै मुख्यमन्त्री भट्टले अब रोजगारीका लागि भारत जानुपर्ने बाध्यताको अन्त्य हुने दाबी दोहोर्याए। ‘अब शिक्षाको अवकाशसँगै रोजगारीका अवसर प्रदेश सरकारले सिर्जना गर्छ, युवालाई प्रदेशकै विकासमा लगाउछौँ। युवाले अब भारत जानु पर्दैन। नेपालमै काम गर्ने वातावरण सिर्जना गर्छु’, उक्त कार्यक्रममा उनले भनेका थिए।

तर त्यसको केही दिनमै उनले वर्षभरीका भाषण र विभिन्न सञ्चार माध्यमका अन्तरवार्तामा भन्ने गरेको रोजगारीका कुराले भने मात खायो। सुदूरपश्चिम सरकारले युवाहरूलाई विदेश पठाउन तालिम दिन लागेको कुरा सार्वजनिक भयो। प्रदेशका नौ जिल्लाका ३ सय २० युवालाई वैदेशिक रोजगारीमा पठाउन प्रदेश सरकारले जापानी, कोरियन र अंग्रेजी भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्ने निर्णय ग-यो।

सामाजिक विकास मन्त्रालयले तीनमहिने भाषा कक्षा सञ्चालनका ३५ लाख २६ हजार रुपैयाँमा धनगढीस्थित स्टार प्रालिसँग सम्झौता समेत गरिसकेको छ। प्रदेश सरकारको रातो किताबमा समावेश उक्त कार्यक्रम कार्यान्वयन गर्न लागिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता शंकर बहादुर बिष्टले बताए।

सरकारको भाषा कक्षा सञ्चालन गर्ने निर्णयको बचाउ गर्दै प्रवक्ता विष्टले भाषा कक्षालाई पर्यटनसँग पनि जोडेर हेर्न सकिने बताए। यसलाई विदेशै पठाउन भाषा कक्षा सञ्चालन गरेको भनेर मात्रै हेर्नु भन्दा पनि यही पनि रोजगार बन्न सघाउने उनको भनाई छ। ‘हामी पर्यटन वर्ष २०२० मनाउने तयारीमा छौं। होमस्टेको कुरा गर्छौं। भाषा सिकेको मान्छेले स्वदेशमै पनि रोजगारी पाउन सक्छ’, उनले भने। यसलाई गलत रुपमा प्रचार गर्न खोजिएको पनि उनले आरोप लगाए। 

प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेटमा समावेश गरिएका स्वरोजगार बन्न टेवा पुर्याउने कार्यक्रम भने वर्षका अन्तिममा पनि कार्यान्वयनमा जान सकेका छैनन्। प्रदेश सरकारको यस्तो निर्णयले केन्द्र सरकारको बेरोजगार युवालाई देशमै रोजगारी दिने कार्यक्रमको पनि खिल्ली उडाएको छ। युवालाई स्वदेशमै रोजगारीको सिर्जना गर्नुको साटो विदेश जान कक्षा सञ्चालन गर्न लागेपछि युवाहरुले भने त्यसको विरोध गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश उपाध्यक्ष हरिशंकर ठाकुरले प्रदेश सरकारले युवाहरूलाई कमैया बनाउन खोजेको टिप्पणी गरे। ‘अरु देशमा साना साना भए पनि आफ्नै क्षेत्रमा उद्योग स्थापना गरे युवाहरूलाई स्वरोजगार बनाइन्छ। उनले भने, ‘हाम्रो सरकारले युवाहरूलाई विदेश पठाउने योजना ल्याउँछ। विदेश जान कक्षा सञ्चालन गर्छ यो भन्दा लाजमर्दाे अरु के हुन सक्छ।’ सीप सिकाएर युवालाई स्वदेशमै स्वरोजगार बनाउनुपर्नेमा उनले जोड दिए। ‘रेमिट्यान्सले चलेको देशमा युवाले विदेशबाट पठाएको पैसा प्यारो लाग्छ। तर उनीहरुको घरपरिवार बिग्रेको सरकारले देख्दैन’, उनले प्रश्न गर्दै भने, ‘के युवाहरूलाई कमैया बनाउन खाजेको हो?’ 

पत्रकार उमिद बागचन्द भने प्रदेश सरकारको यो निर्णयलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँछन्। विकट क्षेत्रका आर्थिक अवस्था कमजोर भएर पनि विदेश जान चाहने युवाका लागि यो योजना ल्याइएको बताउँदै यसलाई अनावश्यक रुपमा प्रचार गरिएको उनले दाबी गरे। ‘विदेश जान चाहने तर आर्थिक अवस्था कमजोर भएका आदीवासी जनजाती र विकटका युवाहरुका लागि यो योजना ल्याएको हुनसक्छ। यसलाई सकारात्मक रुपमै लिनुपर्छ।’ 

प्रकाशित: ४ जेष्ठ २०७६ १०:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App